इन्जिनियरद्वारा पुनर्निर्माण कार्य ठप्प



हिमनाथ देवकोटा, रसुवा

इन्जिनियरले काम ठप्प पारेपछि रसुवामा पुनर्निर्माणको काम प्रभावित भएको छ। काम रोकिएपछि पहिलो किस्ताबापतको ५० हजार बुझेर पुनर्निर्माणमा जुटेका प्रभावित अन्योलमा परेका छन्। गाउँमा सहज र सरल तरिकाले काम गर्ने वातावरण नभएमा सामूहिक राजीनामा दिने इन्जिनियरहरूको तयारी छ।

गाउँमा सुरक्षाको अनुभूति नभएको भन्दै इन्जिनियर काम ठप्प पारेर सदरमुकाम धुन्चेमा बस्न थालेका छन्। उनीहरूले नौ बँुदे माग राख्दै मंगलबारदेखि काम ठप्प पारेर बसेपछि पुनर्निर्माणको काम रोकिएको हो।

गाउँमा गएर काम गर्ने वातावरण नै नभएपछि सदरमुकाममा बस्न बाध्य भएको इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो। ‘गाउँमा कार्यालय छैन्, भौगोलिक विकटताका कारण एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौं लाग्छ, गाउँ नबसेको, घर छुटाएको आरोप लगाएर गाउँमा थर्काउन थालेका छन्’ –पौडेलले भन्नुभयो।
भूकम्प प्रतिरोधी आवास निर्माणका लागि लाभग्राहीलाई मात्र होइन इन्जिनियरलाई पनि उति नै समस्या देखिएको छ। पुनर्निर्माणको अभियान लिएर गाउँ पुगेका इन्जिनियर गाउँमा दक्ष काम गर्ने सिकर्मी डकर्मी नभेटेपछि उनीहरू आफैं अलमलिएका छन्।

जिल्लामा ८ सय ५६ जनाले भूकम्प प्रतिरोधी तालिम लिए पनि माथिल्लो भेगका गाविसमा तालिम प्राप्त सिकर्मी डकर्मी नै भेटिँदैनन्। प्राविधिकलाई आवश्यक तालिम र गाविसमा डकर्मी तालिम पर्याप्त मात्रामा सञ्चालन नभएमा गाउँमा गएर काम गर्न नसक्ने थुमन गाविसमा खटिएका इन्जिनियर श्री रिजालले बताउनुभयो। ‘१७ ओटा मोडलअनुसार जिल्लाको माथिल्लो भागका गाविसमा पुनर्निर्माण हुने देखिँदैन्, १७ ओटा मोडलमा काठको घर पर्दैन, हामीले घरलाई भूकम्प प्रतिरोधी भन्नलाई आधार नबनाउँदा समस्या परेको छ’ –रिजालले बताउनुभयो।

भूकम्पका कारण गाउँमा सुख्खा पहिरो झरेर विस्थापित भएका ३ सयभन्दा बढी घरधुरीलाई स्थानान्तरण गर्नका लागि ठोस निर्णय हुन सकेको छैन भने १ हजार ३ सय ६८ जनाको गुनासोसमेत सम्बोधन हुन नसकेपछि इन्जिनियरलाई काम गर्नका लागि प्रभावितले नै अवरोध गर्ने गरेका छन्।

विस्थापितले गाउँमा गएर आवास निर्माण गर्नका लागि आग्रह गर्ने तर जोखिम रहेको देख्दा देख्दै प्रभावितलाई घर बनाउनका लागि केही गर्न नसकेपछि समस्या आएको डाँडागाउँमा खटिएका इन्जिनियर नारायण आचार्य बताउनुहुन्छ।
रसुवामा पहिलो किस्ता बुझेका ८ हजार लाभग्राहीमध्ये धेरैले घर बनाउनका लागि जग खन्ने काम शुरू गरेका छन्। जिल्लामा पुनर्निर्माणको काम शुरू भएकाले इन्जिनियरलाई गाउँमा गएर काम गर्ने वातावरण मिलाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो।
भूकम्प गएको १९ महिनापछि बल्लतल्ल पहिलो किस्ताबापतको ५० हजार बुझेका भूकम्प प्रभावित इन्जिनियरले काम ठप्प पारेपछि अन्योलमा परेका छन्। यो अन्योल हटाउन ढिलो भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्