राजधानीमा बंगाली कला



राजधानीको ठमेलस्थित मिथिला यँे आर्ट ग्यालरीमा बंगलादेशी कलाकार नर्गिस परविनका चित्रको प्रदर्शनी शुरु भएको छ। कविता शीर्षकको प्रदर्शनीको अग्रज कलाकार शशिविक्रम शाहले शुभारम्भ गरेका थिए। समारोहमा शाहले जुनसुकै समयमा र जता फर्के पनि नेपालमा तँछाड मछाडको वातावरण रहेको चर्चा गर्दै शाहले भने– ‘अविराम राजनैतिक आन्दोलनहरु विद्यमान रहेको समयमा सिर्जनात्मक गतिविधिका साथ बंगलादेशी कलाकार नर्गिसका कला प्रदर्शनीको आयोजना गरिनु अत्यन्तै सुन्दर कार्य हो। शाहले चित्रकार परविनको ललितकलाप्रतिको आकर्षण र लगावको प्रशंसा गर्दै भूगोल र जनसम्पर्कको दृष्टिकोणले समेत नेपाल र बंगलादेश लामो समयदेखि अत्यन्तै घनिष्ट रहेको जनाए।

बंगलादेशी कलाकार नर्गिस परविनले कला सिर्जनाका सन्दर्भमा आफ्नो अभिव्यक्ति पूर्वीय कला चिन्तनमा आधारित रहेको बताइन्। ‘नेपालमा गरिएको यस प्रदर्शनीले नेपाल र नेपाली कला बुझ्ने अवसर मिलेको छ –उनले भनिन्। उनले नेपाल र बंगलादेशको सम्बन्धलाई कला र कलाकारले सौहार्द रूपमा जोड्न सक्ने चर्चा पनि गरिन्। पूर्वीय कलामा स्नातकोत्तर नर्गिसले प्रदर्शनीमा नारीका विषयमा बनाइएका चित्र राखेकी छन्। पूर्वीय विषयलाई बंगलादेशी कलाकार नर्गिसले कलात्मकरूपमा चित्रण गर्न सकेको चर्चा गर्दै कलाकार तथा समीक्षक रमेश खनालले नर्गिसका कलामा पर्याप्त सम्भावनाहरु छचल्किरहेको र पूर्वीय कलाको समकालीन प्रस्तुतीकरण रहेको बताए।

नर्गिस परविनका कृतिहरुमा नारी, प्रकृति र अबोध बालकको विषय गम्भीररूपमा आएको चर्चा गर्दै कलाकार तथा समालोचक नगेन्द्रप्रसाद पौड्यालले नेपालमा उनका कलाले बंगलादेशको समकालीन चिन्तनको अवस्था र त्यसलाई नजिकबाट नियाल्ने अवसर प्रदर्शनीले दिएको बताए। त्यसै गरी प्रदर्शनीको संयोजनसमेत गरेका पौड्यालले नेपालमा विदेशी कलाकारका कला प्रदर्शनी हुनु सुखद रहेको चर्चा गरे। नर्गिस बंगलादेशको राजशाहीदेखि प्रदर्शनीका लागि काठमाडौं आएकी हुन्।
नेपालमा बंगलादेशी कलाकार नर्गिसको एकल कला प्रदर्शनी हुनु दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने ग्यालरी सञ्चालक तथा कलाकार श्यामसुन्दर यादवले बताए।

प्रतिक्रिया दिनुहोस्