ट्रम्पको साउदीस्थित चारवटा कम्पनी बन्द



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेको केही दिनपछि नै साउदी अरेबियासँग सम्बन्धित चारवटालगायत आफ्ना केही व्यापारिक कम्पनी बन्द गरेको डेलावरस्थित कर्पोरेट रजिस्ट्रेसनले जनाएको छ।

अमेरिकी राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका निभाउने क्रममा आफ्नो व्यापार व्यवसायले भाँजो नहालोस् भन्नेबारे ट्रम्पले आफूले परिवर्तन लागेका केही कुरा सार्वजनिक हुनु केही दिनअगावै यो खबर शुक्रबार सार्वजनिक भएको हो।

ट्रम्प अर्गनाइजेसनका जनरल कन्सुल एलन गार्टनले ती चारवटा कम्पनी बन्द गरिनु भनेको घरको नियमित सफाइ जस्तै भएको र अब साउदी अरेबियामा ट्रम्पको कुनै व्यापारिक कारोबार नरहेको जनाएका छन्।

चुनाव सम्पन्न भएयता ट्रम्पले विघटन वा रद्द गर्न आदेश दिएका नौवटा कम्पनीमध्ये ती चारवटा पनि हुन्। अन्तर्राष्ट्रिय चर्चित व्यापारी ट्रम्पको थुप्रै व्यापारिक कम्पनीमध्ये यी केही कम्पनीमात्र बन्द गरिएका हुन्। उनले राष्ट्रिपतिको उत्तरदायित्व निभाउँदै कसरी अन्तर्राष्ट्रिय व्यापारलाई एकै साथ अघि बढाउलान् भन्ने आम चासोको विषय रहँदै आएको छ।

उनको अहिले पनि पाँच सयवटा भन्दा बढी ठूलाठूला कम्पनीमा लगानी रहेको छ। उनले आगामी साता राष्ट्रपति भइसकेपछि अब आफूलाई कसरी आफ्नो व्यवसायबाट टाढा राख्ने भन्ने योजना घोषणा गर्ने बताएका छन्। मध्यपूर्वी मामिलालाई लिएर साउदी अरेबिया लामो समयदेखि अमेरिका निकटको राष्ट्रको रूपमा चिनिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्