रूपन्देहीमा डेंगुको जोखिम उच्च गतिमा फैलँदै



एक महिनामा ३५ संक्रमित फेला
यमलाल भुसाल, बुटवल
रूपन्देहीमा डेंगुको संक्रमण उच्च गतिमा फैलँदै गएको छ। यो वर्ष जिल्लामा ३६ जना संक्रमित फेला परेका छन्। जसमध्ये १८ जना बुटवल उपमहानगरपालिकाभित्रका हुन्। बुटवलको वडा नं ११ मा मात्रै ६ जना डेंगुको संक्रमित फेला परेका छन्। गत असोजमा १ जनामा देखा परेको यो रोग कात्तिक महिनामा थप ३५ जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। सिद्धार्थ नगरपालिकामा २, देवदह नगरपालिकामा १ जना डेंगुको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर केन्ट्रोल निरीक्षक शाहका अनुसार डेंगु संक्रमितमध्ये कात्तिक मसन्तासम्ममा ६ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको र अन्य उपचारपछि घर फर्केका छन्। यस वर्ष यो रोग देखिए तापनि बिरामीको ज्यान भने गएको छैन। ७ वर्ष पहिलेदेखि रूपन्देहीमा यसको संक्रमण बढ्दै गएकोमा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ। विसं २०६७, ०६८ मा २ सय ९० जनामा यो संक्रमण देखिएकोमा ४ जनाको ज्यानसमेत गएको थियो।

२०६८⁄०६९ मा ५ जना, २०६९⁄०७० मा २५ जना, २०७०⁄०७१ मा १२ जना र २०७१⁄०७२ मा ९ जनामा डेंगुको संक्रमण फेला परेको थियो। यो वर्ष कात्तिक मसान्तसम्ममा ३६ जना नयाँ संक्रमित फेला परेका हुन्। ‘हामीले मौरी पालेझैं लामखुट्टे पनि नजानिँदो तरिकाले घरभित्रै पालेका छौं’, जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर केन्ट्रोल निरीक्षक शाहले भन्नुभयो– ‘यसले नै हामीलाई सिध्याउँछ समयमै सचेत बनौं।’ उहाँले रूपन्देही डेंगुको उच्च जोखिममा रहेकाले सबै समयमै सचेत बन्नुपर्ने बताउनुभयो।

बुटवल आसपासका क्षेत्रमा डेंगुको संक्रमण बढ्दै जाँदा यहांँका बासिन्दामा समेत त्रास फैलिएको बुटवल मिलनचोक मणिपथका विष्णु केसीले बताउनुभयो। लामखुट्टेले गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डब्बा, अलकत्रा ड्रम तथा पुराना टिनका भाँडाहरू, एयर कुलर, पानी राख्ने ड्रमहरूमा फूल पार्ने गर्दछ। डेंगुको संक्रमितका बारेमा बुटवल उपमहानगरका साविक १५ वटा वडामा घरदैलो गरी सचेतना फैलाउने काम गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।

घरदैलोमा १ सय ४० जना स्वास्थ्य स्वयंसेविका र २० जना स्वास्थ्यकर्मी परिचालित भएका थिए। शरीरका छालाहरूमा रगत जमेका जस्ता दागहरू देखा परेमा, नाक तथा गिजाबाट रगत बगेमा, पेट दुख्नु वा कालो दिसा आएमा डेंगु लागेको हुन सक्ने भन्दै सचेत रहन चिकित्सकले सुझाएका थिए। डेंगु एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो। यस प्रकारको लामखुट्टेले सफा पानीमा फूल पार्ने गर्दछ। रूपन्देहीमा डेंगु ज्वरो बढ्ने क्रम रहेको र पुस महिनासम्म आइरहने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्