सडकमा टायर बालेर माग पूरा नहुने



नेपाल समाचारपत्र
हेटौंडा
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई तिहाइ बहुमतले संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ।नयाँ शक्ति पार्टीनिकट प्रेस सोसाइटी मकवानपुरले शनिबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनपछि मात्र सबै समस्याको हल हुन सक्ने बताउनुभयो। डा. भट्टराईले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सच्याउनुपर्ने बताउनुभयो।

संसद् हुँदाहुँदै सडकमा टायर बालेर आफ्ना माग पूरा नहुने बताउँदै उहाँले भन्नुभयो– ‘संसद्मा भएको पार्टीले आफ्ना माग पूरा गराउन सडकमा टायर बाल्ने होइन, आफ्ना कुरा संसद्मा राख्ने हो। हाम्रो पार्टी संसद्मा छैन, तापनि संसद्लाई मान्यता दिनुपर्छ।

उहाँले सरकारले संसद्मा पेस गरेको संविधान संशोधनले सबै क्षेत्रको पहिचान सुनिश्चित नगरेको भन्दै संशोधन प्रस्ताव सच्याएर अहिलेको गतिरोध अन्त्य गर्नुपर्ने बताउनुभयो। कुनै अध्ययन नगरी गरिएको प्रस्तावले जनता भिडाउने काम भएको बताउँदै भट्टराईले गतिरोध अन्त्यका लागि संशोधन प्रस्ताव सच्याउँदै संसद्मार्फत् समस्या समाधान निकाल्नुपर्ने सुझmाव दिनुभयो।

नेपाल बहुजातीय पहिचान भएको मुलुक रहेको बताउँदै उहाँले सबै जातीय पहिचानसहित संघीयता आवश्यक रहेको बताउनुभयो। नेपालमा पछि आएका मानिसले आदिवासी अधिकार दिन्न भन्न खोज्नु नसुहाउने भन्दै मधेसबहुल तथा थारुबहुल क्षेत्रलाई भिन्नाभिन्नै प्रदेश बनाउनुपर्ने बताउनुभयो।

उहाँले सबै पक्षका माग सम्बोधन र राष्ट्रिय हित हुने गरी संशोधन हुनुपर्ने बताउँदै संशोधनका क्रममा समिति र आयोगले दिएका सुझावअनुसार सच्याउन सुझाव दिनुभयो। अहिलेको समस्याको समाधान संसद्बाटै खोज्नुपर्नेमा केही दलले जनता जुधाउने काम गरिरहेको भन्दै उहाँले यसलाई रोक्न नयाँ शक्तिले पहल गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्