गृहमन्त्री–आईजीपी तनाव



गृहमन्त्रालयमा दुई पक्षबीच भनाभन हुँदा आईजीपीको प्रेसर बढेर उपचारका लागि चिकित्सक बोलाउनुपरेको छ।

दीपक रिजाल, काठमाडौं
न्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीमा बेलाबेलामा हुने विभिन्नखाले षड्यन्त्रले संगठन कमजोर बन्दै गएको छ।

गृहमन्त्री र प्रहरी प्रमुखबीच बेलाबेलामा हुने द्वन्द्वका कारण सो संगठन बितेको एक दशकदेखि कमजोर हुँदै गएको छ। संगठनलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने भए पनि संगठन झन् झन् कमजोर हुँदै गएको हो। राजनीतिक दाउपेचको शिकार हुँदै आएको प्रहरी संगठनलाई जोगाउन एक ढिक्का भएर लाग्नुपर्नेमा उच्च अधिकारी नै संगठनविरुद्ध दलका नेताका दैलो चाहार्ने गर्नाले संगठनका प्रमुखका रूपमा नियुक्त हुनेहरू नै आफ्नो पद जोगाउन दौडधुप गर्नुपर्ने अवस्थामा सो संगठन पुगेको छ।

पछिल्लो पटक गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच सरुवा र बढुवाका लागि भएका चलखेलले प्रहरी अधिकृतको वृत्ति विकास नै रोकिएको छ। गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको सरुवा बढुवामा हस्तक्षेप गरेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तीव्र असहमती जनाएका कारण सरुवा–बढुवा रोकिएको छ। गत बुधबार सरुवा–बढुवाको विषयमा भएको छलफलमा गृहमन्त्री र आईजीपीबीच चर्काचर्की भएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको एक्कासि ब्लड प्रेसर बढेका कारण उहाँलाई चेक गराउन मन्त्रालयमा नै चिकित्सक बोलाउनुपरेको थियो। अहिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीचको तनावका कारण झण्डै ३ हजार ८ सय रिक्त दरबन्दी पूर्ति हुन सकेको छैन। लामो समयदेखि खाली रहेका उच्चतहका पदमा बढुवा हुन नसक्दा काम कारबाहीसमेत प्रभावित बन्न पुगेको उच्च प्रहरी अधिकारी बताउँछन्।
‘नेपाल प्रहरीलाई मन्त्रालयले एउटा सानो युनिट जस्तो बनाएको छ। यदि मन्त्रालयले नै संगठनमा हस्तक्षेप गर्ने हो भने किन ९–९ जना विशिष्ट श्रेणीका प्रहरी अधिकारीलाई नियुक्त गर्नु? त्यसो गर्नु छ भने सहसचिवको नेतृत्वमा एउटा टोली बनाएर प्रहरी संगठन सञ्चालन गरे भइगो नि। –एक उच्च प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले एआईजी, डीआईजी, एसएसपी, डीएसपी, इक्सपेक्टरको सरुवाको तयारी गरेको भए पनि मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको ती प्रहरी अधिकृतले जानकारी दिए। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले सरुवा तथा बढुवाका लागि अहिले गृहकार्य भइरहेको र अब छिट्टै ती सबै प्रक्रिया पूरा हुने दाबी गर्नुभयो।

सरुवामा मन्त्रालय र प्रधान कार्यालयबीच विवाद भए पनि बढुवाका लागि लोकसेवा आयोगले निर्णय गर्नुपर्ने भएकाले आयोगले अहिलेसम्म बैठकसमेत नबोलाउँदा केही प्रहरी अधिकृत बढुवा नभई घर जाने अवस्थामा पुगेका छन्। आगामी पुस १५ गतेबाट ४ जना एसएसपी सेवा अवधिका कारण घर जाँदै छन्। नेपाल प्रहरीमा एक जना डीआईजीको पद खाली भए पनि ४ जना आकांक्षी भएपछि अहिले मन्त्रालय र प्रधान कार्यालयबीच शीत युद्ध चलेको छ।
मन्त्रालयले एसएसपी रमेश भट्टराईको बढुवाका लागि चासो देखाएको छ भने प्रहरी महानिरीक्षक अर्यालले एसएसपी गणेश केसीको बढुवाका लागि फाइल उठाएपछि अहिले त्यो फाइल नै अलपत्र परेको छ।

एसएसपीबाट डीआईजीमा बढुवा हुनका लागि लोकसेवा आयोगको समेत सहमति चाहिने भएकाले मन्त्रालय र प्रधान कार्यालय अहिले अलमलमा परेका छन्।
आयोगले अहिलेसम्म बैठक नबोलाएका कारण उनीहरूको बढुवाको फाइल उठे पनि बढुवाको योजना अलपत्र अवस्थामा रहेको छ। भट्टराई, केसी, लव बिष्ट, केदारमानसिंह भण्डारी, बलराम पौडेल एकैपटक एसएसपीमा बढुवा भएका कारण ५ जना नै डीआईजीका लागि दौडधुप गरे पनि मन्त्रालयले भट्टराईको पक्षमा र प्रहरी महानिरीक्षकले केसीको पक्षमा खुलेर लविङ गरेकाले बढुवा तथा सरुवा नै अलपत्र अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्