हिलारीलाई माया र ट्रम्पलाई विजय




(दामोदर पौडेल) संयुक्त राज्य अमेरिकामा धेरै राजनीतिक दलहरू भए पनि वास्तविक रुपमा देशको राजनीतिक नेतृत्व लिने चुनावी हैसियतमा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टी मात्रै छन्। रिपब्लिकन पार्टीे विशेषतः अमेरिकाका धनी, परम्परावादी र नयाँ आप्रवासीहरूलाई त्यति नचाहने दलको रुपमा हेरिन्छ। यसले अपेक्षाकृत पुँजीवादलाई बढावा दिन्छ। यसले विश्वमा हैकम राख्न चाहन्छ भन्ने सोचिन्छ। डेमोके्रटिक पार्टी अपेक्षाकृतरुपमा गरिब समर्थक, अप्रवासीप्रति उदार, अपेक्षाकृत उदार अर्थतन्त्रलाई चाहने, विश्वमा सहयोगी सोच राख्ने देखिन्छ। यद्यपि यी दुई दलहरूको व्यवहारमा त्यस्तो ठूलो भिन्नता नै भने छैन। चुनावमा भएको जस्तो कटाक्ष चुनावपछि कायम रहँदैन। दुवै दलका धेरै नीतिहरू मिल्दा छन्। वृद्ध भत्ता, बेरोजगार भत्ता आदि दुवै दलका साझा सामाजिक सुरक्षाका विषय हुन्। स्वास्थ्य बिमा डेमोक्रेटिक पार्टीको चाहनाजस्तो देखिएकोमा भर्खरै राष्ट्रपतिमा छानिएका डोनाल्ड ट्रम्पले पनि त्यसलाई समर्थन गरे। त्यहाँ सरकार फरक हुँदैमा यहाँजस्तो जनतामा अर्को दलको विरुद्धमा भ्रम छर्ने काम हुँदैन। यो उनीहरूको अमूल्य सम्पत्ति हो।

अमेरिकामा ४१औं राष्ट्रपतिको चुनावमा रिपब्लिकन उम्मेदवार जर्ज बुस जुनियर राष्ट्रपति छानिदा उनले अर्का डेमोक्रेटिक प्रत्यासी एल गोरलाई इलोक्टोरल मतमा हराए पनि पपुलर मत एल गोरको बढी आएको थियो। अहिले पनि हिलारी क्लिन्टनको पपुलर मत बढी आएको छ, जनताले माया गरेको पनि देखियो, तर उनी राज्यहरूको मतको आधारमा चुनाव हारिन्। नेपालमा पनि २०५१ सालमा कांग्रेसको सरकार गिरेपछि चुनावमा पपुलर मत कांग्रेसलाई बढी आए पनि सांसदहरू एमालेका धेरै छानिएका थिए। अमेरिकामा पनि राजनीतिमा अदालतको प्रभाव रहेको अनुभव हुने गर्दछ। पपुलर मत पाएको प्रत्यासी नै राष्ट्रपति वन्नुपर्दछ भन्ने विवाद अदालतमा पुगेकोमा रिपब्लिकन राष्ट्रपति सिनियर बुसले नियुक्त गरेका प्रधान न्यायाधीश भएकोमा जुनियर बुसले चुनाव जितेको अदालतले ठहर गरेको थियो।

अमेरिकामा फरक दलको राष्ट्रपति आउँदैमा आन्तरिक राजनीतिमा ठूलो फरक आउँदैन, जनताका सुविधामा सामान्य फरक पर्दछ। त्यहाँ फरक दल आउनु भनेको एउटै दल लामो समयसम्म सरकारमा बसेर विकास हुनसक्ने नोकरशाहीलाई हतोत्साहित गर्नु नै हो र अर्को दल जितेपछि जनतालाई अझ राम्रा पक्षहरूका बारेमा आस्वस्त गर्नु हो भन्न सकिन्छ। अमेरिकाका ४५सौं राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिमा विजयी भएकोमा दल र उनको अनुदारजस्तो देखिने प्रवृत्तिले विश्वको उदार समाज चिन्तित छ। त्यो भन्दा बढी अनुदार समाज चिन्तित छ। भनिन्छ कि विश्वमा आतंक फैलाउनेहरूमाथि उनी सख्त भएकोले आतंककारी समूहलाई उनको विजय निराशाजनक बनेको छ।

