विदेशमा अर्गानिक चिया निर्यात गरी डलर भित्र्याउने आशाले लाखौं रुपियाँ लगानी गरेर स्थापना भएका पाँचथरका आधा दर्जन चिया बगान बन्द भएका छन्। दक्षिण पाँचथरको रविमा रहेको सेन्चेलेङमा चिया बगान, आङसराङ,र माङजाबुङको सिमानामा रहेको फक्ताङलुङ चिया बगान, मौवामा रहेको त्रिवेणी चिया बगान लिमिटेड सराङडाँडामा रहेको फुङसिङ चिया बगान लिमिटेड सहित आधा दर्जनभन्दा बढी चिया बगान बन्द भएका छन्। करिब ८ सय रोपनीमा पैmलिएको दक्षिण पाँचथरको रविमा रहेको सेन्चेलेङमा चिया बगान बन्द भएको दुई वर्षभन्दा बढी भयो। नेपाल अर्गानिक चिया उद्योगले १० वर्षका लागि ६० लाख रुपियाँमा भाडामा लिएको सो बगान दोस्रोपटक बन्द भएको हो। हामीले १० वर्षका लागि यो बगान भाडामा लिएर फ्याक्ट्री चलाएका थियौं तर अहिले बगान र फ्याक्ट्री दुवै बन्द गर्नु पर्यो। हामीसँग चिया तयार गर्नका लागि बिजुली थिएन। जेनेरेटरबाट तयार भएको चिया खर्चले धान्न गाह्रो भयो फेरि बर्खाको समयमा बाटोका कारण यातायातका साधन नचल्दा तयार भएको पत्ति बजारसम्म पठाउन नसकिएकाले पनि कारखाना बन्द गर्नु परेको सञ्चालक देवेन्द्र रेग्मी बताउनुभयो।

स्थानीयबासीको ८० लाख रुपियाँको लागतमा स्थापना गरिएको सो बगानमा बन्द हुनुमा मुख्य समस्या भनेको नै बाटो र बिजुली भएको व्यवसायी बताउँछन्। जब हरियो पत्ति टिप्ने सिजन हुन्छ त्यस समयमा कच्ची बाटो वर्षातका कारण बन्द हुन्छ। यदि बाटो राम्रो भयो भने त्यहाँ उत्पादन भएको पत्ति अन्य नजिकका फ्याक्ट्रीमा पठाउन सकिन्थ्यो तर बाटैका कारण लाखौं मूल्यको हरियो पत्ति प्रत्येक वर्ष खेर गई रहेको बगानका पूर्वकार्यकारी निर्देशक सन्देश राईको भनाइ छ।
यसैगरी पाँचथरको आङसराङ र माङजाबुङ गाविसमा रहेको फक्ताङलुङ चिया बगान पनि ३ वर्षदेखि बन्द छ। सो बगान माओवादी द्वन्द्वकालमा परेको भन्दै सञ्चालकले शान्ति मन्त्रालय मार्फत भण्डै एक करोड रुपियाँ क्षतिपूर्ति लिई कार्यकारी निर्देशक सन्तकुमार आङदेम्बेले भष्ट्राचार गरेपछि उनी जेलमा परेका थिए। आङदेम्बे जेलमा गएपछि बगान बन्द भएको पूर्वकर्मचारी बेदप्रसाद अधिकारी बताउनु हुन्छ। त्यस्तै सराङडाँडामा रहेको फुङसिङ चिया बगान मौवामा रहेको त्रिवेणी चिया बगान पनि यति खेर बन्द छ। त्यस क्षेत्रका बगानहरू बन्द हुनुको मुख्य कारण भनेको बाटो नै हो बगानमा उत्पादन हुने जति पनि हरियो पत्ति कारखानासम्म पठाउन बाटो हुँदैन मान्छेले बोकेर लैजाने सम्भावना छैन त्यसैले पनि यो क्षेत्रका चिया बगान बन्द भएको स्थानीयको भनाइ छ।

वार्षिक १८ क्वीन्टल हरियो चिया उत्पादन गर्ने सेन्चेलेङमा चिया बगान लिमिटेड दोस्रोपटक बन्द भएपछि लगानी डुब्ने चिन्ता बढेको शेयर सदस्यहरू भन्छन्।
चियाबाट राम्रो कमाइ हुने आशाले लाखौं मूल्य लगानी गरेको किसान विभिन्न कारणले चिया बगान बन्द हुन थालेपछि लगानी डुब्ने चिन्ता किसानमा बढेको छ। यसप्रति राज्यले आवश्यक पहल गर्न जरुरी छ यो सरकारको दायित्व हो। चिया सहकारी संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार जबेगु बताउनुहुन्छ।

LEAVE A REPLY