सात किलो चरेशसहित दुई पक्राउ



जाजरकोट, (नेस)
जाजरकोटमा अवैधरूपमा किनवेच गर्न लागेका दुई जना ७ किलो चरेश तथा ७९ हजार नगदसहित पक्राउ परेका छन्। नौवस्ता–८ बाँकेकी तुलसा शाही र नौवस्ता–७ बाँकेका हरिबहादुर बमलाई सीमा–९ छेडाबाट प्रहरीले आइतबार पक्राउ गरेको हो।

झोलामा ७ किलो चरेश राखेर छेडाचौरमा बसबाट झरी अवैध लागूऔषध चरेश किनबेचका लागि मोलमोलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोट तथा अस्थायी प्रहरी पोस्ट छेडाचौरको गस्तीमा खटिएको प्रहरीले उक्त लागूऔषध चरेश बरामद गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए।

जाजरकोट प्रहरीको विशेष अप्रेशन नामक अभियानका क्रममा सवारीसाधनहरू तथा पैदल यात्रीलाई चेकजाँच गर्नेक्रममा जाजरकोटदेखि सुर्खेततर्फ जाँदै गरेको बस रोकिरहेको अवस्थामा एकान्त ठाउँमा गएर कुरा गरिरहेका शाही र बमलाई शंका लागी उनीहरूको शरीर तथा झोला खानतलासी गर्दा शाहीले बोकेको हरियो पहेलो जेब्रा झोलाभित्र निलो प्लास्टिकमा पोका पारेर राखेको ७ किलो चरेश तथा बमले प्रयोग गरेको निलो झोलाबाट ७९ हजार नगद बरामद भएको प्रहरी निरीक्षक भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्