आयुष लमजुङ डान्स च्याम्प



लमजुङ, (नेस)। लमजुङमा भएको लमजुङ डान्स च्याम्पको उपाधि आयुष श्रेष्ठले जितेका छन्। बेंसीशहर नगरपालिका–१ उदिपुरगाउँका आयुष श्रेष्ठले उपाधिसँगै नगद २५ हजार, ट्रफी, आकर्षक गिफ्ट ≈याम्पर, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे।

लमजुङ टेलिभिजनले लमजुङ डान्स च्याम्प २०७३ आयोजना गरेको हो। आयुषले भोटेओडार अडिसनबाट लमजुङ डान्स च्याम्पको यात्रा शुरु गरेका थिए। त्यसै गरी फस्ट रनर्सअपको उपाधि लमजुङको पर्यटकीय गाउँ भुजुङका हिरा गुरुङले जितेका छन्। उनले उपाधिसँगै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै बेंसीशहरका अशोक विकले सेकेन्ड रनर्सअप, बेंसीशहरकै सरस्वती गुरुङ, खुँदीकी पुनम गुरुङ र भोटेओडारको शान्ति तामाङले सान्त्वना स्थान हासिल गरेका छन्। जिल्ला विकास समितिको सभाहलमा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा उत्कृष्ट ६ जनाबीच प्रतिस्पर्धा गरिएको थियो। प्रतियोगितामा कुल २२ जनाले भाग लिएका थिए।

लमजुङ टेलिभिजनले लमजुङ डान्स च्याम्पका लागि लमजुङको तीन ठाउँबाट अडिसन लिएको थियो। फाइनल प्रतियोगितामा उनीहरुले २ गीतमा नृत्य प्रस्तुत गरेका थिए। यसअघि स्कुल गट ट्यालेन्ट सिजन वान सफलतापूर्वक सम्पन्न गरिसकेको लमजुङ टेलिभिजनले स्कुलबाहिर रहेर अवसरको प्रतीक्षामा रहेका प्रतिभाको खोजीका लागि लमजुङ डान्स च्याम्प सञ्चालन गरेको जनाएको छ।

लमजुङको शान खोजी प्रतिभा हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको अतिथि जजका रूपमा चर्चित नृत्य निर्देशक शंकर बीसी र डान्सर पार्वती राईले पनि नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। उनीहरुसँगै पावर अफ डान्स पोखराकी विजेता पवित्रा गुरुङ, डिस्ट्रिक डान्स कम्पिटिसन २०७२ का फाइनलिस्ट आशिष गुरुङ, स्कुल गट ट्यालेन्टका विजेता सविता गुरुङ, फस्ट रनर्सअप स्नेहा अधिकारी, सेकन्ड रनर्सअप रितु भट्टराईले पनि आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङले पनि आफ्नो प्रस्तुति राखी दर्शकहरुलाई नचाउन सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्