(मोहन दुवाल)

साहित्यकार
गोविन्द गिरी प्रेरणा

नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्न निरन्तर गतिशील रहँदै आएका एकजना स्रष्टा र द्रष्टा हुन्– गोविन्द गिरी ‘प्रेरणा’ । मनमा उठेका प्रेरणाबाट नै साहित्यसेवा र सिर्जनामा लागेका यिनले २०३४ सालदेखि हालसम्म पनि कलम चलाउँदै आएका छन् । अमेरिकामा हाल बसोबास गर्दै त्यहीँ कार्यरत प्रेरणाले त्यतातिर पनि भाषा–साहित्यको सेवा गर्न तत्परता देखाइरहेका छन् । जहाँ बसे पनि, जता पुगे पनि साहित्यमा मन लगाउन सक्नु नै यिनको आफ्नै खालका विशेषताहरू हुन् । थुप्रै विदेशी भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरेर आफूलाई अनुवादकका रूपमा समेत परिचय बाँड्न सफल यिनी कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, समीक्षा लेखनमा स्थापित व्यक्तित्वका रूपमा परिचित छन् । लागिरहन सक्ने, लेखिरहन सक्ने, आफ्नो यात्रामा मन दिइरहन सक्ने यिनको बानीले यिनलाई शिखर चढ्न सजिलो भएको हो ।

बी.कम.सम्म उत्तीर्ण गरेका यिनले त्रिविविअन्तर्गतको लेखा सेवामा रही २५औं वर्ष जीवनका क्षणहरू गुजारिसकेका छन् । जीवनका धेरैजसो क्षणहरू साहित्यसँग मन गाँस्न तत्पर रहेकै कारणले यिनी गोविन्द गिरीबाट साहित्यिक प्रेरणा बने । पहिलोचोटि कथा प्रकाशन गराएर साहित्यिक सिर्जनामा मन दिएका यिनले पछि सबैजसो विधामा कलम चलाएका हुन् । २०३६ सालमा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि भएको सडक कविता आन्दोलनमा सक्रिय प्रेरणाले राइटर्स क्लब खोलेर लेखकहरूलाई प्रेरणा दिनका लागि नेतृत्व गरे । दीपज्योति साहित्यिक पत्रिकाको सम्पादनपछि दीपिका साहित्यिक मासिकको सम्पादक बने । अन्यथा र समकालीन नेपाली साहित्यको कुशल सम्पादन गरेर आफ्नो सम्पादक व्यक्तित्व देखाइसकेका यिनले लघुकथा नामक पत्रिकाको पनि प्रकाशन गरेको देखिन्छ । दुबसु क्षेत्रीसँग सम्पादनमा मिलेर यिनले समकालीन नेपाली कविताको रूपयात्रा पुस्तक पनि निकाले । सम्पादन कार्यमा यी माथि उल्लेख भएका पत्रिकाहरूको सम्पादनमा लागेर यिनले आफ्नो सम्पादन कार्यक्षमता देखाएकै हुन् । यसर्थ भन्न सकिन्छ, गोविन्द गिरीले साहित्यिक क्षेत्रमा लागेर सबैजसो विधामा आफ्नो कलम चलाए । कवि, कथाकार, निबन्धकार, उपन्यासकार, नाटककार, बालसाहित्य लेखकका रूपमा आफूलाई देखाउँदै आएका यिनका लेख–रचनाहरू हिन्दी, बंगाली, अंग्रेजी भाषामा पनि अनुदित भई प्रकाशित छन् ।

