चिसोले विद्यालय र विमानस्थल ठप्प



गोकुल घोरसाइने, बारा
बाक्लो हुस्सु र ठण्डी बढेसँगै बारा जिल्लाका सामुदायिक विद्यालयहरू एक साताका लागि बन्द गरिएका छन्।

जिल्ला शिक्षा कार्यालयले प्रतिकूल मौसमका कारण पठनपाठन र कक्षा सञ्चालनमा अवरोध उत्पन्न भएको भन्दै आइतबार सार्वजनिक सूचना गरी सोमबारबाट पुस ३ गतेसम्मका लागि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिएको हो। कार्यालयले जाडोका कारण दिइएको यो बिदा शिक्षक विद्यार्थीले वर्षायाममा पाउने वर्षेबिदाबाट कट्टा हुने जानकारीसमेत गराएको छ। चिसोकै कारण सामुदायिक विद्यालयसँगै दक्षिणी भेगका निजी विद्यालयसमेत बन्द गरिएका छन्।

जिल्लाको उत्तरी भेगको गढिमाई र निजगढ नपाका विद्यालयले भने कार्यालयको निर्देशन विपरीत कक्षा सञ्चालन गर्ने भएका छन्। ‘भर्खर जाडो शुरू भएको छ, निजगढ–५ स्थित सार्वजनिक माविका प्रअ हस्तबहादुर लामाले भने– ‘थप बढ्दै गए मात्र विद्यालय बन्द गरिनेछ। उनले पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले अहिले नै बन्द गरिहाल्नु अनुपयुक्त हुने बताए। जिल्लाको दक्षिणी भेगको तुलनामा उत्तरी क्षेत्रमा चिसो केही कम महसुस गरिएको छ। उत्तरको निजगढ, गढिमाई र कोल्हवी नपा र अमलेखगन्ज गाविसमा शनिबार आकास खुलेको र चर्को घाम लागेको भए पनि आइतबारबाट मात्र चिसो बढेको हो। तर जिल्लाको दक्षिणी भेगमा ४ दिनदेखि चिसो यथावत् छ।

मंसिरको अन्तिम साता अगावै ठण्डी एक्कासि बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र चिसो तुवाँलोका कारण सिमरा विमानस्थलमा आइतबार विमान अवतरण हुन सकेका छैनन्। हुस्सु र तुवाँलोले भिजिबिलिटी न्यून भएपछि नियमित उठान रद्ध गर्नुपरेको विमानस्थल कार्यालयका वरिष्ठ अधिकृत एयर ट्राफिक कन्टोलर हिरोन साहले बताए। ‘कम्तीमा २ हजार ३ सय हुनुपर्नेमा ५ सय मिटर मात्र भिजिबिलिटी छ, साहले भने– ‘यस्तो अवस्थामा विमान उडान सम्भव छैन। सिमरा विमानस्थलनमा बुद्ध एयरले दैनिक ६ उठान भर्दै आएको छ। यसअघि मौसम खराब हँुदै आएपछि गत मंगलबारबाट ४ दिनसम्म उडान बन्द रहेको सिमरामा आइतबार भने आकास खुले र घाम लागेपछि नियमित उडान शम्भ बनेको थियो। कार्यालयले सिमरामा आइतबार न्यूनतम आठ र अधिकतम १३ डिग्री तामक्रम मापन भएको जानकारी दिएको छ।
यसै गरी जिल्लामा पर्ने पूर्वपश्चिम र त्रिभुवन राजपथमा सवारीसाधन र हाट बजारमा समेत सर्वसाधारणका आवागमन र चहलपहल कमी देखिएको छ। हप्ताको दुईपटक लाग्ने निजगढ नपा–८ स्थित हाटबजारमा आइतबार ग्राहक निकै कम देखिएको उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष टेकबहादुर लामाले बताए। ‘अति जरुरी कामबाहेकका मान्छे बाहिर निस्केका छैनन्, अध्यक्ष लामाले भने– ‘बढदो ठण्डीले व्यापार, व्यवसाय र अन्य कारोबारमा पनि प्रभाव पारेको छ।

प्रतिक्रिया दिनुहोस्