खाने हो भक्तपुरे दही ?



(रीता वनमाला⁄भक्तपुर)

विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यको लगनको शुरुआत भएसँगै भक्तपुरका दही व्यवसायीलाई दही बनाउनका लागि भ्याई–नभ्याई हुन्छ। साँस्कृतिक तथा शारीरिकरूपमा अत्यावश्यकरूपमा लिइने दही हिन्दु संस्कारमा झन् महत्त्वपूर्ण रहेको छ। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल भन्नुहुन्छ– ‘हिन्दु संस्कारमा दहीको ठूलो महत्त्व छ। भोज–भतेर, विवाह तथा शुभकार्यमा दहीलाई सगुनको रूपमा लिने गरिन्छ।

उहाँले दही शरीरका लागि समेत अत्यावश्यक भएकाले गर्दा गर्भवती महिलालाई शक्ति प्रदान गर्नका लागि दहीचिउरा खुवाउने र असारमा दहीचिउरा खानेसमेत प्रचलन भएको बताउनुभयो।

साथै स्वागत कार्यमा समेत मूलढोकामा दही राखी सत्कार गर्ने र भोजमा पहिलोपटक दही खानेले छोरा पाउने मान्यता रहेको उहाँ बताउनुहुन्छ। आयुर्वेदिक औषधीको रूपमा समेत दहीलाई लिन सकिने उहाँले बताउनुभयो। यद्यपि अहिलेको जमानामा छोरा र छोरी बराबर मानिने गरेकाले त्यो मान्यतालाई त्यति महत्त्व दिएको पाइँदैन।
दही बनाउनका लागि कुनै रासायनिक वस्तुको प्रयोग नगर्ने भएकाले स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको चिकित्सकको भनाइ रहेको छ। भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका चिकित्सक अमर प्रजापती भन्नुहुन्छ– ‘दहीमा पौष्टिक तत्त्व, क्याल्सियम तथा याट हुन्छ। जुन शरीरका लागि अत्यावश्यक छ। साथै उहाँले दहीमा हुने ब्याक्टेरिया शरीरका लागि फाइदाजनक रहेको र झाडापखालाबाट बच्न उपयुक्त भएको बताउनुभएको छ।

पुर्खाैली पेसाको रूपमा यस कार्यमा भक्तपुरका सैजु तथा प्रधाना∙हरू संलग्न रहेका छन्। च्याम्हासिँह सैजु दही भण्डारका श्यामकुमारी सैजु भन्नुहुन्छ– ‘पहिलेदेखि नै परिवारका सबै सदस्य र अरू दुई जना कर्मचारी राखी दही बनाउने कार्यमा संलग्न रहेका छौं। यसैको आधारमा घरधन्दा चलाउने गर्दछौं। उहाँले दैनिकरूपमा २ सयदेखि ३ सय कताराको संख्यामा दही बिक्री–वितरण भइरहेको बताउनुभयो। दही बनाउनका लागि चिनी, दूध र दही राख्ने भाडाको आवश्यकता पर्ने भक्तपुरको लिवालीस्थित सैजु दही भण्डारका सञ्चालक लक्ष्मी सैजुले बताउनुभयो। उहाँले चाडपर्व, विवाह, व्रतबन्ध तथा विभिन्न शुभकार्यमा दहीको माग बढ्ने गरेको बताउनुभयो। दही बनाउने कार्य सहज भए तापनि गर्मीयाममा दूध फाट्ने, इन्धनको अभाव हुने समस्या रहेको दही व्यवसायीको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्