सामूहिक रूपमा ५ सय १५ थान नागरिकता बुझाइयो



ललित सिंह, बझाङ
डा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै चार महिनादेखि आन्दोलनमा रहेका काँडा गाविसका बासिन्दाले स्थानीय विकास अधिकारीमार्फत् जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसहित नागरिकता फिर्ता बुझाएका छन्।

काँडा गाविस देशैको सबैभन्दा ठूलो गाविस भएको र भौगोलिक विकटता समेत रहेकाले काँडा गाविस छुट्टै गाउँपालिका हुनुपर्ने माग राख्दै चार महिनादेखि आन्दोलनमा रहेका स्थानीयले नाराबाजी र धर्नाका बीच स्थानीय विकास अधिकारीमार्फत् जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको नेपाली नागरिकता फिता दिएका हुन्।

‘सरकारले हामीलाई केही दिएको छैन, दिएको यही नेपाली नागरिकताको प्रमाणपत्र मात्र हो, देशकै सबैभन्दा ठूलो काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाइदेऊ भनेर आन्दोलन गर्ने थालेको चार महिना भयो’, काँडा गाविसका पूर्वगाविस अध्यक्ष रणबहादुर बोहराले भन्नुभयो– ‘सुनुवाइ नभएपछि सरकारले दिएको नागरिकता सामूहिक रूपमा परित्याग गरी पहिलो चरणमा ५ सय १५ थान नागरिकता स्थानीय विकास अधिकारीमार्फत् प्रशासनलाई बुझाएका छौं।’ उहाँले भन्नुभयो– ‘काँडा गाविसका मान्छेलाई सरकारले जंगली मान्छे गुना बाँदर सम्झेको छ सबै अधिकारबाट वञ्चित गरेको छ, दुई दिनभित्र माग पूरा नगरे सीमा प्रहरीचौकी धुली पनि गाउँबाट हटाउने र गाविसभरिका सबै जनाका नेपाली नागरिकताका प्रमाणपत्र परित्याग गरी प्रशासनलाई बुझाउने छौं, पूरै गाविस नागरिकताविहीन हुनेछ।’

‘हामीलाई छुट्टै गाउँपालिका चाहिएको छ, हाम्रो चालचलन रीतिरिवाज र बोली भाषा पनि कसैसँग मिल्दैन, भौगोलिक बनोट पनि धेरै ठूलो र विकट छ, छिमेकी गाविससँग मिलाउँदा हामी अधिकारविहीन हुने र हामीमाथि उनीहरूले रजाइँ गर्ने भएकाले छुट्टै गाउँपालिकाको माग राखेका हौं’ काँडा–७ धुलीकी डोल्मा तामाङले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीलाई भोटे जाती भनेर सबैले राज्यले पनि हेपेको छ। भोलिदेखि कडा आन्दोलन शुरू गरिन्छ। हामी १० जना ज्यान दिन तयार छौं, काँडा छुट्टै गाउँपालिका हुनैपर्छ।’

गाउँ पूरै खाली गरिँदै छ, विद्यालय पनि अनिश्चित समयका लागि बन्द हुँदै छन्। यो वर्ष माग पूरा नहुन्जेलसम्म गाउँपरिषद्देखि कुनै पनि काम गर्ने दिँदैनौं, सचिवले गाउँ प्रवेश गरे गोठमा बाँधेर राख्ने सामूहिक निर्णय गरेका छौं’ –स्थानीइ उज्जे बोहराले बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजनीतिक दल गाउँपालिका र नगरपालिका विभाजन गरी पठाउने प्राविधिक टोली र सभासद्लाई पनि लिखित मौखिक माग राखे पनि कसैले सुनुवाइ गरिदिएनन्, अब प्रशासन र जिल्ला विकास समितिको कार्यालय अघि पाल टाँगेर बस्ने समेत योजना छ जसरी भए पनि गाउँपालिका हुनैपर्छ।’

काँडा गाविसका बासिन्दाले गरेको आन्दोनल र दबाबमा जिल्ला विकास समितिमा ४ घण्टा पूरै कामकाज ठप्प भएको छ भने जिल्ला प्रशासन कार्यालमा १५ मिनेटसम्म सेवाग्राही सेवा लिनबाट वञ्चित भएका छन्।

आन्दोलनमा रहेका काँडाबासीले जिल्ला विकास समितिको कार्यालयमा शान्ति सुरक्षाका लागि तैनाथ भएका प्रहरीमाथि पानीका बोतल र ढुंगासमेत प्रहार गर्दा प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीको प्रतिकारमा काँडाबासी पनि सामान्य घाइते भएका छन्।

काँडाबासीले जस्तैसुकै माग राखे पनि काँडा गाविसलाई जिल्लाबाट छुट्टै गाउँपालिका दिन नसक्ने स्थानीय विकास अधिकारी प्रमोद सिंखडा बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले जिल्लाबाट पहिलोपटक ८, दोस्रोपटक ९ र तेस्रोपटक ११ र १२ गरेर पठाएको छौं। पछिल्लो निर्णय काँडालाई छुट्टै गाउँपालिका भनी पठाएका छौं। काँडा गाविसका नागरिकता बुझेका छौं, पत्रका साथ जिल्ला प्रशासन कार्यालय बुझाउनेछौं।’

प्रतिक्रिया दिनुहोस्