क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्त्रोको निधन



हवाना, (एजेन्सी)

क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्त्रोको ९० वर्षको उमेरमा निधन भएको छ।
क्युबाको सरकारी टेलिभिजनले क्युबाका राष्ट्रपति तथा फिडेल क्यास्त्रोको भाइ राउल क्यास्त्रोलाई उद्धृत गर्दै उक्त समाचारको पृष्टि गरेको हो।

क्युबामा साम्यवादी क्रान्तिका जनक मानिएका फिडेल क्यास्त्रोको मृत्यु स्थानीय समयअनुसार शुक्रबार राति साढे १० बजे भएको हो। उनको अन्तिम संस्कार शनिबार गरिने जनाइएको छ।

सन् २००८ मा गम्भीररूपमा बिरामी भएपछि उनले राष्ट्रपति पद छोडेर आफ्नै भाइ राउल क्यास्त्रोलाई सत्ता सुम्पेका थिए।सन् १९५९ मा क्युबाका तानाशाह फुल्खेसियो बाटिस्टालाई सत्ताबाट हटाएर फिडेल क्यास्त्रोले क्युबामा कम्यनिस्ट सत्ता कायम गरेका थिए। त्यसपछि लगातार सत्तामा रहेका क्यास्त्रो ४ दशकसम्म अमेरिकाको कट्टरविरोधीका रूपमा देखिए।

संक्षिप्त जीवनी
उनको जन्म सन् १९२६ मा क्युबाको ओरियन्ट प्रान्तमा भएको थियो। सन् १९५३ मा क्यबाका तात्कालीन शासक फुल्खेन्सिया बाटिस्टाविरुद्ध असफल विद्रोहपछि उनलाई बन्दी बनाइएको थियो। सन् १९५५ मा सत्तासँग भएको सम्झौताअनुसार उनी जेलबाट रिहा भएका थिए। सन् १९५६ मा चर्चित वामपन्थी नेता चेग्वेभाराले सरकारविरुद्ध छापामार युद्ध थाले। सन् १९५९ मा क्यास्त्रोले बाटिस्टालाई चुनावमा हराए र क्युबाका प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए।

सन् १९६२ मा तात्कालीन सोभियत संघलाई क्यबाले आफ्नो भूमिमा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न अनुमति दिएका थिए। अमेरिकामा राष्ट्रपति जोन एफ केनेडी र सोभियत संघमा राष्ट्रपति ब्रझ्नेभको शासनकालमा भएको उक्त घटनाले ती दुई महाशक्तिलाई महायुद्धको संघारमा पुर्याएको थियो। तर, दुई देशबीचको एक सम्झौतापछि उक्त संकट सल्टिएको थियो। सन् १९७६ मा क्युबाको राष्ट्रिय सभाले क्यास्त्रोलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो।

सन् १९९२ मा उनले क्युबा शरणार्थीको समस्यालाई लिएर अमेरिकासँग सम्झौता गरेका थिए। तर, उनले आफ्नो जीवनभरि अमेरिकालाई कहिल्यै विश्वास गरेनन्। पछिल्लो वर्षहरूमा अमेरिकासँग सम्बन्ध सुधार गर्ने क्युबा सरकारको नीतिलाई पनि उनको प्रतिरोधात्मक प्रतिक्रिया रहेको थियो।

सन् २००८ मा स्वास्थ्य स्थिति खराब हुँदै गएपछि फिडेल क्यास्त्रोले राष्ट्रपति पद त्यागेर आफ्नै भाइ राउल क्यास्त्रोलाई सुम्पेका थिए।

क्यास्त्रोको कति सन्तान
महाशक्ति अमेरिकाको नाकमुनि बसेर उसैलाई कडा चुनौती दिँदै आइरहेका क्यास्त्रो यस अर्थमा सधैं चर्चामै रहेका थिए। उनी अमेरिकी नीतिका कट्टर आलोचक थिए। उनको चर्चा यसै विषयमा धेरै कन्द्रित रहेको भए पनि कहिलेकाहीं उनको निजी जीवनलाई लिएर पनि हुने गरेको छ।

एक समय उनको सन्तानको विषयलाई लिएर पनि विशेष चर्चा भएको थियो। फिडेलको फरक–फरक महिलाबाट गरी कम्तीमा १० सन्तान भएको एक अखबारले जनाएको थियो।

खोजी पत्रकार एन लुइ बर्दाखले क्यास्त्रो र उनका भाई राउलको प्रकाशित जीवनीमा उक्त कुराको खुलासा गरेको द डेली टेलिग्राफले जनाएको थियो।
सन् १९८३ मा भेनिटी फेयरका लागि उनले क्यास्त्रोसँग लिएको अन्तरवार्तामा उनलाई कति सन्तान छन् भन्ने प्रश्न राख्दा क्यास्त्रोले मुस्कुराउँदै करिब पूरै प्रजाति भएको जवाफ दिएका थिए।

राजनीतिकरूपमा अत्यन्त सक्रिय रहेका क्यास्त्रो त्यतिबेला आकर्षक व्यक्ति थिए भने धेरै केटीहरू उनका लागि ज्यान दिन्थे। उनकी पहिलो पत्नी मिरता दिआज बलारबाट उनको एउटा छोरा भएको थियो। क्यास्त्रोले उनको नाम फिडेलिटो राखेका थिए।

एन लुइका अनुसार सन् १९६२ र १९७४ को बीचमा उनकी अर्को एक महिला दालिया सोटो देलबाट उनका पाँच सन्तान छन्। उनीसँग उनले सन् १९८० मा मात्र गोप्यरूपमा विवाह गरेको पनि बताइन्छ। सन् १९५६ तिर नै तीन फरक–फरक महिलाबाट क्यास्त्रोका तीन सन्तान भएको एन लुइले दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्