अर्थमन्त्री र गभर्नरबीच छलफल



काठमाडौं, (नेस)

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबीच शेयर बजारमा भइरहेको गिरावटका बारेमा छलफल भएको छ। मंगलबार अर्थमन्त्री र गभर्नरबीच भएको भेटमा शेयर बजार लगातार ओरालो लागिरहेकाले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै गभर्नर नेपालले भन्नुभयो–‘अर्थमन्त्रीज्यूले शेयर बजार निरन्तर ओरालो लागेको विषयमा आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सामान्य छलफल भए पनि अहिले नै कुनै निर्णय भने भइसकेको छैन।’ शेयर बजार लगातार ओरालो लागेपछि आत्तिएका लगानीकर्ताहरूले सोमबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर बजार डरलाग्दो गरी तल झर्न थालेपछि तत्काल सुधारका कार्यक्रम ल्याउन माग गरेका थिए।

राष्ट्र बैंक शेयर बजारलाई नियमन गर्ने निकाय नभए पनि नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ। बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा उतारचडाब आउँदा समग्र शेयर बजारलाई नै प्रभावित पार्ने गर्छ। बेला बखतमा राष्ट्र बैंकले गर्ने नीतिगत निर्णयको कारण पनि शेयर बजारमा प्रभाव पर्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच आगामी कदमका विषयमा छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्