अध्ययनशील प्रेरणाले पुस्तकहरू किनेर आफू मात्र पढ्ने गर्दैनन् अरुलाई पनि पढ्न दिन्छन् । यस सन्दर्भमा यसरी भन्ने गर्छन्– ‘यदि तपाईंहरू साहित्यलाई इज्जत गर्नुहुन्छ, साहित्यकारलाई इज्जत गर्नुहुन्छ भने साहित्यका पुस्तकहरू किनेर पढ्नुहोस् ।’ उनी अमेरिकामा पनि पत्रिका चलाउने गर्छन्, नेपालीहरूमाझ साहित्य फिजाउँछन्, अमेरिकाको पृष्ठभूमिमा रमेर उपन्यास लेख्छन्, नलेखीकन बस्नै नसक्ने यिनको स्वभाव हो । जीवन र जगत्लाई बुझेर, अनुभूत गरेर कलात्मक ढङ्गले लेख्नु नै साहित्य हो, यिनको साहित्यिक परिभाषाको ठम्याइ हो । उत्कृष्ट साहित्य भनेको कसैको मनलाई झङ्कृत तुल्याउन सक्ने लेखाइ हो, यिनको यो आफ्नो साहित्यिक बुझाइ हो । लेखकीय दायित्व बुझाउन, परिचय गराइरहन लेखिरहनुपर्छ, यो यिनको लेखकप्रतिको धारणा हो । सकारात्मक दृष्टिले लेखनलाई मन पराइरहनेहरू एकदिन सफलताको शिखर चुम्छन्, गोविन्द गिरी प्रेरणा यस्तै सकारात्मक सोच बोकेर लेखन क्षेत्रमा लागिरहेको देखिन्छन् ।

लेखनमा लागिरहने, साहित्यिक गतिविधि गरिरहने, जस्तो आपतविपतमा पनि आफ्नो गन्तव्यबाट विचलित नहुने यिनको स्वभावले प्रेरणा नेपाली साहित्यिक जगत्का एकजना सक्रिय व्यक्ति बने । ‘म लेख्छु र लेखिरहन्छु, मेरो धर्म–कर्म नै लेख्नु हो ।’ यिनको लेखकीय भावनाभित्रका यी अभिव्यक्तिले बताउँछ– लेखकको काम लेख्नु नै हो । लेखन शील्प देखाउने हो, लेखकले यस्तै भावनामा तरङ्गीत हुँदै सधैँ लेखिरहन मन गरे यिनले । स्व. रामबहादुर गिरी र स्व. विष्णुकुमारी गिरीका छोरा भई मकवानपुर जिल्लाअन्तर्गतको भन्सारीमा गोविन्द गिरीको जन्म २०१५ वैशाख ५ गते भएको हो । साधारण निम्न–मध्यम वर्गीय परिवारमा जन्मेका यिनले जीवनक्रममा निकै सङ्घर्षका कहरहरू काट्दै जीवन भोगे । पछि जीवनका उकाली–ओरालीमा हिँड्दाहिँड्दै अञ्जु केसीसँग विवाह बन्धनमा मित्रता गाँसेर गोविन्द गिरी प्रेरणाले अनुभव र अनुरोधरूपी जीवनक्रम जन्माए ।

२५औं वर्ष त्रिविवि सेवाअन्तर्गतको लेखाशाखामा सेवा गरेर जीवनमा जागिरे जीवनको अनुभव गरे । कुदिरहने यिनको स्वभावले कसैको लागि यिनी प्रतीक भए त कसैका लागि उदाहरणीय व्यक्ति बने । ‘गोविन्द मोटरभन्दा पनि अगाडि कुद्छन् काठमाडौंमा’, एकताका यसरी यिनीमाथि टिप्पणी भएको मलाई थाहा छ । साहित्यिक सामीप्यता जोड्न सिपालु भएकै कारणले धेरैथोकमा यिनले आफूलाई पुर्याए । सक्रिय नहुने, आफैंमा सीमित हुनेहरूले यिनको सक्रियता हेरेर, यिनको गतिविधि देखेर गोविन्द गिरी प्रेरणालाई आ–आफ्नो ढङ्गले विश्लेषण गरे । तर पनि यिनी कुदिरहे । कसैको कुरासँग मतलब नराखेर कुदिरहन सक्ने यिनको जाँगरले यिनलाई सक्रिय, सबल, सफल साहित्यकार बनायो । यो जश ‘प्रेरणा’लाई मनमा राखेर कुदिरहन रुचाउने गोविन्द गिरीलाई दिनुपर्छ ।

गोविन्द गिरीको साहित्यिक सिर्जनाको मूल आधार सामाजिक विसङ्गति, विपन्नता, समय र परिवेश नै हो । थुपै्र ठाउँमा घुमेका, थुप्रै खालका मित्रहरू बनाइसकेका यिनी अमेरिकाजस्तो व्यस्त मुलुकमा नोकरी गरेर पनि सिर्जना, साधना, सम्पादन, गोष्ठीमा सक्रियतासाथ संलग्न रहेका छन् । धेरै लेखे, धेरै गरे तर थोरै मात्र सम्मान प्राप्त गरेका यिनले नारायणी वाङ्मय पुरस्कार २०४६ मा, युवावर्ष मोती पुरस्कार २०५४ मा, शिवप्रसाद उन्नयन पुरस्कार २०५३ मा, प्रतिभा युवा सम्मान २०५६ मा प्राप्त गरेका छन् ।

