३ नगरसहित ८ वटा स्थानीय तह बनाउने प्रस्ताव



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा राज्य पुनर्संरचनाका क्रममा ३ नगरपालिका र ५ गाउँपालिकासहित ८ वटा स्थानीय तह बनाउने प्रस्ताव तयार गरिएको छ। स्थानीय तहको पुनर्संरचना जिल्लास्तरीय प्राविधिक सहयोग समितिलाई दोस्रोपटक प्राप्त भएको कार्यसर्त र कार्यविधिअनुरूप सो प्रस्ताव तयारी गरी आयोगमा पठाउन लागिएको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो।

अधिकतम सहमतिका आधारमा वैकल्पिक प्रस्तावसहित स्थानीय तहको पुनर्संरचना आयोगमा तयार पारेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी शेखर पौड्यालले बताउनुभयो। उहाँका अनुसार पुनर्संरचना आयोगमा जिल्लालाई प्राप्त कोटा ४ देखि ८ रहेकोमा ८ वटा मुख्य तह र ८ वटै वैकल्पिक प्रस्तावसमेत तयार गरेर आयोगलाई पठाइएको छ।

प्रस्तावअनुसार ३ वटा नगरपालिकामा बेंसीशहर, सुन्दरबजार र मध्यनेपाल रहेका छन्। जसमा बेंसीशहर नगरपालिकाको केन्द्र बेंसीशहर नै रहने प्रस्ताव गरिएको छ भने वडा सङ्ख्या ११ राखिएको छ। त्यसै गरी सुन्दरबजार नगरपालिकाको केन्द्र सुन्दरबजार र वडा सङ्ख्या ८ रहने भनिएको छ।
अर्को नगरपालिकामा मध्यनेपाल नगरपालिकाको केन्द्र भोर्लेटार तोकिएको र वडा संख्या १२ सिफारिस गरिएको छ। बेंसीशहरको केन्द्रका लागि विवाद नभए तापनि सुन्दरबजार र मध्य नेपालमा केन्द्रका बारेमा विवाद रहेको छ। हाल पनि नगरपालिका रहेका ती दुवै क्षेत्रले आ–आफ्नै क्षेत्रमा नगरपालिकाको केन्द्र हुनुपर्ने अन्यथा गाउँपालिकामा बस्न तयार रहेको बताउँदै आएका छन्।

सिफारिस गरिएका गाउँपालिकामा क्ब्होँला सोथार गाउँपालिकाको केन्द्र मालिङ तोकिएको छ। जसमा ९ वटा वडा हुने उल्लेख छ। यसै गरी मस्र्याङ्दी गाउँपालिकाको केन्द्र ङादीमा तोकिएको र ८ वटा वडा हुने भनिएको छ। अर्को दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरा तोकिएको छ। यसमा वडा संख्या ११ तोकिएको छ। यसको केन्द्रमा पनि विवाद रहेको छ। चितीबासीले चितीको तिलाहार केन्द्र हुनुपर्ने माग गर्दै आएका छन् भने दोर्दी करिडोरबासीले दोर्दी खोला आसपासमै केन्द्र हुनुपर्ने माग गरेका छन्।
उता, रागिनास गाउँपालिकाको केन्द्र तीनपिप्ले रहने र ९ वटा वडा हुने भनिएको छ। त्यस्तै, दूधपोखरी गाउँपालिकाको केन्द्र गौंडा रहने र ७ वटा वडा राख्न प्रस्ताव गरिएको प्राविधिक सहयोग समितिका संयोजक पौड्यालले बताउनुभयो।

उहाँका अनुसार वैकल्पिक प्रस्ताव पनि ८ वटा नै तयार गरिएको छ। विकल्प प्रस्तावमा बेंसीशहर नगरपालिकाको केन्द्र बेंसीशहर र वडा संख्या १३ हुने भनिएको छ। अर्को गाविसमा दुराडाँडा नगरपालिका र केन्द्र सुन्दरबजार हुने र वडा १२ हुने प्रस्ताव गरिएको छ। त्यसै गरी, मध्यनेपाल नगरपालिकाको केन्द्र भोर्लेटारमा वडा संख्या ९ रहने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्