कुरा अर्कै आयो



मोतीराम तिमल्सिना, काभ्रे

केही दिनअघि एउटा टेलिभिजनमा अन्तरवार्ता दिएपछि चर्चामा आएकी एउटी महिलाले बोलेको कुरा अन्नतः गलत देखिएको छ।

एउटी महिलाले पुरुषसँगको सम्बन्ध विच्छेद भएपछि कसरी पति पत्नी हुन सक्छन् ? टेलिभिजन अन्तर्वार्ताका क्रममा कञ्चन शर्मा रेग्मीले चरित्र हत्या गरेको भन्दै उनका पूर्वपति मोहनलाल जैसी रेग्मीले मानहानी र क्षतिपूर्तिका लागि अदालत जाने तयारी गर्नुभएको छ।

‘हामी अत्यन्तै पीडामा छौं, कान्छो छोरा त तीन दिनदेखि मुर्छित छन्’–जैसीले आइतबार नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म कार्यालयमा समेत जान सकिरहेको छैन।’ २०६७ साल असार ३ गते जिल्ला अदालत बाजुरामा दर्ता भएको सम्बन्ध बिच्छेद मुद्दा २०६८ साल माघ ३ गते सदर भएको थियो । चार वर्ष १० महिनापछि कञ्चनले हुँदै नभएका कुराहरू टेलिभिजनमार्फत भनेपछि आफूहरू मुर्छित भएको जैसीले बताउनुभयो। बाजुरा जिल्ला अदालतका तत्कालीन न्यायाधीश रामेश्वर अमात्यको इजलाशबाट सम्बन्ध विच्छेद सदर भएपछि मोहनलाल जैसीले दोस्रो विवाह गर्नुभएको छ। दोस्रो विवाह गरेपछि जैसीबाट अर्काे सन्तान जन्मिएको छ। जैसी अहिले धुलिखेलस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत हुनुहुन्छ। त्यसअघि उहाँ सिन्धुपाल्चोक जिल्लामा खानेपानीकै प्रमुख हुनुहुन्थ्यो।

‘कञ्चनले अन्र्तवातामा भनेका अधिकांश भनाइहरू गलत हुन्’ –जैसीले भन्नुभयो– ‘पूर्वपति र छोराहरूलाई व्यक्त गरेका शब्दहरूले हामी दुखित छौं। कान्छो छोरा त कोहीसँग बोल्न पनि सकेको छैन।’ उहाँले भन्नुभयो– ‘कार्यालयको कामले आफू राजधानीबाहिर गएका बेला कञ्चनको सम्बन्ध परपुरुषसँग हुन थालेको थियो। उनी डान्स, रेस्टुरेन्ट जाँदै रक्सि, चुरोट र मादक पदार्थले अर्धचेत हुने गरेकी रहिछन्। छोराहरूले नै आफ्नै आमाको हालत त्यस्तो देखेपछि बाबुसँग सल्लाह गरेरै कानुनी रूपमा सम्बन्ध विच्छेदका लागि तयार भएका थिए।

मोहनका दुई छोरामध्ये जेठो बैङ्लोरमा छन्। इन्जिनियरिङ विषयको अन्तिम तहको परीक्षाको तयारीमा रहेका उनी तनावमा रहेको बाबु मोहनले बताउनुभयो।‘सम्बन्ध विच्छेद भइसकेकी महिलाले कसरी पति भनेर सम्बोधन गर्न मिल्छ ?’ –उहाँले भन्नुभया ‘उनले पाउनुपर्ने अंश लिएर गइसकेकी छिन्, भएको सबै सम्पत्ति सिध्याएपछि उनी पवित्र सेवा समाज नामक एनजीओको सम्पर्कमा पुगिन्। त्यही एनजीओकी दीक्षा चापागाईं शर्मामार्फत मेरो मानहानी गरिरहेकी छिन्।’

२०४७ सालमा कञ्चनसँग विवाह गरेका मोहनको २१ वर्षमा सम्बवन्ध विच्छेद भएको थियो। एसएलसी पास गरेको भन्दै झुक्याएर पुल्चोकमा इन्जिनियरियङ विषयमा अध्ययन गरिरहेका बेला कञ्चनसँग विवाहको टुङ्गो लगाइएको थियो। मोहनभन्दा अघिल्लो ब्याजका घनश्याम शर्माले आफ्नै साली कञ्चनको विवाह गर्ने कुरा ल्याएका थिए। मोहन बीई पास गरेपछि जागिरको सिलसिलामा बाजुरा पुगेका थिए। कञ्चनले एसएलसी पास गरेपछि मोहन आफैंले क्याम्पस पढ्न अनुरोध गरे उनी पिके क्याम्पस भर्ना भएकी थिइन्। तर कञ्चनले अन्तर्वार्तामा ठिक उल्टो बताएकी थिइन्। नर्सिङ पढेर डा.भोला रिजालसँग पढेको भनेको कुरा पूर्णतः गलत भएको मोहनले बताउनुभयो। विवाहपछि कञ्चनले पूर्ण रूपमा रक्सी सेवन गरी अनैतिक व्यवहारहरू प्रदर्शन गर्न थालेपछि सम्बन्धमा दरार शुरु भए पनि मोहन आफैंले नदेखेसम्म पत्याएका थिएनन्।उनका दिदीहरू दुबैलाई उनको बानीव्यहोराका बारेमा थाहा भए पनि कञ्चनलाई सुधार्नेभन्दा पनि त्यही काममा सहयोग गरेकै कारण कञ्चन झन् अगाडि बढिन्।

