नक्कली क्लिनिकको बिगबिगी



भगवती तिमल्सिना, काठमाडौं

शका विभिन्न ठाउँमा च्याउसरी खोलिएका क्लिनिकहरू प्रक्रिया पूरा गरेर खोलिएका छन् कि सर्वसाधारणलाई लुट्नका लागि मात्रै ? सरकारी तहबाट गरिएको पछिल्लो अनुगमनका क्रममा आधाजसो त्यस्ता क्लिनिकहरूले कुनै प्रक्रिया नै पूरा नगरी काम गरिरहेको पाइएको छ। तपाईंहरू त यस्ता ठगहरूको फन्दामा पर्नुभएन ?

शहर तथा सडक छेउका अघिकांश घरका भित्तामा राखिएका क्लिनिकका ठूलाठूला साइनबोर्ड सर्वसाधारणलाई खुलेआम लुट्नका लागि फैलाइएको सञ्जालजस्तै भएका छन्। कतै मेडिकल कलेजका नाममा ठूला धनराशि अपचलन गर्ने समूह छ भने भित्ताभरि बोर्ड राखिएका अधिकांश क्लिनिकहरू सर्वसाधारणलाई दिनदहाडै लुटने उद्देश्यले वर्षौंदेखि सक्रिय रहेको पाइएको छ।
काठमाडौं उपत्यकाका धेरै क्लिनिकहरू अवैध रहेको गुनासो आएपछि स्वास्थ्यमन्त्री गगन थापाले खटाउनुभएको अनुगमन टोलीले अधिकांश क्लिनिकहरू अवैध रहेको पत्ता लगाएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीलगायतको टोलीले निरन्तर गरेको अनुगमनका क्रममा काठमाडौं र ललितपुरमा तीन दर्जनभन्दा बढी क्लिनिकमा तालाबन्दी गरेको थियो। तालाबन्दी हुने अधिकांश डेन्टल क्लिनिक रहेका छन्।

पाँच दिनमा काठमाडौं र ललितपुरका ३७ वटा क्लिनिकहरूमा स्वास्थ्य मन्त्रालयका दुई टोलीले तालाबन्दी गरिसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय १५, ललितपुरमा १ सय ७१ र भक्तपुरमा २१ अस्पताल, क्लिनिक र पोलिक्लिनिक दर्ता भएका छन्। मोफसलमा पनि अनुगमन शुरू भएकोमा १ देखि ५ गतेसम्म विराटनगरका ८५ वटा नर्सिङहोम, क्लिनिक, डाइगनोस्टिक सेन्टर र औषधि पसलमा कसैले नवीकरण नगरेको त कोही दर्ता नै नभई सञ्चालनमा आएको पाइएकाले तालाबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अहिले जारी अनुगमन दुई हप्तासम्म सञ्चालन गर्ने, उजुरी तथा गुनासोका आधारमा छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वयम्सेवक परिचालन गर्ने तयारी पनि गरिरहेको जनाइएको छ। गुनासो दर्ताका लागि मन्त्रालयको चिकित्सा महाशाखा तोकिएको छ।

अहिलेसम्म अनुगमन गरिएकामा आधाभन्दा बढीले कानुनविपरीत काम गरिरहेको फेला पारेको अनुगमन टोलीले जनाएको छ। काठमाडौं उपत्यकामा गत साता मात्र ३२ वटा निजी स्वास्थ्य संस्थाहरूमा अनुगमन गरिएको थियो। अनुगमन गरिएकामध्ये काठमाडौंको कालीमाटीदेखि कलंकीसम्मको बाटोको छेउमा रहेका क्लिनिकहरू शुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोलिक्लिनिक, कालीमाटी डेन्टल क्लिनिक र सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरिएको छ। क्लिनिक सञ्चालनका लागि आधारभूत मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएको पाइएकाले बन्द गराइएको अनुगमन टोलीका सदस्यले जनाएका छन्।

अनुगमनका क्रममा राजभण्डारी डेन्टल क्लिनिकका सञ्चालक भने अनुगमन टोली आएको थाहा पाएपछि भागेकाले अर्को दिन कारबाही गरिने अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा. रामराज पन्थीले जानकारी गराउनुभयो। त्यस्तै अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडा नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबलाई बन्द गरिदिएको छ। त्यस्तै ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि अल्टिमेटम दिइएको जनाएको छ।

अनुगमनका क्रममा ललितपुरको मानभवनमा रहेको रोयल आयुर्वेद प्रालि, बञ्जारा आयुर्वेद क्लिनिक एन्ड फर्मा, शाश्वत आयुर्वेद, आयुष्या पञ्चकर्मा हेल्थ होम एन्ड रिसर्च सेन्टर, कुमारीपाटीमा रहेको स्माइल प्लस डेन्टल केयर, बेटर स्माइल द डेन्टल केयर र एलाइट डेन्टल हस्पिटल प्रालिमा तालाबन्दी गरिएको उपसचिव कोइरालाले जानकारी दिनुभयो।

ललितपुरमा गरिएको अनुगमनमा थप तीनवटालाई २४ घण्टे अल्टिमेटमसहितको पुर्जी दिइएको छ। अनुगमन गरेकामध्ये एउटामा मात्रै आधारभूत मापदण्ड पूरा भएको पाइएको कोइरालाले बताउनुभयो।

