सर्किट ब्रेकर लागेर बजार स्थगित



नेपाल समाचारपत्र
काठमाडौं

दशै पछाडिदेखि लगातार घट्दै गएको शेयर बजार साताको दोस्रो दिन सोमबार पनि कारोबार शुरू भएको ४० मिनेट नबित्दै ३ प्रतिशत अर्थात ४४ दशमलब १७ अंकले घटेपछि पहिलो सर्किट ब्रेकर लागेको छ।

१८८१ अंकको उचाई छोएको नेप्से परिसूचक त्यसपछि बजारमा छाएको नकारात्मक समाचारको प्रभाव स्वरूप निरन्तर रूपमा घटिरहेको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी हल्लाको पछाडि नलागी विवेकसम्मत ढंगले लगानी गर्न र एक्सचेन्जले बजार सुधारका विविध कार्यक्रमहरू कार्यान्वयनको चरणको रहेको जनाएपनि बजारले ्यसलाई पत्याएन। ११ बजे खुला भएको बजार ४ मिनेट कारोबार भएर ११ः४० मा ३ प्रतिशतले घटेपछि १५ मिनेटको लागि बन्द भएको थियो। त्यसपछि ११ः५४ मा मात्र बजार खुला रहेको थियो।

सर्किट अगाडिसम्म १४ करोड ३१ लाख रुपियाँ बराबरको कारोबार भइसकेको छ। शेयर लगानीकर्ता, शेयर दलाल एवम् नियामक निकाय धितोपत्र बोर्डका अधिकारीले बजार घट्नुपर्ने ठोस कारण नभएको सार्वजनिक अभिव्यक्ति दिइरहे पनि बजार एकोहोरो घटि नै रहेको छ।

अहिलेसम्म एभरेष्ट बैंकको ४ करोड ९ लाख १९ हजार रुपियाँ, बैंक अफ काठमाडौं लुम्बिनीको १ करोड ४४ लाख रुपियाँ, सिद्धार्थ बैंकको ८६ लाख रुपियाँ, कुमारी बैंकको ५७ लाख रुपियाँ, सोल्टी होटल्सको ५०९ लाख ९६ हजार र शिखर इन्स्योरेन्सको ४२ लाख ३९ हजार रुपियाँको कारोबार भइसकेको छ। अहिलेसम्मको करोबारमा सबैभन्दा बढी गुमाउनेमा स्वावलम्बन विकास बैंक, सोल्टी होटल्स लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, साना किसान विकास बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्