तीन दल बैठकमा बाझाबाझ



मधुसूदन रायमाझी, काठमाडौं

संविधान संशोधनका विषयमा सहमति गर्न सोमबार राति बसेको प्रमुख तीन दलको बैठकमै विवाद भएको छ। संविधान संशोधन प्रस्तावको विषयमा सत्ता पक्षले अगाडि सारेको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएपछि बैठकमा विवाद भएको हो। सहमति निर्माण गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाउनुभएको तीन दलको बैठकमा आरोप प्रत्यारोप भएपछि विनानिष्कर्ष बैठक सकिएको थियो।

संविधान संशोधन प्रस्तावमाथि समावेश गर्न लागिएका सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रनिनिधित्वको बारेमा एमालेले स्वीकार गर्न नसकिने बताएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्नका लागि पनि संविधान संशोधन गर्नुको विकल्प नभएको बताउँदै सरकार सबै पक्षको सहमतिमा प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको जानकारी गराउनुभएको थियो। कांग्रेस, माओवादी र मधेसी मोर्चाले सहमति जनाएको संविधान संशोधनको प्रस्ताव एमालेले अस्वीकार गर्नुपर्ने कारण नरहेको बताउँदै प्रधामन्त्रीले देशको साझा समस्या समाधान गरेर अगाडि बढ्न एमालेलाई आग्रह गर्नुभएको थियो।

प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने– ‘सरकार सबैको भावनालाई समेटेर अगाडि बढ्छ, सहमतिबाटै संविधान संशोधन प्रस्ताव अगाडि बढाउने पक्षमा छ। राष्ट्रलाई एकताबद्ध बनाउने र असन्तुष्ट पक्षको माग सम्बोधन गर्नका लागि ल्याउने संविधान संशोधन प्रस्तावप्रति एमालेले आपत्ति जनाउनुपर्ने कारण छैन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाउँदै आएको औचित्य पुष्टि नगरी एकतर्फी रूपमा संविधान संशोधन प्रस्ताव आए स्वीकार नगर्ने बताउनुभएको थियो। ओलीले अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वय गर्नुपर्ने अवस्था भएकाले तत्काल संविधान संशोधनको आवश्यकता नरहेकोमा जोड दिनुभएको थियो।

बैठकपछि प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष भीम रावलले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्तावले देश विखण्डन हुने भएकाले कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो।

उहाँले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन गर्नुको सट्टा सरकार अनावश्यक रूपमा संविधान संशोधनको प्रस्तावमा अल्झिएको आरोप लगाउनुभयो।

माओवादी केन्द्रका नेता वर्षमान पुनले बैठकमा एमालेले अहंकार र दम्भ देखाएको बताउँदै भन्नुभयो– ‘एमालेलाई हामीबाहेक कुनै दल छैन। हामीले जे गर्छौं त्यही हुन्छ भन्ने जसरी प्रस्तुत भयो।’ प्रधानमन्त्री र अध्यक्ष ओलीबीच कुरा हुँदा संविधान संशोधनमा सैद्धान्तिक सहमति जनाएपछि अहिले पूर्ववत् सहमतिबाट पछाडि फर्किएको बताउँदै नेता पुनले सरकारले केही दिनभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउने बताउनुभयो।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले अहिले संविधान संशोधनको आवश्यकता र औचित्य नदेखिएकाले संविधान संशोधन गर्न नहुने अडान लिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हिजो नब्बे प्रतिशत मतले पास भएको संविधान अहिले प्रतिपक्षी दललाई सहमति नलिईकन कसरी अगाडि बढ्नुहोला?’ गृहमन्त्री विमलेन्द्र निधिले एमालेले नमाने पनि मधेसी मोर्चासँग छलफल गरेर संशोधन प्रस्ताव दर्ता हुने बताउनुभयो। सरकारले यही साताभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी गरेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, उपप्रधान एव गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावल, नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षामान पुनलगायतका नेताहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्