अर्को दुःखद वा दिलचस्पी विषय भनेको इरानस्थित अमेरिकी राजदूतावासमा मुस्लिम राष्ट्र इरानमा शाह रेजा पहल्वीको पतनलगत्तै घेराउ भयो र त्यो घेराउ तोड्ने कार्यवाहीमा धेरै हताहती भए। अमेरिकामा टुइन टावर ध्वस्त पार्न मुसल्मान आतंककारीको हात थियो। अमेरिका र युरोप मात्र होइन विश्वभरमा भएका धेरै आक्रमण र मानवीय हताहती एवम् आर्थिक क्षतिमा आतंककारीको हात छ। मुसल्मान भन्नु नै आतंकवाद होइन, किनकि वेद, गीता, बाइबलमा जस्तै कुरानमा पनि मानवीय हितको बारेमा व्यापक उल्लेख छ। तर विश्वव्यापी धर्मको नाममा आतंकको जालो छाउने संगठनहरू मुसल्मानकै नाममा छन्। अमेरिकी जनतामा मुसल्मानहरूको कारण विश्व बढी अशान्त भएको छ भन्ने भावना छाएको रहेछ भन्ने मान्न पर्ने भयो। कहिलेकाहीँ मानिस औपचारिकताको लागि केही भन्दछ तर उसको भित्री पक्ष अर्कै हुन्छ। अमेरिकीहरू मुसल्मानहरूप्रति सशंकित रहेछन् भन्ने यो चुनाव परिणामले देखाएको छ। यद्यपि अमेरिका आप्रवासीहरूकै देश हो। त्यहाँका आदिवासीहरूको संख्या अहिले करिब ५ प्रतिशतमा सीमित छ।

हिलारीको पक्षमा महिला, अमेरिकामा बसाइँ सरेर जानेहरू, मुसल्मान अमेरिकीहरू र काला जातिहरू धेरै थिए भन्ने अनुमान थियो। तर परिणाम उल्टो भयो। ट्रम्पले खुलेरै मुसल्मानको विरोध गरे र हिन्दुको दीपावलीमा उनीहरूको प्रशंसा गरे। त्यसो त हिन्दुहरूको प्रशंसा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि गरेर दीपावली मनाए। स्मरणीय छ, ओबामा मुसल्मान बाबुका छोरा हुन् र पछि क्रिश्चियन भएका हुन्। उदारता, सहिष्णु र मिलनसार सोचले गर्दा नेल्सन मण्डेलासमेतले हिन्दु धर्मलाई मानव धर्म भनेका थिए। ओबामा त हिन्दु धर्मप्रति अत्यन्त सकारात्मक भएको तथ्य बारम्बार आउने गर्दछ। भारतका कैयौं मुसल्मान नेताहरूले हिन्दुहरू आमरुपमा कहिल्यै आतंककारी हुनै सक्दैनन् बरु अरु धर्म मान्नेका गतल क्रियाकलापले गर्दा प्रतिआतंकवादी भने बन्ने बाध्यता हुनसक्छ भन्ने धारण धेरै पहिलादेखि राख्दै आएका छन्।

क्रिश्चियन वा मुसल्मान जो पनि हिन्दुप्रति त्यति बढी नकारात्मक नबन्ने बरु प्रशंसा नै गर्ने तर मुसल्मान र क्रिश्चियनहरूबीच झगडा आमरुपमा हुने कारणलाई हिन्दुहरूले मात्र नभई अन्य धर्म मान्नेहरूले पनि खोतल्नुपर्दछ। हिन्दु धर्ममा कुनै महान् पक्ष छन् भने तिनलाई आत्मसात् गर्न सक्नुपर्दछ। शायद त्यो तथ्यलाई ट्रम्पको भनाइ र विजयले पनि संकेत गर्दछ।

यसै परिप्रेक्ष्यमा शायद ट्रम्प आतंकवादबाट वाक्क भएका मुसल्मान, हिन्दु, क्रिश्चियनहरूसमेतका लागि राजनीतिक सिद्धान्त जे भए पनि शान्तिका लागि साझा उम्मेदरवार पो बने कि ? उनको जुन र जस्तोसुकै आतंकको पनि सख्त भएर प्रतिकार गर्ने संकेतलाई जनताले गोप्य मतदानमा शान्तिको प्रतिक माने। शान्तिले सौहाद्रता र एकतालाई विकसित गर्ने जगको काम गर्दछ भन्ने ट्रम्पको सोच हो भने उनले धैर्यताका साथ यो विचारलाई अगाडि बढाउनेछन्। गरिबी निवारण पनि विश्वशान्तिको माध्यम हो भन्ने पनि ध्यान दिनेछन्।

प्रतिक्रिया दिनुहोस्