भारतका विदेशमन्त्री सिकिस्त



नेपालका परराष्ट्रमन्त्रीद्वारा स्वास्थ्य लाभको कामना
नेपाल समाचारपत्र
काठमाडौं
भारतीय विदेशमन्त्री सुष्मा स्वराज मृगौला रोगको समस्यापछि अस्पताल भर्ना हुनुभएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको समस्या बुधबार मात्र सार्वजनिक भएको हो।

बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वयं स्वराजले आफ्नो मृगौला फेल भएको र अस्पतालमा उपचार जारी रहेको बताएपछि वास्तविकता सार्वजनिक भएको हो। उहाँको ट्वीटमा उल्लेख छ– ‘किड्नी फेल भएकाले म एम्स अस्पतालमा छु, अहिले डाइलेसस भइरहेको छ, किड्नी प्रत्यारोपण गर्ने विषयमा परीक्षण भइरहेको छ, भगवान् कृष्णले आशीर्वाद दिनेछन्।’

अस्वस्थताका कारण उहाँ केही समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन। गत महिना भारतमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा समेत स्वराज अस्वस्थताको कारण जनाउँदै अनुपस्थित हुनुहुन्थ्यो। दुवै मुलुकका परराष्ट्र मन्त्रीहरूले अध्यक्षता गर्ने सो बैठकमा भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले भारतीय पक्षको नेतृत्व लिनुभएको थियो। ६४ वर्षीया स्वराजलाई सुगर रोगको समेत समस्या रहेको बताइएको छ। यसैबीच नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत नै स्वराजको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्