समुदायको सक्रियतामा अपांगता विषेश कक्षा सञ्चालन



सिर्जना पन्त, बागलुङ
बागलुङको बुर्तिवाङमा अपांगता विशेष कक्षा सञ्चालन भएपछि शिक्षाको पहुँच बाहिर रहेका अपांगता भएका बालबालिकाले गाउँमै पढ्ने अवसर पाएका छन्। समुदायको सक्रियतामा गत वर्ष मंसिर १८ गते अन्तर्राष्ट्रिय अपांगता दिवसदेखि शुरू भएको कक्षामा अहिले जिल्लाको पश्चिम दुर्गम गाउँका १९ जना अपांगता भएका बालबालिबकाले पढ्दै आएका छन्।

जिल्ला शिक्षा कार्यालय बागलुङले उत्तरगंगा मावि बुर्तिबाङको मातहत रहने गरी विद्यालयकै हातामा कक्षा सञ्चालनको अनुमति दिएको छ। प्लान इन्टरनेसनल नेपाल र उत्तरगंगा माविको २१ लाख ६४ हजार ५ सय ७५ रुपियाँ लागतमा भवन, फर्निचर निर्माण तथा शैक्षिक सामग्री खरिद गरिएको छ। अपांगता विषेश कक्षामा बालबालिकालाई बस्ने, खाने र पठन–पाठन गर्ने व्यवस्था मिलाइएको छ।
शारीरिक अपांगता भएका १२ वर्षीय छोरालाई विशेष कक्षामा राखेकी ग्वालीचौरकी सरिता घिमिरेले अपांगता कक्षा शुरू भएदेखि छोराले अक्षर मात्र नसिकेर उस्को राम्रो रेखदेखसमेत भएको भन्दै खुसी व्यक्त गर्नुभयो।

‘बच्चाको नियमित हेरचाहका लागि एक जनाले छोड्न मिल्थेन, घरमा एक्लै हुँदा त उसलाई हेर्ने कि अरू काम गर्ने झनै समस्या हुन्थ्यो, घिमिरेले भन्नुभयो– ‘अहिले त छोराको राम्रो स्याहार पनि भएको छ घरको काम पनि भएको छ। विषेश कक्षामा १६ वर्षमुनिका अपांगता भएका बालबालिकाले पढ्दै आएका छन्। उनीहरूलाई आनीबानी तथा व्यवहारमा सुधारका साथै अक्षर चिनाउने गरिएको शिक्षिका कल्पना भट्टराईले बताउनुभयो। उहाँले बालबालिकालाई अवसर पाए हामीले पनि गर्न सक्छौं भन्ने आत्मविश्वास बढाउन विषेश कक्षामा प्रेरित गर्ने गरेको बताउनुभयो। ‘शुरूशुरूमा हामी अरू सरह छैनौं, कमजोर छौं भनेर बालबालिकाले हीनताबोध गर्ने गरेको भए पनि विशेष कक्षामा आउन थालेपछि बालबालिकाको मनोबल बढ्न थालेको भट्टराईको भनाइ छ।

समुदायकै सक्रियतामा शुरू गरिएको विशेष कक्षा शिक्षणका लागि अहिले एक शिक्षिका, एक भान्छे र एक जना बालबालिका रेखदेखि गर्ने सहयोगी रहेका छन्। ‘अनुदान नहुँदा सहयोगदाताबाटै रकम जुटाएर खर्च व्यवस्थान गरेका छौं, विशेष कक्षाका पहलकर्ता तथा जिल्ला अपांगता सरोकार संघ बागलुङका अध्यक्ष चूडाबहादुर कुँवरले भन्नुभयो– ‘पैसा नहुँदा उधारोमा हामी आफैं नै जिम्मेवार भएर चामल, दाल तरकारी किनेरै बालबालिकालाई खुवाएका छौं। गत वर्षदेखि जिल्ला शिक्षा कार्यालबाट थोरै भए पनि पनि अनुदान आउन थालेपछि केही राहत भएको उत्तरगंगा माविका प्रधानाध्यापक धनबहादुर कुँवरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्