अभियान बढ्यो तर हिंसा घटेन

242

(डा. टीकाराम पोखरेल ) विगत केही वर्षयता विश्वभर नै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान सञ्चालन हुँदै आएको छ । नेपालमा यो अभियानका लागि यस वर्षको घरेलु नारा घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैंगिक हिंसारहित समाज भन्ने रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय नारासहित नेपालमा हिंसाविरुद्धको अभियान सञ्चालन भए पनि हिंसाका घटना भने घटेका छैनन् । बरु बर्सेनि वृद्धि हुँदै छन् । फरक यत्ति हो कि हिंसाका स्वरुपहरूचाहिँ परिवर्तन भएका छन् । खासगरी विगतमा ग्रामीण र अशिक्षित समाजमा हुने हिंसाका घटना अब शहर र सभ्य समाजतिर पनि सरेका छन् ।

विगतमा लैंगिक हिंसा भन्नासाथ महिलामाथि पुरुषहरूबाट हुने कुटपिटलाई बुझिन्थ्यो तर पछिल्लो समय लैंगिक हिंसाका नयाँ–नयाँ स्वरुप देखिन थालेका छन् । समाजमा महिला तथा बालिकामाथि बलत्कारका घटना अत्यधिक बढेका छन् । अबोध बालिकाहरू बलात्कार हुने यस्ता घटनामा अधिकांशमा आफन्तहरूकै संलग्नता देखिएको छ । जो रक्षक उही भक्षक भएपछि भक्षकका अगाडि कानुन नै निरीह बनिरहेको छ । महिला र बालिकाहरूमाथि हुने गरेका यस्ता यौनहिंसा रोक्न सबैले आ–आफ्नो तर्फबाट प्रयास गरिरहेका छन् तर पनि अपेक्षाकृतरुपमा महिला हिंसाका घटनामा कमी आउनुको साटो तथ्यांकहरूले झन्–झन् बढेको देखाइरहेको छ ।

पछिल्लो समय गरिबी र अशिक्षित समाजमा भन्दा बढी शिक्षित समाजमा नै महिला हिंसाका घटनाहरू देखिएका छन् । समाजमा प्रतिष्ठित भनेर चिनिने वकिल, पत्रकार, साहित्यकार, मानवअधिकारकर्मी, शिक्षक, राजनीतिज्ञ, व्यापारी र उच्चपदस्थ कर्मचारीहरूबाट नै उनीहरूका घरका महिलाहरू हिंसाको सिकार बनेका घटनाहरू बाहिर आइरहेका छन् । प्रतिष्ठित र शिक्षित भनेर चिनिने समाजका पुरुषहरू नै हिंसाका पीडक देखिएकोले हिंसाको कारक गरिबी र अशिक्षा होइन भन्ने कुराको पुष्टि गरेको छ ।

वास्तवमा हिंसा हुनुको मुख्य कारण गरिबी र अशिक्षा होइन, बरु मानसिकता हो । अर्थात् भौतिक गरिबी होइन, बरु मानसिक गरिबी र दरिद्रताचाहिँ पक्कै हो । मानसिक गरिबी र दरिद्रताबाट दमित चेतनाशून्य दिमाग हो । प्रमाणपत्रले शिक्षित र धनले सम्पन्न हुनु मात्र चेतनाको सूचक होइन, चेतनाको सूचक त कुन काम गर्नु हुन्छ कुन काम गर्नु हुँदैन भन्ने अन्तरात्मादेखिको बुझाइ हो । त्यो बुझाइ प्रमाणपत्रका ठेली र कानुनका धाराहरू कण्ठ गरेर हुँदैन । प्रमाणपत्रले मान्छे पूर्ण हुँदैन, बरु हरेक व्यक्तिमा अन्तरात्मादेखिको सकारात्मक सोचाइ, बुझाइ, हेराइ र गराइ हुनुपर्दछ अनि मात्र त्यसलाई चेतना भन्न सकिन्छ । विवेक नभएको ज्ञानको कुनै पनि अर्थ छैन । महिला हिंसा गर्नेसँग हिंसा गर्नुहुँदैन भन्ने ज्ञान भए पनि हिंसा गर्नुहुँदैन भन्ने विवेक छैन भने उसले हिंसा गरी नै रहन्छ ।

यसकारण समाज जति शिक्षित कहलिँदै छ त्यति नै महिला हिंसाका घटनाहरू बढेको बढेकै छन् । विगतमा महिला हिंसाका घटनाहरू कुटपिट, गालीगलौज, घरबाट निकाला, दाइजोको माग, छोरी मात्र जन्माएको तर छोरा नजन्माएको आरोप, बोक्सी लगाउने जस्ता प्रकृतिका बढी हुन्थे । पछिल्लो समय आधुनिकताको नाममा शहरी जीवनशैलीतर्फ समाज उन्मुख हुँदै गएपछि महिला हिंसाका स्वरुपहरूमा परिवर्तन भएका छन् । आफ्नै श्रीमान्हरूले इच्छा विपरीतका यौनसम्पर्क गर्ने, यौनसम्पर्क गर्दा अत्यधिक पीडा दिने, घरपरिवारको वास्ता नगर्ने, श्रीमती राम्री नभएको भनी हेला गर्ने, चरित्रहीनको आरोप लगाउने जस्ता घटनाहरू पछिल्लो समय देखिएका हिंसाका केही नयाँ स्वरुपहरू हुन् ।

