४० सामुदायिक विद्यालयमा विद्यार्थी शून्य



मोतीराम तिमल्सिना, काभ्रे
जिल्लामा रहेका ६ सय ९१ विद्यालयमध्ये १ सय ४ वटा निजी र ५ सय ८७ वटा सामुदायिक विद्यालयमा ४० भन्दा धेरै विद्यालयमा शून्य विद्यार्थी रहेको तथ्यांक सार्वजनिक भएको छ।

५ सय ८७ सामुदायिक विद्यालयमा शून्य विद्यार्थी भए पनि शिक्षकहरूले तलब खाइरहेका छन्। शून्य विद्यार्थी भए पनि विद्यालय एकीकरण गर्न नसकिएको सहायक जिल्ला शिक्षा अधिकारी मित्र काफ्लेले बताए। विद्यार्थी भएका विद्यालयमा पनि प्राथमिक तहमा ४५ जना विद्यार्थी बराबर एक शिक्षक हुनुपर्नेमा दरबन्दी मिलान गर्न नसकिएकाले १५ बराबर एक शिक्षक रहेको उनले बताए। दरबन्दी मिलानको कार्य लामो समयदेखि रोकिएकाले ग्रामीण भेगमा विद्यार्थी भए पनि शिक्षक नभएको, सामुदायिक विद्यालयलाई शिक्षकहरूले नै अविश्वास गरी आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै अभिभावकले गुनासो गरेका छन्। स्थानीय नागरिकको स्रोतमा पहुँचका लागि जिल्लास्तरीय नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ।

जागरण नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र घरेलु कार्यालयले प्रदान गरेको सेवाका बारेमा नागरिकलाई जानकारी गराइएको थियो। कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी मित्र काफ्लेले शिक्षा कार्यालयले नागरिकको सेवाका लागि प्रदान गरेको कार्यका बारेका जानकारी गराएका थिए। काफ्लेले जिल्लामा ४ सय ९६ वटा बाल विकास केन्द्र, विश्वविद्यालय १, २१ वटा क्याम्पस, सामुदायिक अध्ययन केन्द्र ३४, गुम्बा २५, लेखाजोखा केन्द्र १, विशेष खालका बालबालिकाका लागि समाहित शिक्षा केन्द्र १ मार्फत शिक्षालाई सबैको पहुँचमा पुर्याउने कार्य भइरहेको बताए।

चालू वर्षमा शिक्षा कार्यालयले ७२ वटा विद्यालयमा विज्ञान, अंग्रेजी र गणित विषयको प्रयोगशाला निर्माण गर्न १ करोड ८ लाख रुपियाँ प्राप्त भएको र ६० वटा पुस्तकालय निर्माणका लागि ३ करोड ९० लाख रुपियाँ रकम प्राप्त भएको उनले बताए। भूकम्पपछि विद्यालय पुनर्निर्माण हुन नसक्दा विद्यार्थीले खुला आकाशमुनि अध्ययन गर्नुपरेको, शिक्षकहरूको अनुशासन बिगँ्रदै गएको, अनुशासन नहुँदा सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएको भन्दै अभिभावकले सचेत हुन आग्रह गरेका थिए।

स्वास्थ्य कार्यालयका अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख नेत्र न्यौपानेले स्वास्थ्य कार्यालयले प्रदान गरेका आधारभुत सेवाका बारेमा जानकारी गराएका थिए। जिल्ला कृषि कार्यालयका प्रसार अधिकृत कृष्ण धितालले कृषि कार्यालयले वितरण गर्ने अनुदानका औजार तथा बिउका बारेमा जानकारी गराउँदै प्राविधिक सहयोगका लागि दिने सेवाका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्