साइबर आक्रमणको समीक्षा गर्न ओबामाको आदेश



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावका क्रममा साइबर आक्रमण भएको दाबीका विषयमा समीक्षाका लागि आदेश दिएका छन्।चुनावका क्रममा साइबर हमलाको मामिला जोडले उठेको थियो र त्यसको पछाडि रुसको नाम पनि आएको थियो। उक्त आक्रमणमा सिकार भएकी डेमोक्रइटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको इमेलहरू सार्वजनिक गरिएको थियो।

गत अक्टोबर महिनामा अमेरिकी अधिकारीहरूले उक्त घटनाको पछाडि रुसको हात भएको संकेत दिएका थिए र रुसले अमेरिकाको चुनावमा हस्तक्षेप गरिरहेको आरोप पनि लगाएका थिए।रिपब्लिकन पार्टीका उम्मेदवार तथा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आरोपलाई ठाडै अस्वीकार गरेका थिए भने उनले चुनाव प्रसारकै क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि ठूलो प्रशंसा गरेका थिए।यसै हप्ता ट्रम्पले टाइम पत्रिकासँगको कुराकानीमा भनेका थिए– ‘रुसले हस्तक्षेप गरेको छ भन्ने मलाई लाग्दैन। म यी कुरामा विश्वास गर्दिनँ।

रुसका अधिकारीहरूले पनि ती आरोपलाई अस्वीकार गर्दै आइरहेका छन्।
यद्यपि चुनाव प्रचारका क्रममा एकपटक ट्रम्पले रुसलाई हिलारी क्लिन्टनको मेल खोज्नुपर्ने समेत भनेका थिए। तर पछि उनले उक्त भनाइ पेल्ने हिसाबले मात्र भनेको सफाइ दिएका थिए।

डेमोक्रइटिक पार्टीले रुसको तर्फबाट इमेल ह्याकिङ हुनुभनेको हिलारीको अभियानलाई क्षति पुर्याउने षड्यन्त्र भएको बताएको थियो। ह्वाइट हाउसका प्रवक्ता एरिक सुल्टजले भने– ‘राष्ट्रपतिले यो मुद्दालाई गम्भीरतापूर्वक लिएका छन्, त्यसले उनले आफ्नो कार्यकाल पूरा हुनुअगाडि नै यस मामिलामा समीक्षा पूरा होस् भन्ने चाहेका छन्। तर समीक्षाको परिणाम सार्वजनिक गरिन्छ वा गरिँदैन भन्ने विषयमा भन्न प्रस्ट गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्