पश्चिम क्षेत्रकै प्रसिद्ध न्वागी मेला शुरू



नेपाल समाचारपत्र
गुल्मी
गुल्मी र बाग्लुङअन्तर्गत पाँैदीबासीको न्वागी मेला शुरू भएको छ। गुल्मी सिमानामा पर्ने बाग्लुङको खारा बजारमा मेला शुरू भएसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ। बाग्लुङको ग्वालीचौर गाविसको खारबजारमा शुक्रबारबाट सोमबारसम्म ४ दिन सञ्चालन हुने मेलामा सामान्य फलफूल पसलदेखि ठूला होटल व्यवसाय र झुला पिङलगायत झन्डै ७० वटा स्टल राखिने भएको छ। पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाका रूपमा परिचित न्वागी मेलालाई त्यस क्षेत्रका स्थानीयले एउटा व्यापारिक केन्द्रका रूपमा पनि लिने गरेका छन्।

मेलालाई मध्यनजर गरी विभिन्न स्थानबाट आआफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरू आउने गर्दछन्। मेलामा बढी मात्रामा फलफूलअन्तर्गत सुन्तला, होटल व्यवसाय, फेन्सी कपडा पसल तथा स्थानीयरूपमा उत्पादित कृषि उपजलगायतको कारोबार राम्रो हुने गर्दछ। यस वर्षको मेलामा १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको मेला समितिका कोषाध्यक्ष प्रदीप खरेलले जानकारी दिए। स्थानीयले न्वागी खाने समय मंसिर ३ गते, दिउँसो २ बजेर २ जाँदा दक्षिण दिशातर्फ उत्तम रहेको न्वागी मेला व्यवस्थापन समितिका सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिए।

कृषकहरूले उत्पादन गरेका नगदे, हिउँदे खाद्यान्न, बेमौसमीलगायतका कृषि प्रदर्शनीहरू प्रदर्शन गरेबापत कृषकलाई सम्मान गर्ने गरिएको पौंदी न्वागी मेला व्यवस्थापन समितिका सचिव आचार्यले जानकारी दिए। स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाई केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गरेका छन्।

खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ। दशकौंदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ। परापूर्व कालमा स्थानीयहरूले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो रहेको छ। मेलाको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सम्पन्न हुने गरेका छन्।
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रसिद्ध न्वागी पर्व बाग्लुङको ग्वालीचौर, जलजला, दगातुंडाँडा तथा गुल्मीको पौंदीअमराई, नेटा, दोहोली आदि गाविसका जनताको व्यापक सहभागिता रहने भए पनि यो न्वागी पर्व बाग्लुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षेत्रकै महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ। न्वागी पर्व बाग्लुङ, गुल्मी, प्युठान, गोरखा, लमजुङलगायत देशका विभिन्न भागमा पनि मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्