सुक्ष्म अध्ययनबिना जलविद्युत् आयोजना निर्माण हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
पालको जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना भए पनि लगानीको सही सदुपयोग हुन नसक्दा लगानीकर्ताहरूको भविष्य असुरक्षित बन्दै गएको विज्ञहरूको भनाइ छ। समस्यमा नै लगानीको सही ढंगले व्यवस्थापना गरिएन भने मुलुकमा विकराल अवस्थासमेत आउन सक्ने भन्दै विज्ञले सचेत गराएका छन्।

नेपालको जलविद्युत्सम्बन्धी सुक्ष्म अध्ययन गर्दै आउनुभएका नर्वेजियन युर्निभसिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा जलविद्युत् आयोजनासम्बन्धी अध्ययापन गराउँदै आउनुभएका सहप्राध्यापक डा. कृष्णकान्त पन्थीले सरोकारवालाहरूलाई सचेत गराउनुभएको हो। हाल नेपालमा रहानु भएका डा. पन्थीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘अहिले निजी क्षेत्रबाट जुन किसिमले जलविद्युत्मा लगानी भित्रिएको छ। यो मुलुकका लागि राम्रो हो तर लगानीलाई सही ढंगले परिचालन गरिएन भने त्यसले नकारात्मक असर पार्छ। नेपालमा लगानीलाई व्यवस्थापन गर्ने गरेको मैले देखेको छैन।

नेपाल विश्वको भुगोलमा छुट्टै पहिचान बनाएको मुलुक हो। यहाँ परामर्शदाताको रुपमा भित्रिएका विदेशी विज्ञहरूले यहाँको भुगोलको यथार्थ नबुझी परामर्श दिँदै आइरहेकाले जलविद्युत्को लगानी नै जोखिममा पर्ने अवस्था रहेको उल्लेख गर्दै पन्थीले भन्नुभयो–‘ नेपालमा निर्माणाधीन आयोजनाको अवलोकन गर्ने क्रममा यी कुरा प्रष्ट रूपमा देखिएको छ।

निजी क्षेत्रबाट ठूला आयोजना बनिरहेका छन त्यो अत्यन्त राम्रो कुरा हो तर लगानी गर्ने वित्तीय संस्था र सर्वसाधारणको लगानी भने जोखिमपूर्ण बन्दै गएको छ। वित्तीय संस्थाहरूले बन्दै गरेको आयोजना कस्तो किसिमबाट बन्दै छ भनेर विज्ञ टोली परिचालन नगर्नु तथा सर्वसाधारणले पनि आफूले लगानी गरेको आयोजनाले मलाई प्रतिफल दिइहाल्छ भनरेअरु चासो नराख्नु नै गलत सोच रहेको डा. पन्थीको भनाइ छ।

लगानीकर्ताले आयोजना कसरी बन्दै छ ? निर्माण कम्पनीले कसरी निर्माण गर्दैछन भन्ने विषयमा चासो राख्नुपर्ने हो तर नेपालमा त्यस्तो स्थिति देखिएन आयोजना बनेर मात्रै हँुदैन सही ढंगले बने कि बनेन त्यसतर्फ पनि ध्यान जानु जरुरी रहेको डा. पन्थीले बताउनुभयो। ‘यहाँ निर्माण भइरहेका जलविद्युत् आयोजनाका टनेललगायत अन्य संरचनाको अवस्था सन्तोषजनक देखिँदैन। मैले थुप्रै आयोजनाको अध्ययन गर्ने मौका पाए ती आयोजना जसरी निर्माण भएका छन् यसले नेपाली लगानीकर्ताको भविष्य सुरक्षित रहेको मैले महशुस गर्न सकिन। डा. पन्थीले भन्नुभयो।

नेपालमा आउने विदेशी परामर्शदाताहरूले यहांँको भुगोल नै नबुझेर परामर्श दिनु नै मुख्य समस्याको जड रहेको डा. पन्थीको विश्लेषण छ। नेपालमा आउने विदेशी परामर्शदाताहरू प्रायः समथर भूभागमा काम गरेको अनुभव भएका विज्ञहरू छन् तर उच्च पहाडी क्षेत्रमा कसरी विद्युत् गृह निर्माण गर्नुपर्छ भन्ने अनुभव नभएका व्यक्तिले काम गरिरहेकाले कुन जलविद्युत् आयोजना कति खेर के हुने अवस्था रहेको पन्थीले बताउनुभयो।

२० वर्ष यता नेपालमा विदेशी लगानीमा ठूला भूमिगत आयोजना बनेका छैनन् त्यसकारण पनि विदेशी परामर्शदाताले नेपालको भन्दा पनि बाहिरको अनुभवलाई यहाँ प्रयोग गरिरहेकाले पनि लगानीकर्ताले समयमा नै बुद्धि पुर्याउन सकेनन् भने पछि पछुताउनुपर्ने अवस्था आउने आफ्नो अध्ययनले देखाएको उहाँं बताउनुहुन्छ।

नेपालमा निर्माण हुन लागेको जलविद्युत् परियोजनाको अवस्था अध्ययन गर्न आउनुभएका डा. पन्थी भन्नुहुन्छ–‘लगानी गर्नु र आयोजना निर्माण गर्नु ठुलो कुरा होइन कुन संरचनालाई कहाँं कसरी राख्ने भन्ने कुरा महत्त्वपूर्ण हो।

अर्को प्रसंगमा नेपालमा उत्पादित बिजुली नेपालमै खपत हुने दाबी गर्दै डा. पन्थीले भन्नुभयो–‘नर्वेमा सन् १९५० को दशकमा हजार मेगावाट बिजुली थियो सन् १९८० सम्ममा आइपुग्दा २७ हजार मेगावाट बिजुली निस्कियो त्यो सबै स्वदेशमा नै खपत भयो। जनसंख्याको हिसाबले हेर्दा अहिले पनि नेपालको भन्दा कम जनसंख्या नर्वेमा छ। अहिले काठमाडौंमा विद्युत्को माग ६ सय मेगावाट छ यहांँ नियमित विद्युत् आपूर्ति हुने हो भने अहिले नै हजार मेगावाट खपत हुन्छ। अहिले मानिसले विद्युत्को विकल्पमा अरु प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्