मैले भनेर मात्र हुँदैनः प्रचण्ड



काठमाडौं, (नेस)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड⁄ले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आफूले भनेर मात्र परिमार्जन नहुने बताउनुभएको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितिमा प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै परिमार्जन गर्न आग्रह गरेपछि उहाँले सत्तारूढ दल कांग्रेससँगको परामर्शपछि मात्र परिमार्जन गर्ने⁄नगर्ने निर्णय हुने बताउनुभएको हो।

संविधान संशोधन विधेयकप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् र सडक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष यादवले सरकारले ल्याएको प्रस्ताव अपूरो रहेकाले परिमार्जनसहित पूरा गरेर ल्याउन आग्रह गर्नुभएको थियो। नयाँ शक्तिका संयोजक भट्टराईले पनि सबैको समस्या समाधान हुने गरी प्रस्ताव परिमार्जन गर्न सुझाव दिनुभएको थियो।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मोर्चाले प्रस्तावप्रति सहमति राखेकोप्रति आफू असन्तुष्ट रहेको बताउनुभएको थियो। प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो– ‘मैले मात्र भनेर केही हुँदैन, सत्तारूढ दल कांग्रेससँग पनि छलफल गर्नुपर्छ, परिमार्जन गर्न नसकिने नै त होइन। तर समय र परिस्थितिअनुसार सरकारले पुनः विचार गर्छ।

सहअध्यक्ष श्रेष्ठले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संघीय गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागमध्ये १२ भन्दा बढी संविधान संशोधनसँग सम्बन्धित रहेको बताउँदै प्रधानमन्त्रीलाई पुनः परिमार्जन गरेर ल्याउन आग्रह गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्