पाँचथरमा ९ स्थानीय तहको नयाँ खाका प्रस्ताव



जितेन्द्र भण्डारी, पाँचथर
नीय तह पुनर्संरचनाका क्रममा पाँचथरमा ९ स्थानीय तह निर्माण गर्ने नयाँ खाका स्थानीय तह पुनर्संरचना आयोगमा पठाइएको छ।स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति र जिल्लास्थित राजनीतिक दलहरूको शुक्रबार सम्पन्न संयुक्त छलफलले १ नगरपालिका, ७ गाउँपालिका र १ विशेष गाउँपालिका निर्माणको प्रस्ताव आयोगमा पठाउने निर्णय गरेको हो।

जसअनुसार उत्तरमा हालमा च्याङथापू, फलैंचा, ओयाम, थर्पू र नागी गाविसलाई मिलाई याङवरक गाउँपालिका, अमरपुर, पञ्चमी, सुभाङ, भारपा र एकतीन गाविसको वडा नं. ८ लाई मिलाई हिलिहाङ गाउँपालिका, एकतीनका बाँकी वडाहरू, मेमेङ, प्राङबुङ र सिदिनलाई मिलाई फालेलुङ गाउँपालिका र याङनाम, नांगीन र लुङरूपा गाविसलाई मिलाई छिन्तापु गाउँपालिका निर्माण गर्ने प्रस्ताव गरिएको छ।

यस्तै हालको फिदिम नगरपालिकामा रानीटार र लुम्फाबुङ गाविसलाई मिलाई फिदिम नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ। यस्तै दक्षिणमा नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप र आङसराङ गाविसको वडा नं. ५, ६, ७ र ८ लाई मिलाई फाल्गुनन्द गाउँपालिका, आङसराङका बाँकी वडाहरूसहित यासोक, स्याबरुम्बा, रानीगाउँ र माङ्जाबुङ गाविसलाई मिलाई कुम्मायक गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ।

यस्तै दक्षिणका आङ्ना, मौवा, वलने र हाङुम गाविसलाई मिलाई तुम्बेवा विशेष गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ। सुख्खाग्रस्त क्षेत्र रहेको र अन्य गाविसलाई मिलाई स्थानीय तह निर्माण गर्दा स्थानीयलाई अपायक पर्ने भन्दै उक्त क्षेत्रलाई विशेष गाउँपालिका निर्माणको प्रस्ताव गरिएको हो। यस्तै सुदूरदक्षिणी गाविसहरू सराङडाँडा, आरुबोटे, रवि, कुरुम्बा, लिम्बा र दुर्दिम्बालाई मिलाई मिक्लाजोङ गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ।

स्थानीय तह पुनर्संरचना आयोगमा स्थानीय तहको खाका पठाइएको यो तेस्रोपटक हो। पहिलोपटक आयोगले जिल्लामा ५ स्थानीय तह निर्माण गर्ने म्यान्डेडसहित प्रतिवेदन मागेको थियो। उक्त समय पाँचथरबाट ७ स्थानीय तह निर्माणको प्रस्ताव सिफारिस गरियो।

कांग्रेस र माओवादी केन्द्र आयोगले देशभरका लागि प्रस्ताव गरेको ५ सय ६५ को संख्यामा सहमत नभएपछि आयोगले संख्या परिवर्तन गर्यो। देशभर बढीमा ७ सय ४२ स्थानीय तह निर्माणको प्रस्ताव गरेको आयोगले पाँचथरमा ८ ओटासम्म स्थानीय तह निर्माणको प्रस्ताव पठाउन भन्यो। आयोगद्वारा निर्धारित समय कात्तिक २० मा दलहरूबीच सहमति नजुट्दा ८ स्थानीय तह निर्माण गर्ने दुई खाकाको प्रस्ताव गरिएको थियो।

दुवै खाकाप्रति विमति जनाउँदै कात्तिक २१ बाट स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आयोगले जिल्लास्थित प्राविधिक समितिलाई ‘दलहरूबीच अधिकतम सहमति जुटाई एउटै खाका पठाउन’ भनेपछि प्राविधिक समिति र दलहरूबीच दिनभर छलफल भएको थियो। छलफलका क्रममा बढी विवादित फाल्गुनन्द नगरपालिकालाई टुक्रइई फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपालिका निर्माण गरिएको छ। ८ स्थानीय तह निर्माण गर्ने पहिलो खाकामा नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप, आङसराङ, माङ्जाबुङ, यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई मिलाई फाल्गुनन्द गाउँपालिका निर्माण गर्ने प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावमाथि नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप र आङसराङवासीले विमति जनाउँदै आन्दोलन गरेका थिए।

यस्तै सोही खाकामा रानीटार गाविसलाई टुक्र्याई वडा नं. ९ लाई छिन्तापु गाउँपालिकामा तथा बाँकीलाई फिदिम नगरपालिकामा गाभ्ने प्रस्ताव गरिएको थियो। रानीटारबासीले ‘अखण्ड रानीटार’ को माग गरेका थिए। अहिलेको प्रस्तावमा भने सिंगै रानीटारलाई फिदिम नगरपालिकामा मिलाइएको छ।

यता प्रस्तावित याङवरक गाउँपालिकाको केन्द्र भने निक्र्यौल हुन सकेको छैन्। थर्पूका स्थानीय थर्पूलाई र ओयाम, च्याङथापू र फलैंचाका स्थानीयलाई ओयामलाई केन्द्र बनाउनुपर्ने मागका साथ आन्दोलनमा उत्रेका थिए। पछिल्लो प्रस्तावमा समेत उक्त गाउँपालिकाको केन्द्र यकिन छैन। पाँचथरमा ५ देखि ८ स्थानीय तह निर्माण गर्न आयोगले प्रस्ताव गरेको भए पनि दलहरू र प्राविधिक समितिले ९ स्थानीय तह निर्माणको प्रस्ताव गरेका छन्। जुन पारित हुनेमा प्रशस्तै आशंकाहरू रहेका छन्।

निमित्त स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका निमित्त प्रमुख प्रमुख जिल्ला इन्जिनियर भानुभक्त बरालले विशेष गाउँपालिकालाई नगनी प्रस्ताव स्वीकृत गर्न आयोगसमक्ष आग्रह गरिएको वताए। दलहरूबीच ८ स्थानीय तह निर्माणको एउटा खाकामा सहमति नजुट्दा ९ स्थानीय तह निर्माणको प्रस्ताव गर्नुपरेको बरालले बताए।

आयोगले पाँचथरमा ५ देखि ८ स्थानीय तह निर्माणको प्रस्ताव गर्दा पाँचथरमा तीन मुख्य दलले तीनै खालका प्रस्ताव ल्याएका थिए। कांग्रेसले ८, एमालेले ५ र माओवादी केन्द्रले ९ स्थानीय तह निर्माणको प्रस्ताव गरेका थिए। नागरिकको सुविधा र स्थानीय आवश्यकतालाई हेरेर आफूहरूले प्रस्ताव गरेअनुसारको संख्यामा सहमति जुटेको माओवादी केन्द्र पाँचथरका सहइन्चार्ज विशाल रसाइलीले बताए।

प्रतिक्रिया दिनुहोस्