नियात्रामा घनश्याम राजकर्णिकार

(मोहन दुवाल) सफल उद्योग व्यवसायी भएर पनि साहित्यमा केही न केही लेखिरहन र केही गरिरहन रुचाउने घनश्याम राजकर्णिकार यात्रावृत्तको साहित्यिक क्षितिजमा उल्लेख गर्नुपर्ने एउटा नाम हो । धेरै मान्छेहरू आफ्नो सम्पन्नतामा मख्ख पर्छन्, भौतिक प्रबलतामा आफूलाई सम्भ्रान्त सम्झिरहन्छन् र जीवन–जगत्मा आफ्नो उदयलाई सार्थक र सफल भयो भनी मस्त हुन्छन् । तर थोरै मात्र मान्छेहरू भौतिक सुख–सयललाई एकातिर पन्छाएर बुद्धजस्तै सानो बुद्ध हुन निकै कठिनतम प्रयास गर्छन् । समाजमा केही गरेर वा साहित्यिक चिन्तनहरू लिपिबद्ध गरेर अथवा केही गर्नेलाई केही न केही सहयोग गरेर बाँच्न खोज्नेहरू जो–जस्तै हुन् केही नगर्ने लोभीहरूभन्दा निकै महान् छन् । उनीहरूलाई हामीले रुचाइदिनुपर्छ । राजकर्णिकारको नाम पनि यस्तै केही गर्ने, सोच्ने र लेख्ने कोटीमा अवश्य पर्दछ ।

घनश्याम राजकर्णिकारका निबन्धहरू, यात्रा–वृत्तान्तहरू निकै रोचक र बोधगम्य छन् । सरल ढंगले आफ्ना अनुभूति पोख्न सिपालु उनले आफ्नो यात्रा साहित्यमा विदेशको वर्णन रमाइलो ढंगले पोखेका छन् । यिनका निबन्ध तथा संस्मरणहरूमा जिज्ञासापूर्ण भावसंयोग, भावपूर्ण तार्किकता, रोचक विषयवस्तुको प्रस्तुति र जीवन्तता पाइन्छ । भाषा सरल हुनु, शैलीमा रमणीयता रहनु, अभिव्यक्तिमा गहनता लुक्नु नै उनको लेखनशैलीको विशेषता हो भन्नुपर्दछ । यात्राक्रममा देखे–भोगेका, पाए–बटुलेका अनुभव, छाप तथा भाव–भावनाहरू नै उनका संस्मरणात्मक निबन्धहरू हुन् । यस्तै खालका निबन्ध र संस्मरण लेख्न रुचाउने राजकर्णिकारका हालसम्म प्रकाशित कृतिहरूमा केही चिन्तन केही मन्थन (कथा, एकांकी, यात्रा संस्मरण, प्रेरणा साहित्य, आर्थिक (लेखसङ्ग्रह २०३५), विदेशको यात्रा स्वदेशको सम्झना –नियात्रा २०३७), देश प्रदेशको भ्रमणः केही संस्मरण (यात्रा विवरण २०४५), सम्झनाको लहरमा लहरिँदै जाँदा (संस्मरण २०५२), पवित्र सम्झना आमाको (संस्मरण २०५५) बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म –नियात्रा २०६०), गजराज राजकर्णिकारको वंशावली (अनुसन्धान २०६१), अनुभव र अभिव्यक्तिमा घनश्याम राजकर्णिकार (अन्तर्वार्ता २०६२), बुद्ध ज्योतिका केही रश्मि (निबन्धसङ्ग्रह २०६४), यात्रा अमेरिकाको माया नेपालको –नियात्रा २०६९) छन् । साथै बुद्धसम्बन्धमा विद्वान् लेखकहरूका लेख–रचना सङ्ग्रह गरी उनले बुद्धको सम्झना कल्याणको कामना नामक पुस्तकको २०३९ सालमा सम्पादन पनि गरेका छन् ।

वि.सं. १९९८ माघ ३ गते पिता कृष्णबहादुर राजकर्णिकार र माता प्राणमायाको कोखबाट जन्मेका घनश्यामले अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गर्नुका साथै केही वर्ष पश्चिम जर्मनीमा रही जर्मन भाषा सिकी व्यावहारिक शिक्षामा उच्च शिक्षा पनि प्राप्त गरेका थिए । उद्योग–व्यवसायमा संलग्न भई सेवा पुर्याइसकेपछि उनले युरोपका थुप्रै देशहरूमा र एसियाका जापान, कोरिया, थाइल्यान्ड, हङकङको भ्रमण गरिसकेका छन् ।

वि.सं. २०४२ मा रत्नश्री स्वर्णपदक प्राप्त गरिसकेका राजकर्णिकारले पछिल्लोपल्ट थुप्रै साहित्यिक संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् । महाकवि देवकोटा पुरस्कार र समी साहित्य साधना सम्मानले यिनी २०७१ र २०७३ मा सम्मानित हुनुका साथै रु. १ लाख रकम पुरस्कार पनि प्राप्त गरेका छन् । उनले साहित्यको उद्देश्यसम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गरेका छन्–‘साहित्यको लक्ष्य शाश्वतलाई अंगाली जीवनको रमाइलो तथा अन्धकार दुवै पक्षप्रति सजग भई समाजलाई अन्धकारबाट उज्यालोतिर लग्नु हो । यसैले उसको कार्य कुनै सीमित पक्ष, सीमित वाद तथा सीमित सिद्धान्तमा केन्द्रित भएको देखिँदैन । साहित्य–सिर्जना गर्नु भनेको संकीर्णताको घेराबाट फुत्केर स्वच्छन्द तरिकाले जीवन–जगत्का विभिन्न पक्षमा विचरण गरी आफ्नो केही सन्देश विचारधारा वा दृष्टिकोण प्रस्तुत गर्नु हो ।

