महिलाको मृत्युको कारण खुल्न सकेन



मोतीराम तिमल्सिना, काभ्रे
सानो बाङ्थली गाविस ७ घर भएकी लक्ष्मी नेपालीलाई बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाएर कुटपिटका कारण हत्या भएको भन्ने घटनाको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलन गरी खण्डन गरेको छ। उनको मृत्युका कारण अझै खुल्न सकेको छैन।

‘प्रहरीले उक्त घटना थाहा पाउँदा पाउँदै मिलापत्र गराएको भोलिपल्टै लक्ष्मीको मृत्यु भएको भन्ने कुरा निराधार हो, एसपी सहकुलबहादुर थापाले भने– ‘प्रारम्भिक तथ्य, अनुसन्धान र सोही दिनको घटना तथा मंसिर २३ गतेको मिलापत्रको कागजलेसमेत त्यस्तो खुलेको छैन, अनुसन्धान जारी छ। लक्ष्मीले सोही स्थानकी काइँली तामाङलाई मंसिर २० गते अपशब्द प्रयोग गर्दै गालीगलौज गरेपछि शुरू भएको झगडामा काइँली र उनका छोरा हिरा तामाङले कुटपिट गरेका थिए। गाउँमा भएको कुटपिटपछि पनि काइँली तामाङ र निरमाया तामाङले आफूलाई भनेको शब्दप्रति अपमानित महसुस गर्दै मंसिर २१ गते चौवास प्रहरी चौकीमा लिखित नै उजुरी दर्ता गराए। लक्ष्मीले २०७१ सालमा स्थानीय माइली विकलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि क्षतिपूर्तिबापत तिर्नुपर्ने ५ हजारसमेत तिरेकी थिइनन्।

काइँली तामाङलाई अपशब्द बोल्दै गालीगलौज गरेकी लक्ष्मीले छिमेकी छेडुप तामाङको भैंसीलाई समेत २१ गते बिहान काटेकी थिइन्। छेडुपको श्रीमती निरमायाले आफ्नो भैंसी काटेको क्षतिपूर्ति र काइँलीले आफूलाई लगाएको आरोपकाबारेमा कारबाहीका लागि उजुरी दिएको चौबास प्रहरी चौकीका इन्चार्ज असई प्रेमकुमार चौधरीले बताए।
घटना विवरणअनुसार मंसिर २० गते आफ्नी आमालाई अपशब्द बोलेको थाहा पाएपछि हीराले पनि लक्ष्मीलाई कुटपिट गरेका थिए। लक्ष्मीले घरमा भएको झगडाका बारेमा काठमाडौंमा रहेका आफ्ना श्रीमान् मिलन परियारलाई बताएपछि २१ गते नै उनी घरमा पुगे। उनी घरमा नपुग्दै चामल सकिएकाले ल्याउनुपर्ने बताएपछि घरभन्दा एक घण्टा टाढा दुवै जना पसलमा भेट गर्ने सल्लाहअनुसार चामल लिएर बेलुका घरमा आए। २२ गते पनि दुवै जना घरमा नै बसे। लक्ष्मीले रक्सी खाएपछि सम्हाल्न नसक्ने कुरा श्रीमान् मिलनले स्थानीयहरूलाई समेत भन्ने गरेका थिए। २१ र २२ गते नै श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि भयो। मिलनले ससुरालीमासमेत प्रहरी चौकीमा परेको उजुरी र त्यसपछिका बारेमा सल्लाह लिए। २३ गते चौबास प्रहरी चौकीको टोली सानो बाङ्थली गाउँमै मिलापत्रका लागि पुग्यो।

स्थानीय १५ जनाले दुवै पक्षले गल्ती महसुस गर्दै माफी मागेको, लक्ष्मीले सबैका सामु ५० पटक उठबस गरेको, आइन्दा त्यस्तो नगर्ने बताएपछि भैंसी काटेबापतको एक हजार र पहिलाको ५ हजारसमेत दिने गरी मिलापत्र भएको थियो। उक्त दिन पनि लक्ष्मीलाई मलमुत्र खुवाएको विषयमा कसैले पनि कुरा नउठाएको प्रहरी प्रमुख थापाले बताए।

मंसिर २३ गते गाउँमा विवाह भएकाले लक्ष्मी र उनका श्रीमान् मिलन दुवैले रक्सी सेवन गरेका थिए। रक्सी खाएपछि श्रीमती मात्तिने भन्दै मिलन आमाको घरमा सुतेर आफ्नो घरमा नगएको बताएका छन्। तर २४ गते बिहान उठेर आफ्नो घरमा गएका थिए। घरमा भएका सबै भाँडाकुँडा नदेखेपछि भएको भनाभनमा श्रीमान् मिलनले लाठीले कुटेको स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्