पुष्पा सीएनएन सुपर हिरो



काठमाडौं, (नेस)
समाजसेवी पुष्पा बस्नेतले प्रसिद्ध अमेरिकी अवार्ड ‘सीएनएन सुपर हिरो को उपाधि जित्न सफल हुनुभएको छ। अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उहाँले सोमबार बिहान ५० हजार अमेरिकी डलरको उपाधि जित्नुभएको हो।
पूर्वसीएनएन हिरोहरूबीच भएको प्रतिस्पर्धामा बस्नेत सर्वोत्कृष्ट चुनिनुभएको हो। बस्नेतसँगै अहिलेको प्रतिस्पर्धामा फिलिपिन्सका एफ्रेन पेना फ्लोरिडा, अमेरिकाका चाङ प्रेग्राके र लिज म्याकक्राट्नी तथा इन्डोनेसियाकी रोबिन लिम मनोनयनमा परेका थिए। अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन ले समाजसेवामा समर्पित व्यक्तिहरूलाई हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ। सो टेलिभिजनले यसपटक पूर्वविजेताहरूबीच प्रतिस्पर्धा गराई सुपर हिरो चुनेको हो।

बस्नेत यसअघि सन् २०१२ मा सीएनएन हिरोबाट सम्मानित हुनुभएको थियो। बस्नेत एक दशकयता बाबुआमासँगै जेल जीवन बिताउन बाध्य बालबालिकाहरूलाई उद्धार गरेर शिक्षा दिलाउने काममा क्रियाशील रहँदै आउनुभएको छ। उहाँले काठमाडौंको सुन्धारास्थित सेन्ट्रल जेलमा बालबालिकाका लागि ‘डे केयर समेत सञ्चालन गर्दै आउनुभएको छ। सन् २०१२ को अवार्ड र त्यस अघिपछि देशविदेशबाट जुटेको आर्थिक सहयोगले काठमाडौंको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र स्थापना गरेर आवासीय सुविधासहितको शैक्षिक थलो तयार गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्