विवाद सुल्झाउन जनमत संग्रह गर्न गच्छदारको चुनौती



नेपाल समाचारपत्र
विराटनगर

विवादित जिल्लाको समस्या समाधान गर्न जनमत संग्रह गर्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ठूला नेतालाई चुनौती दिएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले ठूला नेताले आफ्नो, दलको र सत्ताको स्वार्थमा जथाभावी गर्दै हिँड्न थालेको भन्दै विवादित झापा, मोरङ, सुनसरी, सिरहा र उदयपुरको जनताले नै कता बस्ने भनेर छान्न पाउनुपर्ने बताए। जनमत संग्रह सबैभन्दा उत्तम विकल्प रहेको भन्दै नेता गच्छदारले भने– ‘म ठूला नेतालाई चुनौती दिन्छु तपाईंहरू जनमत संग्रह गराउन सक्नुहुन्छ ?’

संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै गच्छदारले संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि सहमतिमा हुनुपर्ने बताए। उनले सत्तापक्षले ल्याउन लागेको अहिलेको संशोधन प्रस्तावले मुलुकलाई निकास नदिने बताए। उनले ठूला नेताले स्वार्थको कारण पटक–पटक कुरा फेरिरहेको भन्दै यसले देशलाई भलो नगर्ने बताए। एमालेलाई माइनस गरेर संविधान संशोधन गर्न खोज्नु सही नहुने भन्दै नेता गच्छदारले भने– ‘त्यो उपयुक्त बाटो हैन्, सत्ता सञ्चालन गरे जस्तो गरी संविधान संशोधन गर्न खोज्नु दुर्भाग्य हुन्छ।’
आन्दोलनरत मधेसी मोर्चाका घटकहरूको पनि फरक धारणा आइरहेको भन्दै उनले अहिले भने जसरी संविधान संशोधन गरेर समस्या समाधान हुन नसक्ने जिकिर गरे।

ठूला नेताकै विशेष कृपाको कारण संविधानमा व्यवस्था भएको गरिएको १० पदमा अंगिकृत नागरिक पुग्न नसक्ने व्यवस्थामा परिवर्तन गरी ४ पदमा खुला गर्न लागिएको भन्दै उनले सक्ने भए राष्ट्रपति र प्रधानमन्त्री पदमा समेत अंगिकृत नागरिक पुग्न सक्ने गरी खुला गर्न उनले चुनौती दिए। संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत भएपछि आफ्नो दलको धारणा सार्वजनिक गर्ने भन्दै उनले सत्तापक्षले संशोधनको विषयमा पर्याप्त छलफल गर्न नसकेको बताए। यद्यपि समस्या समाधान गर्न भने संविधान संशोधनको आवश्यकता रहेको उनले बताए।
ठूला नेताहरूकै स्वार्थको कारण समस्या बल्झिरहेकोमा जोड दिँदै उनले समयमै निर्वाचन गराई संविधान कार्यान्वयन गर्न पनि ठूला तीन दलका नेताहरूबीच सहमति आवश्यक रहेको बताए। ठूला दलका नेताहरूबीच विरोधाभाषपूर्ण अवस्था रहेको भन्दै उनले रूपान्तरित प्रतिनिधि सभाको आयु १४ महिना मात्रै बाँकी रहेको अवस्थामा समयमै सबै तहको निर्वाचन गर्न गम्भीर बन्नसमेत प्रमुख दलका नेताहरूलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्