महिला हिंसाका घटना बढ्नुका कारण धेरै छन् । पहिलो कारण हो दोषीलाई कारबाही गर्न नसक्नु । दोषीलाई कारबाही गर्न नसक्नुको मुख्य कारण हो पीडकहरू अधिकांश आफ्नै घरपरिवारभित्रका हुनु । पीडक टाढाको हुँदा उजुरी गर्न जति आत्मबल हुन्छ, आफन्त पीडक हुँदा त्यो आत्मबल हुन्न । आफ्नै घर परिवारको व्यक्ति त्यो पनि आफ्नै श्रीमान्बाट पीडत हुँदा उजुरीमा जाने साहस महिलाले गर्नै सक्तैनन् ।

पीडित आफ्नै परिवारको भएपछि कारबाही गर्न साहस नगर्नुको कारण हो महिलाहरू श्रीमान् र घरपरिवारसँग आश्रित हुनु । श्रीमान्लाई कारबाही गरेपछि भोलि श्रीमान्ले हेला गरेमा आफू नै अलपत्र परिने डरले महिलाहरू मनोवैज्ञानिक रुपमा पहिले नै पराजित भैसकेका हुन्छन् । त्यसो त पराजित हुनुको कारण आश्रित हुनु मात्र होइन, दिन्दू धर्म–संस्कृति र परम्परामा पतिलाई परमेश्वर मान्ने समाजको मान्यता अझै बाँकी छ । पतिलाई कारबाही गरायो भने सामाजिकरुपमा पनि बेइज्जती भइने र समाजले महिलालाई नै नकारात्मक दृष्टिले हेर्ने कारण पनि महिलाहरूमा कारबाहीप्रतिको इच्छा र जाँगर देखिन्न ।

तथ्यांकहरू हेर्ने हो भने, प्रहरीसम्म पुगेका अधिकांश महिला हिंसाका घटनामा प्रहरीले मेलमिलाप गराएको देखिन्छ । पीडकलाई पुरस्कृत र पीडितलाई सजाय दिने प्रकृतिको मेलामिलापको घटनाले महिला हिंसामा झन् बढोत्तरी भैरहेको छ । यसले गर्दा हिंसापीडित महिलाको प्रहरीप्रतिको विश्वास कमी हुँदै गएको देखिन्छ ।
कतिपय घटनामा महिलाले हिम्मत गरी हिंसाविरुद्ध उजुरी गर्दा समाजले उजुरी गर्ने महिलालाई नै चरित्रहीन भनेका उदाहरण पनि छन् । कतिपय महिला नै पीडित महिलालाई चरित्रहीन भएकीले श्रीमान्ले उसमाथि हिंसा गरेको भन्न भ्याउँछन् । न्याय दिने निकायका अधिकारीहरूले पनि पतिले पत्नीलाई २–४ झापड लगाउनु समान्य हो, यस्ता कुरामा विवाद लम्ब्याउनुहुँदैन भन्ने गरेको सुन्नमा आउँछ । घरेलु हिंसा नियन्त्रणसम्बन्धी ऐन २०६६ आए पनि यो कानुन र यसको कार्यान्वयनबीच ठूलो खाडल छ । यदाकदा पीडकलाई सामान्य कारबाही भए पनि पीडितले चाहेजस्तो उपचार पाएका छैनन् ।

हिंसा न्यूनीकरण गर्न नसकिनु, हिंसामा परेका महिलालाई न्याय दिन नसकिनु र पीडकलाई भनेजस्तो कारबाही गर्न नसकिनुको मुख्य कारण पीडक र पीडित आफन्त हुनु नै हो । पीडक आफन्त भएपछि पीडित महिलालाई पनि मिल्न दबाब पर्दछ । जसले गर्दा महिलाहरू मनोवैज्ञानिक रुपमा कमजोर हुन्छन् र मिल्छन् । अन्ततः विजय फेरि पीडककै हुन्छ, महिला हिंसाचाहिँ बढिरहन्छ ।

लैंगिक हिंसाविरुद्धको अभियानचाहिँ हरेक वर्ष चलिरहने तर हिंसाका घटनाचाहिँ बढिरहने हो भने अभियानको सार्थकतामाथि पनि प्रश्नचिह्न खडा हुन्छ । त्यसैले अब हिंसाविरुद्धका अभियानकर्ताले पनि अभियानमा हामी कहाँ चुक्यौँ भनी त्यसको पनि विश्लेषण गर्नु जरुरी छ । महिला हिंसाविरुद्धको अभियानमा महिला हिंसाको वकालत गर्नेहरू मात्र सहभागी नभएर हिंसापीडित र पीडकलाई समेत सहभागी गराउनुपर्छ । होटल र सडकमा भन्दा हिंसारत समाजमा हिंसाविरुद्धको अभियान सञ्चालन र चेतनाको दियो बाल्न सक्नुपर्छ । अनि मात्र हिंसाका घटनामा न्यूनीकरण हुन्छ र हिंसाविरुद्धको अभियानको पनि सार्थकता हुन्छ ।

LEAVE A REPLY