समस्याग्रस्त वित्तीय संस्थामा नयाँ लगानीकर्ता भित्रिँदै



  • हेमन्त जोशी,काठमाडौं

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वित्तीय संस्थामा अब नयाँ लगानीकर्ताहरू भित्रिने भएका छन्। लामो समयदेखि राष्ट्र बैंकमा समस्याग्रत वित्तीय संस्थाहरू बिक्री गर्ने विषयमा छलफलले यतिबेला मूर्त रूप लिएको छ।

यतिबेला लामो समयसम्म पनि सुधार हुन नसकेका बैंक तथा वित्तीय संस्थाहरू बिक्री गर्ने लहर चलेको छ। सुधार हुन नसकेपछि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थामा नयाँ लगानीकर्ता भित्र्याउन लागेको हो। राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका ११ वटा बैंक तथा वित्तीय संस्थामध्ये ८ वटा वित्तीय संस्थाहरू यतिबेला बिक्री हुने पाइपलाइनमा रहेको राष्ट्र बैंकले जनाएको छ। सुधार हुन नसकेका वित्तीय संस्थाहरूका सञ्चालक समितिलाई राष्ट्र बैंकले कारबाही गरेपछि ती संस्थाहरूमा नयाँ लगानीकर्ता भित्रिने बाटो खुलेको हो। राष्ट्र बैंक स्रोतले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्यो–‘पुरानै सञ्चालक समितिलाई पुनः संस्था सञ्चालन गर्न दिने कुरा भएन।’

कारबाहीमा नपरेका नयाँ सञ्चालकहरूले समस्याग्रस्त वित्तीय संस्था किन्ने प्रक्रिया अघि बढेको ती स्रोतको भनाइ छ। समस्याग्रस्त घोषणा भएका वित्तीय संस्थाहरू मध्ये जनरल फाइनान्स कम्पनीको बिक्री प्रक्रिया सकिएको छ। फाइनान्स कम्पनीले १०⁄१५ दिनभित्रमा कारोबार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी कुवेर मर्चेन्ट एन्ड फाइनान्स, अरूण फाइनान्स, नेपाल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, ललितपुर फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका वित्तीय संस्थाहरू बिक्रीको टुंगो लागिसकेको राष्ट्र बैंकले जनाएको छ। बिक्रीको तयारीमा रहेका समस्याग्रस्त वित्तीय संस्थाहरूमा उपत्यका बाहिरका नारायणी डेभलपमेन्ट बैंक र वल्र्ड मर्चेन्ट बैंक पनि रहेका छन्। नेपाल शेयर मार्केट एन्ड फाइनान्स र क्रिस्टल फाइनान्सको भने अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तिय संस्था बिक्री गर्ने सम्बन्धी नयाँ प्रावधान ल्याएपछि समस्याग्रस्त संस्थाहरू धमाधम बिक्री हुन लागेका हुन। राष्ट्र बैंकका अनुसार, समस्याग्रस्त वित्तिय संस्थाहरूमा झण्डै १६ अर्ब रुपियाँ सर्वसाधरणको निक्षेप रहेको छ। बिक्री हुन लागेका ती सबै वित्तीय संस्थाहरूमा अब सञ्चालक समिति र व्यवस्थापन सबै नयाँ हुने छन्।

प्रतिक्रिया दिनुहोस्