म्यानचेस्टर युनाइटेड नकआउट चरणमा



लन्डन, (एजेन्सी)
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा जोर्या लुहान्स्कलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको हो। गोलका लागि म्यानचेस्टर युनाइटेडले धेरै संघर्ष गर्नुपरेको थियो। वायने रुनी र पाउल पोग्बाले राम्रा मुभमेन्ट बनाए पनि बलले गोलपोस्टको दिशा लिन सकेका थिएनन्। पहिलो हाफमा ७६ प्रतिशत बल पोजिसन कायम बनाए पनि पोग्बा र रुनीले पाएका धेरै अवसरलाई गोल गर्नबाट चुकाएका थिए। खेलमा भएको दुबै गोल दोस्रो हाफमा मात्र सम्भव भएको थियो।

युनाइटेडलाई जित दिलाउन खेलको ४८औं मिनेटमा हेनरिक खितर्यानले युनाइटेडका गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। तर यो सिजनमा म्यानचेस्टर युनाइटेडका लागि तीन खेल खेलेका खितर्यानले दोस्रो हाफको शुरूआतमै उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेका हुन्। यस्तै खेलको ८८औं मिनेटमा जाल्टान इब्राहिमोभिचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए।

अर्काे इंग्लिस क्लब साउ्याम्प्टनको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भयो। हापोल वि शेवा र साउथ्यामटनबीचको खेल १–१ को बराबरीमा सकिएपछि साउथ्यामटनको नक आउट चरण प्रवेश गर्ने लक्ष्य समाप्त भएको हो। समूह के मा रहेका यी दुवै टिमको समान ८ अंक भए पनि गोल अन्तरका आधारमा हापोल अन्तिम ३२ अर्थात नक आउट चरणमा प्रवेश गर्न सफल भएको छ।

प्रतियोगिताअन्तर्गत बिहीबारै भएको अन्य खेलहरूमा शाख्तार दोनेत्स्कले स्पोर्टिंग ब्रग्गालाई ४–२ ले तथा सेन्ट एटिन्नेले एन्डरलेच्टलाई ३–२ ले पराजित गरेको छ। यस्तै सालोनिकाले स्लोभानलाई, ओस्मान लिस्पोरले एफसी ज्युरिचलाई, एपोइल निकोसियाले ओलम्पियाकोसलाई समान २–० ले हराउँदा फियोरेन्टीनाले क्वारबागलाई, भिया रियलले स्टेचु बुखारेस्टलाई तथा मक्काबी तेल अभिबले डुडालकलाई समान २–१ ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्