जताततै दरबन्दी खाली



दीपक रिजाल, काठमाडौं

लुकको सुरक्षा गर्ने जिम्मा पाएको सुरक्षा निकायमा तोकिएअनुसारको दरबन्दी नहुँदा दैनिक कामसमेत प्रभावित हुन पुगेको छ।

मुलुकको सुरक्षालाई आकलन गरेर सरकारले सुरक्षा निकायको दरबन्दी थप गर्ने गरेको भए पनि दरबन्दीअनुसार पदपूर्ति नहुँदा सीमा सुरक्षादेखि दैनिकरूपमा सुरक्षा निकायले गर्नुपर्ने कामसमेत प्रभावित हुने गरेको सुरक्षा निकायका प्रमुखहरूले बेला बेलामा सरकारलाई जानकारी गराउने गरेका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्वीकृत दरबन्दीभन्दा कम जनशक्ति हुँदा उनीहरूको दैनिक काममा समेत एकै व्यक्तिलाई बढी जिम्मेवारी दिनुपर्ने अवस्था सिर्जना भएको छ।

नेपाली सेनाको स्वीकृत दरबन्दी ९६ हजार ५ सय रहेको भए पनि विभिन्न दर्जाका ७ हजार पद खाली रहेका छन्। अन्य वर्षको तुलनामा यस वर्ष सेनामा बढी दरबन्दी खाली भएको हो। सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले रिक्त दरबन्दी पूर्तिका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो। नेपाली सेनामा झण्डै २ हजार ५ सय अधिकृत र ४ हजार ५ सय अन्य दर्जाको दरबन्दी खाली रहेको छ।

त्यस्तै नेपाल प्रहरीको ७२ हजार ७ सय १९ स्वीकृत दरबन्दी भए पनि ३ हजार ७ सय ८७ दरबन्दी खाली भएको छ। नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षक १, प्रहरी उपरीक्षक १३, प्रहरी नायब उपरीक्षक १३, प्रहरी निरीक्षक १ सय ६, प्रहरी नायब निरीक्षक १ सय ८, प्रहरी सहायक निरीक्षक ६ सय ४७, प्रहरी हवल्दार १ सय १३, प्रहरी जवान १ हजार २ सय ५२ र फलोअर्स ५८ रहेका छन्।

त्यस्तै, नेपाल प्रहरीको प्राविधिकतर्फ डीआईजी ३, एसएसपी १०, एसपी ९, डीएसपी ३६, इन्स्पेन्टर ९८, सई १ सय २६, असई ६३, हवल्दार ५ सय ३७ र जवान ५ सय ८५ दरबन्दी खाली रहेका छन्। पछिल्लो समय सुरक्षा निकायमा कार्यरत रहेका अधिकृतदेखि जवानसम्मले पेन्सन पाकेपछि जागिर छोड्ने गरेका कारण दरबन्दी खाली हुने गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी बताउनुहुन्छ।

अहिले बाहिर राम्रो अवसर पाउने गरेका कारण सुरक्षा निकायमा तोकिएको समयभन्दा पनि पहिला नै जागिर छोड्ने लहर चलेको एक उच्च प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि दरबन्दी खाली हुने रोगले छोडेको छैन। सो संगठनको स्वीकृत दरबन्दी ३६ हजार २ सय ५७ रहेको भए पनि पनि अहिले सो संगठनमा २ हजार २ सय ७८ दरबन्दी खाली रहेको छ। मुलुकको सीमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको सो संगठनको संख्या अन्य सुरक्षा निकायको भन्दा कम रहेको छ।

सो संगठनले सीमासमेत सुरक्षा गर्नुपर्ने भएकाले तोकिएको दरबन्दीभन्दा २ हजार २ सय ८७ दरबन्दी खाली रहँदा सीमा सुरक्षामा समेत असर परेको सो बलका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

नेपाल–भारत खुला सीमाका कारण सीमा सुरक्षाका लागि भारतले ५ किलो मिटरको फरकमा सीमा सुरक्षा बललाई तैनाथ गरेको छ भने सशस्त्र प्रहरी बलले २५ किलो मिटरको फरकमा सीमा सुरक्षा कार्यालय स्थापना गर्नुपरेको ती अधिकारीले जानकारी दिए। तोकिएको दरबन्दी पूर्ति हुने हो भने अहिलेको दूरीलाई कम गर्न सकिने ती अधिकारीले दाबी गरे।

सो संगठनमा जुनियर अधिकृत १ सय ६४, सिनियर प्रहरी अधिकृत १ सय २०, बिल्लादार ८ सय १, सिपाही ९ सय ८७ र फलोअर्स २ सय १५ को दरबन्दी खाली रहेको छ।

रिक्त दरबन्दी पूर्तिका लागि गृह, रक्षा र अर्थ मन्त्रालयबीच हुने लामो कानुनी प्रक्रियाले पनि तोकिएको समयावधिमा नहुने गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्