टुकीको धिपधिपेमा उज्यालो खोज्दै सुर्सिङ



नानीराम नेपाल, इचोक, सिन्धुपाल्चोक

भूकम्पमा भत्किएको घर ठड्याउने चटारो छ। अर्कातिर कोदो भित्त्याउन भ्याईनभ्याई छ। नाकै ठोकिएलाझैं हुने ठाडै उकालो, भारी बोक्दै मानिसहरू गाउँ चढिरहेका भेटिन्छन्। माध्यमिक तहको अध्ययनका लागि झोलामा किताबकापी सँगै सागका मुठा बोकेर बेंसी झरिरहेछन् स्कुले केटाकटी। शनिबार नै बेंसी नझरे आइतबार पढाइ छुट्छ उनीहरूको। तामाङ समुदायको बाक्लो बस्ती, विकासका कुनै पूर्वाधारहरू छैनन्, मानिसहरूको चेतनास्तर पनि दयनीय नै छ। इचोक गाउँ विकास समिति–९ स्थित सुर्सिङले वर्षौंदेखि यही नियति झेलिरहेको छ।

आम्दानीको कुनै स्रोत छैन यहाँका स्थानीयसँग। परम्परागत शैलीमा कोदो फलाउनुको अर्को कुनै विकल्प छैन उनीहरूसँग। वर्षौंदेखि उही अनि उस्तै छ उनीहरूको जीवनशैली। उनीहरूको जीवनस्तर माथि उठ्न सकेन, सकेको छैन। सुर्सिङको शिरमाथि हाँसिरहेको छ दोर्जेलाक्पा हिमाल। हाँसिरहेको हिमालमुनि पीडादायी जीवन धानिरहेका छन् सुर्सिङबासी। हाँसिरहेको दोर्जेलाक्पामुनि सुर्सिङका लाक्पादोर्जेहरूका ओठमा हाँसो देखिँदैन। भूकम्पको पीडा एकातिर छँदै छ, पुनर्निर्माणको पिरलो पनि उत्तिकै। न शिक्षामा पहुँच पुगेको छ सुर्सिङको, न त सडककै सुविधा छ। बिरामी पर्दा एक चक्की सिटामल धरिको पहुँच छैन सुर्सिङबासीसँग। विद्युत् त अझै सपना नै छ उनीहरूका लागि। आजभन्दा ८ वर्षअघि जिल्ला विकास समितिले पेल्ट्रिक सेटले सुर्सिङलाई उज्यालो बनाएको थियो। पेल्ट्रिक सेटले केही वर्ष त सुर्सिङ उज्यालियो तर सुर्सिङबासीको जिन्दगी उस्तै रह्यो– अन्धकारमय। जिविसको पेल्ट्रिक सेटले पनि अब काम नै गर्दैनन्। मर्मत अभावले अधिकांश पेल्ट्रिक सेट चल्न छाडेका छन्।

प्लस टु पास एक जना मात्रै
डेढ सय घरधुरी रहेको सुर्सिङमा उच्च माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्ने एक जना मात्र छन्। महांकालेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक महेश शाहका अनुसार सुर्सिङका सुनबहादुर तामाङ एक्ला मान्छे हुन् जसले प्लस टु पास गरेका छन्। अन्य ५ जनाले एसएलसी पास गरेका छन्, उनीहरू काठमाडौंतिर बस्छन्। यीबाहेक ८ कक्षा पास गर्नेको संख्या पनि औंला भाँचेर गन्न सकिने शाह बताउँछन्। ‘प्लस टु पढेको सुनबहादुर मात्रै हो, अरू पाँच जनाले एसएलसी पास गरेका छन्’, शाहले भने– ‘आठ कक्षा पास गरेकाहरू पनि औंलामा गन्न मिल्नेछन्।’

स्थानीयमा बालबच्चालाई पढाउनुपर्छ भन्ने भावनाको विकास भएकै छैन अझै पनि। घरायसी काम र मेलापर्म यहाँका बालबालिकाको प्राथमिकतामा पर्छ। विद्यालय शिक्षा उनीहरूको प्राथमिकतामा पर्दैन। पढ्दा पढ्दै बीचैमा छाडेर यहाँका बालबालिका काठमाडौं जान्छन्। शहरको रमझममा रमाउन थालेपछि उनीहरू गाउँ फर्किंदैनन्। ‘अभिभावकलाई सोध्यो भने काठमाडौंमा पढिरहेछ भन्छन्’, प्रअ शाहले भने– ‘तर बुझ्दै जाँदा काठमाडौंमा कुनै होटलमा भेटिन्छ।’