कथाबाट लेखन क्षेत्रमा लागेका यिनले २०४० मा ‘सुतेको समुद्र’ र २०४६ मा ‘अन्तराल’ कथासङ्ग्रह प्रकाशित गराएको देखिन्छ । उपन्यासहरूमा ‘उत्खनन’, ‘पाखण्ड पर्व’, ‘अन्तिम खाडल’, ‘महानगरीका सुन्दरीहरू’ देखा परेका छन् । कवितासङ्ग्रहमा ‘स्वप्नकथा जारी छ’ पहिलोचोटि प्रकाशित कवितासङ्ग्रह हो । सबै विधामा लेखेर, धेरै खालका कार्यक्रममा संलग्न रहेर पनि एकताका प्रेरणाले ‘सडकदेखि सडकसम्म’, ‘रातका बन्द आँखाहरू’, ‘हामी वसन्त खोजिरहेका छौं’ आदिमा अभिनयसमेत गरेका छन् । ‘वीरबलको खिचडी’मा अभियन गरेका यिनले ‘ब्रह्मपुर’ नाटक लेखन तथा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गर्दा यसको निर्देशन पनि यिनैले गरेका हुन् । यससम्बन्धमा उनले लेखेका छन्– ‘मैले नाटक एवं एकाङ्की पनि लेखेको छु, मैले लेखेको पूर्णाङ्की नाटक ब्रह्मपुर प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा मेरै निर्देशनमा मञ्चन भएको पनि छ ।’ साहित्यिक सिर्जनाका सबै विधामा व्याप्त रहेकै कारणले हो कि कसो धेरै लेखेर पनि यिनी थोरैमा सफल बने । क्रियाशीलता नै यिनको ठूलो त्याग तथा तपस्या हो भन्नुपर्छ । सक्रियता यिनको स्वभाव । लेखन यिनको धर्म र कर्म ।

केही महिना मात्र भयो बिदामा अमेरिकाबाट नेपाल आइपुग्दा एकदिन बनेपामा मकहाँ पनि यिनी आइपुगे । पारिजातको व्यक्तित्व र कृतित्वको बृहत् ग्रन्थ लेख्ने अभियानमा लाग्दालाग्दै यिनले पारिजातसँगको नजिक सम्पर्क रहेको व्यक्तित्व सम्झेर मसँग र मेरी जीवनसँगिनीसँग पनि अन्तर्वार्ता लिन बनेपासम्म आइपुगे । म त छक्क परेँ, अमेरिकाजस्तो व्यस्त मुलुकमा अत्यन्त व्यस्त रहेर पनि यिनले साहित्यलाई, पारिजातलाई अझ भनौं मलाई समेत मूल्यांकनको कसीमा राखेर बनेपासम्म आइपुगी आफ्नो साहित्यिक यात्राबाट प्रेरणा छोडेर गए । यही भेटको क्रममा ‘उसले रोजेको बाटो’ उपन्यासको मूल पात्र पूर्णमान श्रेष्ठ ‘नवरंग’लाई धुलिखेलमा लगेर चिनाइदिएँ र उनी प्रफुल्ल भएर अन्तर्वार्ता लिएर गए । यही क्रममा उदयपुरका कथाकार टङ्कबहादुर आलेमगरको कथासङ्ग्रह ‘लाग्छ आकाश खस्दै छ’ को पाण्ड्ुलिपि दिएर भूमिका लेखिदिन अनुरोध गरेँ । उनले अमेरिकाबाट भूमिका लेखी पठाइदिए । उनको यस खालका गतिविधि र सक्रियताले नै उनलाई सक्षम साहित्यकार गोविन्द गिरी प्रेरणा बनायो । उनको प्रेरणाबाट मैले पनि प्रेरणालाई मनभित्र बलियो गरी लुकाएँ ।

LEAVE A REPLY