उद्योग व्यवसायमा संलग्न भई साहित्य सिर्जना र सेवामा आफूले सक्दो योगदान पुर्याउँदै आएका घनश्याम साहित्यमा नयाँ किसिमको सिर्जना र क्रियाकलाप चाहिन्छ भन्छन् । विशेषगरी निबन्ध, यात्रा–वर्णन, संस्मरण पढ्न र लेख्न रुचाउने घनश्याम राजकर्णिकारका लागि नेपाली निबन्धकारहरूमा कमलमणि दीक्षित, मदनमणि दीक्षित, माधवलाल कर्माचार्य, डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट आदि आफूलाई मनपर्ने बताउँछन् । उनलाई मनपर्ने दिवंगत स्रष्टाहरूमा बालकृष्ण सम, दयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा हुन् । केदारमान व्यथित र दिनेश अधिकारीका कविताहरू मन पराउने घनश्यामले नेपाली रामायण खूब चाख राखेर अध्ययन गरेको कुरो बताउने गर्छन् ।

आफूले प्रत्यक्ष देखेभोगेका कथा अनुभूत गरेका कुराहरूलाई सरल तथा यथार्थपरकरुपमा पाठकसमक्ष प्रस्तुत गर्न साहित्य सिर्जना गर्ने राजकर्णिकार सीधा स्वभावका, थोरै मात्र बोल्न रुचाउने व्यक्तित्वमा पर्छन् । घनश्यामले साहित्यको परिभाषामा आफ्नो विचार यसरी व्यक्त गरेका छन्– ‘जनसाधारणका लागि उनीहरूलाई नै दृष्टिगत गरी लेखिने दुःख–सुखका बोधहरूलाई कलात्मक तरिकाले अभिव्यक्ति दिने माध्यम साहित्य हो ।’ उक्त भनाइले घनश्यामको साहित्यिक चिन्तन ठम्याउन सजिलो पर्छ । देखेका, भोगेका क्रमहरू समेट्दै लग्ने चिन्तनले नै उनलाई साहित्यकार बनायो ।

घनश्यामका यात्रा वृत्तान्तहरूमा पनि शिल्प र कलाको समन्वय विषयवस्तुमा हुँदै गएको पाइन्छ । कुनै पनि लेखकले समाज र देशलाई कल्पनाको संसारमा पाठकलाई नडोर्याएर वास्तविक जीवनसँग साक्षात्कार गराइदिनुपर्छ । यही कटु सत्यलाई उनले आफ्नो यात्रा साहित्यमा समेट्न खोजेका छन् । यी नै उनका आफ्नो मौलिक पहिचान र विशेषता पनि हुन् । यात्रा साहित्यका एउटा सुपरिचित नाम घनश्याम राजकर्णिकारले प्रेम भनेको पवित्र आत्माबाट स्फुरण हुने स्वच्छ भावनाको अभिव्यक्ति हो भनेर प्रेमको परिभाषा गरेका छन् । प्रेमलाई स्वच्छ भावनाको अभिव्यक्ति बनाउन नसकेसम्म मान्छे महान् हुनै सक्दैन ।

मान्छेको आधार भनेको प्रेम हो । प्रेमलाई जीवन्तता प्रदान गरिदिनुपर्छ भन्ने उनको आशयले उनको उदारता र महानता स्फुरण हुन्छ । प्रेमलाई मान्छेले हुर्काउनुपर्छ । प्रेमलाई सदासयतामा झुल्न दिनुपर्छ । प्रेमकै पर्यायवाची रुप हो मान्छे भन्न रुचाउने उनले मान्छेको परिभाषामा यसरी अथ्र्याए– ‘सृष्टिको निकै उच्चतम प्रादुर्भावको रुप हो मान्छे ।’ मान्छेकै खोजीमा मान्छेहरू लाग्छन् । उनी पनि सही मान्छेको खोजीमा तल्लीन छन् । मान्छेलाई सुन्दर, सौन्दर्यपूर्ण, सत्यवादी र मान्छेकै लागि बनाइदिनुपर्छ भन्ने उनी साहित्यिक, सामाजिक, औद्योगिक सबै क्षेत्रमा रचनात्मक योगदान दिने इच्छा व्यक्त गर्छन् । समाज र देशको लागि केही भलाइ नहुने कार्य गर्नुहुन्न भन्ने राजकर्णिकार अहिलेभन्दा बलियो ढंगले समाज, देश र जनताकै लागि पनि केही गर्न सकून्, मान्छेकै भलाइका लागि उनको यात्रा निरन्तर बढिरहोस् ।

LEAVE A REPLY