सिटामलसम्म छैन सुर्सिङमा
गाउँमा कोही बिरामी पर्दा डोकोमा बोकेर स्वास्थ्य चौकीसम्म पुर्याउनुपर्छ। सिटामल अभावमा ज्वरोले थलिएर बस्न विवश छन् स्थानीबासी। इचोक भन्ज्याङडाँडामा स्वास्थ्य केन्द्र छ, स्वास्थ्य केन्द्रसम्म आइपुग्न दुई घण्टा बढी पैदल हिँड्नुपर्छ सुर्सिङबासीका लागि। अझ बिरामी बोकेर ठाडो ओरालो झर्दा तीन घण्टामा पनि स्वास्थ्यकेन्द्रमा आइपुग्दैनन् उनीहरू। ‘कोही बिरामी भयो भने डोकोमा बोकेर भन्ज्याङ झार्नुपर्छ’, सुर्सिङका स्थानीय श्री लामाले भने– ‘तीन घण्टा हिँडेपछि बल्ल स्वास्थ्य चौकी पुगिन्छ।’ गाउँ विकास समितिको कार्यालयबाट कुनै काम लिनुपर्यो भनेपनि सुर्सिङबासीका लागि कठिन छ। गाविस कार्यालय चनौटे बजारमा छ। गाविस कार्यालय पहुँचमा नभएपछि जन्म, मृत्युजस्ता घटना दर्ता नै हुँदैनन् सुर्सिङमा। सिफारिस लिन नै सहज नभएपछि सुर्सिङमा बुढेसकालसम्म पनि कतिले नागरिकता नै लिन नसकेको स्थानीय वीरबहादुर तामाङले सुनाए।

सपनामै सीमित विकास
विकट गाउँ सुर्सिङको विकास अझै पनि सपनामै सीमित छ। वर्षौंदेखि विकासको पर्खाइमा छ सुर्सिङ। गाउँमा युवा जनशक्ति शून्य जस्तै छ। गाउँको विकासमा पहलकदमी लिने कोही छैनन्। १५ वर्ष नपुग्दै यहाँका केटाकेटी कमाउने मेसो खोज्दै गाउँबाट पलायन हुन्छन्। कमाउने मेसो खोज्दै इन्डिया भासिएकाहरू उतै बस्छन्। गाउँमा बूढापाका र केटाकेटी मात्रै। केही वर्षअघि जिल्ला विकास समितिको बजेटमा सुर्सिङसम्म सडक त छिचोलियो तर उचित मर्मतसम्भार र स्तरोन्नति हुन सकेको छैन।

राजधानीलाई लोडसेडिङमुक्त बनाउने चर्चा चलिरहँदा सुर्सिङ भने अझै पनि टुकीको धिपधिपेमा उज्यालो खोजिरहेको छ। स्थानीय अगुवाका अनुसार पहुँचका भरमा स्थानीय तहमा विकासे योजना बाँडफाँडको संस्कारले पनि सुर्सिङ ‘सिन्धुको कर्णाली’ झैं बनिरहेको छ। पहुँचविहीन यो गाउँले विकास योजनाको भाग पाएन वर्षौंदेखि। चुनावका बेलाबाहेक नेताका अनुहार देख्दैनन् उनीहरू। र नेताहरूले पनि सुर्सिङको सकस देख्दैनन् अरू बेला। पटकपटक चुनाव भए, सुर्सिङले पशुपतिशमशेर राणादेखि पछिल्लोपटक शेरबहादुर तामाङसम्मलाई जिताएको छ। तर सुर्सिङको विकासका लागि कुनै नेताले नहेरेको स्थानीय बताउँछन्। ‘जुन जोगी आए नी कानै चिरेका’ –स्थानीय रमेश तामाङले भने।

प्रतिक्रिया दिनुहोस्