भूकम्प अनुदान रकम वितरण सोमबारदेखि



नेपाल समाचारपत्र
भक्तपुर
भूकम्पपीडितलाई आगामी सोमबार ६ गतेदेखि पहिलो किस्ताको ५० हजार तोकिएको बैंकबाट प्रदान गरिने भएको छ। भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका उपसंयोजक दीपक पाठकले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गर्ने सबै प्रक्रिया पूरा गरेर सम्झौता भएकालाई आगामी सोमबार ६ गतेदेखि पहिलो किस्ताको ५० हजार तोकिएको बैंकबाट प्रदान गरिने बताउनुभयो।

अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाहरूले तोकेको बैंकबाट अनुदान रकम ५० हजार वितरण गरिने भनिए पनि सम्झौता भएकाहरूले अझै रकम पाउन सकेका छैनन्। भक्तपुरमा अहिलेसम्म २८ हजार ८ सय जनाको लाभग्राहीको सूचीमा नाम भए पनि छुटेका करिब पाँच हजारको गुनासो आउन सक्ने अनुमान गरिएको पाठकले जानकारी दिनुभयो।
भक्तपुरको ५ वटा नगरपालिकामा गत कात्तिक २५ गतेबाट शुरू भएको भूकम्पपीडितको आवास पुनर्निर्माण गर्न सम्झौतामा अनुदान नपाउने पीडितको गुनासो बढेको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यलयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न शुरु गरेको एकसाताको अवधिमा २ हजार ५७ जनाले अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएका छन्।

हालसम्म भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाहेकका पाँचवटा नगरपालिकामा सोचेभन्दा बढी गुनासो आएको र गुनासो आउने क्रम दैनिक बढ्दै गएको बताउनुभयो। मध्यपुर थिमि नगरपालिकाले आउँदो ७ गतेबाट मात्रै अनुदान सम्झौता शुरु गर्ने भएको छ भने अन्य पाँचवटा नगरपालिकामा हालसम्म ३ हजार ५ सय ९२ जनाले अनुदान सम्झौता गरेको र २ हजार ५७ जनाको गुनासो दर्ता भएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्