हुवास क्याम्पसलाई फेसबुकले जुटायो लाखौं रकम



अमेरिकामा कार्यरत श्रेष्ठको मात्रै २० लाख सहयोग
दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको दक्षिणी क्षेत्र यति बेला शैक्षिक जागरणको अभियानमा जुटेको छ। पछिल्लो समय पर्वतका विभिन्न ठाउँमा स्नातक तह तथा स्नातकोत्तर तह सञ्चालन गर्ने उद्देश्यले कतै शैक्षिक धार्मिक महायज्ञ सञ्चालन भएका छन् त कतै सञ्चालनको तयारीमा छन्।

स्नातक तह तथा स्नातकोत्तर तह सञ्चालन गर्ने उद्देश्यले महायज्ञ भइरहेका बेला पर्वतको हुवासस्थित हुवास बहुमुखी क्याम्पसलाई भवन निर्माणका लागि प्रवासी नेपालीहरूको लाखौं आर्थिक सहयोग मिलेको छ। हुवास घर भई हाल अमेरिकामा कार्यरत राजेन्द्रप्रसाद श्रेष्ठले २० लाख ६५ हजार र उहाँले फेसबुकबाट चलाएको क्याम्पस भवन निर्माण अभियानमार्फत १४ लाख गरी ३४ लाख ६५ हजार बराबरको आर्थिक सहयोग क्याम्पसलाई मिलेको हो। फेसबुक अभियानमार्फत वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न ठाउँमा रहेका पर्वत पैंयुका प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका हुन्।

रोटरी क्लबमा आबद्ध श्रेष्ठले हालै मात्रै औपचारिक रूपमा आर्थिक सहयोग गरेपछि भवन अभावमा जनसेवा संस्कृत माविको भवनमा सञ्चालन गरिएको क्याम्पस अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ। क्याम्पसका लागि भवनको अभाव हुँदा जनसेवा संस्कृत माविको भवनमा बिहानमा स्नातकतह र दिउँसोमा मावि तहको पठनपाठन गराइएको थीयो। भवनको अभाव हुँदा क्याम्पसको पठनपाठनमा असहज परिस्थिति सिर्जना भएको थियो। अब उक्त क्याम्पसमा ८ कोठे २ तले आरसीसी भवन निर्माण हुने भएको छ। उक्त भवनको शिलान्याससमेत गरिएको छ। शिलान्यास गर्दै सहयोगी राजेन्द्रप्रसाद श्रेष्ठले भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको खबर आफूले सुनेको र विद्यार्थीको भविष्य नबिग्रोस् भनी तथा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफूले आर्थिक सहयोग गरेको बताउनुभयो।

उहाँले आकर्षक भवनबाट पनि विद्यार्थीको सिकाइ वृद्धि हुने हुँदा क्याम्पसको भवन निर्माणका लागि फेसबुकमा अभियानसमेत चलाएको बताउनुभयो। स्नातक तह अध्ययन गर्न बाहिर गएका पर्वत दक्षिण भेगका विद्यार्थीलाई लक्षित गरी विभिन्न ठाउँका अति विपन्न वर्गका मानिसहरू शिक्षा लिनबाट वञ्चित नहोऊन् भनेर आफूले उक्त ठाउँको क्याम्पसको भवनका लागि सहयोग पुर्याएको समेत बताउनुभयो। उहाँले उक्त क्याम्पसलाई २ वर्षभित्र ४५ लाख रकम सहयोग गर्नु आफू आबद्ध रहेको रोटरी क्लबमा समेत प्रस्ताव गरेको बताउनुभयो। उहाँले कुनै पनि क्याम्पस अब सधैं एउटै मोडेलमा चल्न नसक्ने भन्दै उहाँले समयको मागअनुरूप क्याम्पसमा पनि सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो। उक्त भवन निर्माण गरी स्नातक तह सञ्चालन गरेसँगै त्यहाँका मानिसहरू सगँ भावनात्मक सम्बन्ध रहने समेत उहाँले बताउनुभयो।

अहिले शिशुदेखि १२ हुँदै स्नातक तहसम्म एकै ठाउँमा पठनपाठन हुँदै आएकोमा भवन निर्माणपश्चात डिप्लोमा तहको पढाइ नयाँ भवनमा हुने हुँदा विद्यार्थी शिक्षक र अभिभावकलाई सजिलो हुने क्याम्पस प्रमुख शोभाकान्त रिजालले बताउनुभयो। श्रेष्ठको मात्र उक्त आर्थिक सहयोगले बहुमुखी क्याम्पस सञ्चालन हुन नसक्ने हुँदा अन्य विभिन्न निकायसँग सहयोगको माग गरिने र आवश्यक मात्रामा स्थानीय जनश्रमदानसमेत जुटाई भवन निर्माण गरिने रिजालले बताउनुभयो। भवन निर्माणपश्चात क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि गर्दै प्रशासन यन्त्रमा समेत उल्लेखनीय सुधार गरिने उहाँको भनाइ छ। उक्त क्याम्पसमा अहिले करिब १ सय ५० जना विद्यार्थीले स्नातक तहको अध्ययन गर्दै आएका छन्। सहयोगी श्रेष्ठले उक्त विद्यालयलाई १० लाख ५ सय ५० रुपियाँ बराबरको २८ थान कम्प्युटरसमेत प्रदान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्