डा. केसीको समर्थनमा देशभर प्रर्दशन



नेपाल समाचारपत्र
काठमाडौं

अनसनरत डा. गोविन्द केसीको मागका बारेमा भएको तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ। वार्तामा कुनै उपब्धि नभएपछि बार्ता बिनानिष्कर्ष सकिएको हो।वार्तामा सहमतिको नजिकै पुगे पनि टुंगोमा पुग्न नसकेको सरकारी वार्ताटोलीका सदस्य स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले जानकारी गराउनुभयो।

डा.केसीको स्वास्थ्यमा जटिलता थपिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।उहाँको मुटुको चाल, रक्तचाप, अक्सिजनलगायतका थुपै्र समस्याहरू बढेर गएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै १८ दिनदेखि आमरण अनसन बस्नुभएका डा.केसीको जीवनमाथि सरकारले खेलबाड गरेको भन्दै चौथर्फी रूपमा चर्को विरोध शुरु भएको छ। डा.केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.तीर्थ खँनियाँ र डा.चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा.केशबप्रसाद सिंह विगतमा सरकारले गरेका सम्झौता विपरीत राजनीतिक भागवण्डाका आधारमा नियुक्ती भएकाले दुबैको वर्खास्ति हुनुपर्ने मागसहित नौ बुँदे माग लिएर आमरण अनसनमा बस्नुभएको थियो। यता सरकारी चिकित्सक संघ (गोदान) ले समेत प्राडा. केसीको जीवन रक्षा गर्नका लागि अनशन टुंग्याउन २४ घन्टाभित्र सरकारलाई सहमति गर्न अल्टिमेटम दिएको छ।

चौतर्फी रूपबाट दबाब आएपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ष्ठले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘यस संघका आजीवन सदस्य डा. के.सी.को दशौं पटकको आमरण अनशनले १८औं दिन नाघि सकेको र उहाँको जीवनको सवाल नै अत्यन्त गम्भिर मोडमा पुगिसकेको अवस्थामा पनि राज्यलगायतका सम्बद्धपक्षहरूमा आवश्यक संवेदनशीलता नदेखिनु बिडम्बना हो।

देशभरका सम्पूर्ण निजी एवं सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सांकेतिक रूपमा मंसिर १६ गते बिहान १० बजेदेखि ११ बजेसम्म आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरी १ घण्टा सम्बन्धित संस्थाहरूको प्राङ्गणमा उम्भिई नेपाल चिकित्सक संघको डा.केसी बचाउ आभियानमा सरिक हुन आह्वान गरेको छ।

बुधबारै नेपाल मेडिकल एसोसिएसन गण्डकी शाखाको आयोजनामा पोखरामा डा. केसीको समर्थनमा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू कालो पट्टी बाँधी एक्यबद्धता जनाएका थिए। एसोसियसनको घोषित कार्यक्रमअनुसार पोखराका गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा आवासीय चिकित्सकहरूले हातमा कालोपट्टी बाँधी प्लेकार्डसहित अस्पताल अगाडि प्रदर्शनमा उत्रिएका हुन्। संघले बिहीबार डा. केसीको समर्थनमा शान्ति र्यालीको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्