अझै बनेन तरुण दलको कार्यसमिति



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा मातृ पार्टीका शीर्ष नेताहरूले भागवण्डा गरी पदाधिकारी मनोनित गरेलगत्तै तरुण दलकी नेतृ लक्ष्मी खतिवडाले सामाजिक सञ्जालमा लेख्नुभयो– ‘अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष कृष्णप्रसाद सिटौला, महासचिव रामचन्द्र पौडेल र कोषाध्यक्ष खुमवहादुर खड्का।

तेस्रो महाधिवेशनले चुनेको नेतृत्वको कार्यकाल सकिएको लामो समयपछि पनि धेरै विवाद र छलफल गरी तय गरिएको चौथो महाधिवेशनमा नेतृत्वका आकांक्षी नेताहरूले चुनावी प्रतिस्पर्धा गर्न नपाएपछि आक्रोश पोख्दै खतिवडाले सामाजिक सञ्जालमा लेखेको पदाधिकारीको नामावलीका पक्षकै नेताहरूमाथि सहमति गरी मातृ पार्टीले महाधिवेशन सम्पन्न भएको घोषणा गरेको थियो।

कात्तिक २७ गतेदेखि पोखरामा शुरू भएको महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने पक्का भएपछि पार्टीका शीर्ष नेताहरूले दुई दिन लम्ब्याएर भए पनि आफू पक्षका नेताहरूलाई पदाधिकारीमा चयन गरेका थिए। महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग रायमाझी र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान् गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्यपछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए।

मातृपार्टीका शीर्ष नेताहरूको भागवण्डामा तरुण दलका सदस्यसमेत नरहेका नेतालाई सर्वसम्मत नेतृत्व सुम्पिएपछि नेतृत्वका दाबी गर्दै चुनाव प्रचारप्रसार समेत गरिरहेका लक्ष्मी खतिवडा, कर्णबहादुर मल्ललगायतका नेताहरू हिस्स पर्दै राजधानी फर्किनुपरेको थियो। पार्टी नेतृत्वले तरुण दलको पदाधिकारीमा सहमति गरे पनि बाँकी सदस्यहरूमा भागवण्डा नमिल्दा महाधिवेशन सम्पन्न भएको तीन साता बितिसक्दा पनि कार्यसमितिका बाँकी सदस्य चयन गर्न सकेको छैन।

कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुण दलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताए पनि अहिले तरुण दलमा चार जना पदाधिकारी मात्र छन्। सामान्यतया महाधिवेशनमा आएका प्रतिनिधिहरूले नेतृत्व चुन्ने अधिकारलाई वञ्चित गरेका नेताहरूको आन्तरिक भागवण्डा नमिलेको कारण कार्यसमितिका बाँकी सदस्यहरूको चयन नभएको बताइन्छ। संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासि जनजाति मधेसबाट चार⁄चार जना, दलित अल्पसंख्यकबाट तीन⁄तीन जना तथा थारू मुस्लिमबाट एक⁄एक जना निर्वाचित हुनुपर्नेछ। संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ।

तरुण दलको महाधिवेशन सम्पन्न गर्न र आवश्यक निर्देशन दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन गरिएको निर्देशन समिति नै नेताहरूको भागवण्डामा कार्यसमिति सदस्य छनोटमा लागेको बताइए पनि तरुण दलको केन्द्रीय कार्यसमितिले कहिले पूर्णता पाउँछ भन्नेबारेमा अझै अन्योल छ।

प्रजातान्त्रिक पार्टीको भ्रातृ संगठनको महाधिवेशन सम्पन्न भएको तीन साता बितिसक्दा पनि कार्यसमितिले पूर्णता पाउन नसक्नु हास्यास्पद भएको भन्ने आलोचना बढ्न थालेसँगै अध्यक्ष बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीका नेताहरूले अब एक साताभित्र कार्यसमितिका बाँकी सदस्यहरूको चयन गर्ने बताएका छन्।

तत्कालीन अवस्थामा विभाजित दुई कांग्रेस एकीकरणपछि १४ वर्षअघि ६ महिनाका लागि गठन गरिएको तरुण दलको तदर्थ कार्यसमितिको लामो समयपछि अधिवेशन त सम्पन्न भयो त्यो पनि निरंकुश तरिकाले भन्दै चुनावी प्रतिस्पर्धा गर्न नपाएका तरुण नेताहरूले असन्तुष्टि पोख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्