जागिर खाइरहेका मोहनले पठाएको पैसाले नपुगेर उनले भएका भाँडाकुँडासमेत बेचेर रक्सी खाने र यौनजन्य कृयाकलाप गर्ने गरेका थुप्रै प्रमाणहरू साक्षी रहेको मोहनले बताउनुभयो। छोराहरूलाई समेत यातना भएपछि ससुरालीबाट कान्छी साली आएर रेखदेख गरेकी थिइन्। दिदीको बानी थाहा पाएपछि आमालाई सबै कुरा भनेपछि मोहनलालकी सासूले माफी माग्दै छोरीलाई सुधार्ने प्रयास गरेकी थिइन्। सासूले नै मोहनलाई अर्काे विवाह गरेर नातीहरूको संरक्षण गर्न भने पनि मोहनले मान्नुभएको थिएन। कञ्चनसँग सम्बन्ध विच्छेदसमेत गर्न तयार हुँदा नमानेपछि काठमाडौंमा अधिकारकर्मीहरूले मोहनविरुद्ध मुद्दा दायर गरेका थिए। बाजुरा अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका मोहनकै मुद्दालाई डेढ वर्षपछि सदर गरिदिएको थियो।२०६८ सालपछि उनी रक्सी खाएर सडकमै सुतिन्। सम्बन्ध विच्छेदपछि पनि कञ्चनलाई सहयोग गर्न ससुरालीसँग छलफल गरेका मोहनसँग उल्टै पैसा मागिएको थियो।‘कञ्चन त्यतिबेला मैतिदेवीमा एकजना पुरुषसँग बस्दै आएकी थिइन्। त्यो पुरुषले पनि कञ्चनलाई छाडिदिएपछि उनी सडकमै रक्सी खाएर ढलिन् होला’ –मोहनले भन्नुभयो।

पारिवारिक रूपमा तनाव भएपछि छोराहरूलाई डिप्रेसन भयो। सम्बन्ध विच्छेद पछि कन्यादान गरेरै दोस्रो विवाह गरेका मोहनकी अर्की श्रीमतीका कारण छोराहरूको भविष्य उज्जवल भयो। जेठो छोरा इन्जिनियरिङ पढ्दै छन् भने कान्छो पनि नेपालमै पढ्दै छन्। दोस्रो पत्नीबाट जन्मिएको अर्काे छोरा तीन वर्षको भएको छ। ‘अन्र्तवार्ताका सबै कुरा झुटा हुन्, हामी टक्सन चढ्ने हैसियतमा छैनौं, कार्यालयको गाडी कामको सिलसिलामा बाहेक चढेको छैन, छोरो कान्छो सेकेण्डह्यान्ड बाइक चढिरेहको छ’–मोहनले भन्नुभयो

े‘कञ्चनले भनेका गलत कुराहरूका कारण हामी अहिले सामाजिक रूपमै पीडित भएका छौं।’ कार्यक्रम प्रस्तोता सुमन खरेलले अन्र्तवार्ता लिनुअघि उनको पृष्ठभूमि हेरेर हामीसँग सम्पर्क गरेर मात्रै प्रशारण गरेको भए के हुन्थ्यो ? मोहनले भन्नुभयो–‘सस्तो लोकप्रियताका लागि सञ्चालन भएका कार्यक्रम, प्रस्तोता र एनजीओका कारण हामीले भोग्नुपरेको सामाजिक र मानसिक पीडाका बारेमा कसले सुन्छ?’

कञ्चनले भनेको मात्रै गलत होइन उनले बाचन गरेको गजल पनि अर्कैको सिर्जना हो। अर्काेको सिर्जना चोरी गरेर उनले आफ्नै रचनासमेत भन्न भ्याइन्। ‘ससुरालीहरूको सहमतिमै कञ्चनसँगको सम्बन्ध विच्छेद गरेर अर्काे घरजम गरेको हुँ’ –मोहनले भन्नुभयो, ‘मैले मात्र होइन उनका माइतीका सबै जनाले कञ्चनको बानीव्यहोरा सुधार्न नसकेपछि छाडिदिएका हुन्।’

प्रतिक्रिया दिनुहोस्