संविधान संशोधनको विरोधमा रूपन्देही बन्द आह्वान



यमलाल भुसाल, बुटवल
रकारले संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएसँगै प्रदेश नं ४ र ५ मा आन्दोलन चर्किएको छ। बुधबार बिहानदेखि नै रूपन्देहीको बुटवलमा विरोध शुरू भएको हो।

पछिल्लो हप्तादेखि नै बुटवलमा चरणबद्ध आन्दोलन शुरू भएको छ भने गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लामा पनि जिल्ला बन्दसम्मका आन्दोलन भइरहेका छन्। बुधबार रूपन्देही बन्दको घोषणा भएको छ। अखण्ड प्रदेश नं. ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेवि संघ, अनेरास्ववियु, अखिल छैटौंलगायतका विद्यार्थी संगठनहरूले संयुक्त बन्दको आह्वान गरेका हुन्।

मध्यरातमै बुटवलमा टायर बालेर प्रदर्शनसमेत भएको थियो भने बिहानैबाट बुटवल बहुमुखी क्याम्पस अगाडि, मिलनचोक, राजमार्ग चौराहालगायतका स्थानमा प्रदर्शनसहित टायर बालेर विरोध भइरहेको छ। अखण्ड प्रदेश नं. ५ प्रदेश दबाब अभियान लुम्बिनीले बिहान ११ बजेबाट अनिश्चित्कालीन रूपन्देही बन्दको आह्वान गरेको संयोजक विष्णु पोखरेलले बताउनुभयो। ‘संशोधन दर्ता फिर्ता नभएसम्म अनिश्चित्कालीन बन्दको आह्वान गरेका छौं, प्रधानमन्त्रीले माफी माग्दै जनताका नाममा सम्बोधन गर्नुपर्छ’ –उहाँले भन्नुभयो।

यता अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले दिउँसो १२ बजेबाट १ घण्टे चक्काजाम गरेका थिए। बिहानैदेखि सडकमा नाराजुलुस गर्दै सडकमा आन्दोलनरत विद्यार्थीले राष्ट्रघाती विधेयक खारेज गर्न माग गरेका छन्। संविधान संशोधन गरेर ५ नं. प्रदेशलाई विभाजन गर्ने षड्यन्त्रका विरुद्व आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेलले बताउनुभएको छ। उहाँले प्रधानमन्त्री प्रचण्डले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकाले आन्दोलनबाट खारेज गर्न आन्दोलनलाई एकीकृत गर्दै लैजाने बताउनुभयो। संयुक्त आन्दोलन उठान गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

यसैबीच संविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्डले संसद्मा पेस गरेको विधेयक अनेरास्ववियु छैटौंले जलाएको छ। संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै अखिल छटौंले विधेयक जलाएको हो। संविधान संशोधन विधेयकको विरोधमा आयोजित विरोध कार्यक्रममा बोल्दै अखिल छैटौंका केन्द्रीय अध्यक्ष विमल पोखरेलले प्रचण्डले संसद्मा पेस गरेको विधेयक राष्ट्रघाती भएको दाबी गर्नुभएको छ।

त्यस्तै प्रदेश नं. ५ का जनताको ध्यान सरकारका तर्फबाट जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरेको कुराप्रति रूपन्देही व्यापार संघको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ। ५ नं. प्रदेशको जनचाहना र राष्ट्रको आवश्यकता विपरीत तराई र पहाड छुट्याउने गलत मान्यता स्थापित हुने गरी गरिएको संशोधन प्रस्तावका विरुद्ध यहाँका जनताको घोर आपत्ति जनाएको छ। बुधबारै अर्घाखाँची जिल्ला पनि बन्द गरिएको छ। बन्दका कारण बुटवल सुनसान भएको छ। सबै नागरिक सडकमा ओर्लेका छन्।

प्रतिक्रिया दिनुहोस्