त्यस्तै काठमाडौंको गोंगबुमा कुल १८ वटामा अनुगमन गरिएकोमा ३ वटामा तालाबन्दी भएको छ। अल स्माइल डेन्टल होम, एलाइट स्वास्थ्य क्लिनिक र अकुप्रेसर हेल्थ केयरमा तालाबन्दी गरिएको अनुगमन टोलीको नेतृत्व गर्नुभएका डा. पन्थीले जानकारी दिनुभयो। दुवै टोलीले अनुगमनका क्रममा क्लिनिक तथा फार्मेसीहरूको दर्ता कागजपत्र ठीक अवस्थामा रहेको वा नरहेको बारेमा अनुगमन गरेको थियो। अनुगमनलाई निरन्तरता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अनुगमनमा खटिएका दुईवटा टोलीले फरकफरक क्षेत्रका क्लिनिक तथा फार्मेसीहरूमा अनुगमन गरेको थियो।

अनुगमन गरेका फार्मेसीहरूमा भने अवैध नदेखिए पनि पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधी विक्री गरेकोलगायतका कमजोरी देखिएकाले उनीहरूलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको काठमाडौंको अनुगमन टोलीको नेतृत्व गर्नुभएका व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिनुभयो। काठमाडौंको चाबहिलका शाह पेथोलोजी, रेशा क्लिनिक, विराज डेण्टल प्राली र ओम समाज डेण्टल प्रालीमा तालाबन्दी गरिएको बताउनुभयो।

तालाबन्दी गरिएकामध्ये ओम समाज डेण्टलमा बिरामीहरू धेरै भएकाले उनीहरूलाई २४ घण्टाभित्रमा हटाउन निर्देशन दिइएको पनि डा. ओझाले जानकारी दिनुभयो। ‘उनीहरूलाई तत्काल जिल्ला जनस्वास्थ्य कार्यालयमा हाजिर हुन भनेका छौं।’ –उहाँले भन्नुभयो।

त्यसै गरी ललितपुरमा खटिएको टोलीले कागजपत्र देखाउन २४ घण्टे अल्टिमेटम दिँदा पनि दर्ता कागजपत्र देखाउन नसकेका जाउलाखेलको लेजर थेरापीसहित चारवटामा एक साताअघि तालाबन्दी गरेको छ। स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वको टोलीले भैंसेपाटीमा रहेका शुभेक्ता क्लिनिक एण्ड रिसर्च सेण्टर, ओमशान्ति सामाजिक संस्थाद्वारा सञ्चालित सम्पूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भु फर्मा इन फोकस अप्टिकल एण्ड क्लिनिक, जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालिटीमा तालाबन्दी गरिएको छ। यी दुवै क्लिनिक दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ।

थप अन्य तालाबन्दी भएका क्लिनिकहरूमा काठमाडौंको बालाजुस्थित नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेण्टल क्लिनिक, अल्का डेण्टल होम, ओशो आशिक डेण्टल क्लिनिक, ओम प्राकृतिक डेण्टल क्लिनिक र वाईपास पोली क्लिनिक रहेका छन्। त्यसैगरी बालाजुकै नोबेल डेण्टल होम र सम्राट पोलिक्लिनिक एण्ड मेडिकल सेण्टरलाई चौबीस घण्टे पुर्जी दिइएको डा. पन्थीले बताउनुभयो। अनुगमन गरेका मध्ये अधिकांश डेण्टल क्लिनिकहरू अवैध तरिकाले सञ्चालन भइरहेको पाइएको बताइएको छ।

त्यसै गरी तालाबन्दी गरिएका अन्य क्लिनिकहरूमा रचना अर्थो न्युरो रिह्याविटेशन सेण्टर, काठमाडौंको बानेश्वरदेखि कोटेश्वरसम्म रहेका जागरण क्लिनिक, एसआरडी डाइनोष्टिक, लोकसेवा डेण्टल क्लिनिक र अपी डेण्टल क्लिनिकमा तालाबन्दी गरिएको छ। विराज डेण्टलका सञ्चालक भने वैधता सम्बन्धी कागजपत्र माग्दा केहीबेरमा ल्याउँछु भनेर भागेका थिए। भगौडालाई नछोड्ने अनुगमन टोलीले जनाएको छ। यता टोलीले मिनभवनमा रहेका सिमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्निम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, ईएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पिटल र शुभ फार्मेसीमा अनुगमन गरेको थियो। उनीहरूमा खासै समस्या नदेखिएको अनुगमन टोलीमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका उपप्रशासक डा. युवराज पोखरेलले जानकारी दिनुभयो।

टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेशनल हस्पिटल एण्ड रिसर्च सेण्टर, नेशनल फार्मेसी, अप्टिकल नेपाल, हाम्रो डेण्टल क्लिनिक, द बेष्ट अप्टिकल, बेष्ट अल्का अप्टिकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्राली, सिम्रिक डेण्टल क्लिनिक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनिक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गर्दा प्रक्रिया पूरा गरिएको पाइएको डा. खतिवडाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्