अख्तियारका चार आयुक्त पनि धरापमा



नेपाल समाचारपत्र
काठमाडौं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
नागार्जुन नगरपालिका–८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट निवेदनमा अख्तियारका चार आयुक्तहरू दीपकुमार बस्न्यात, डा. सावित्री थापा गुरुङ, डा. गणेशराज जोशी र नवीनकुमार घिमिरेको आयुक्त हुनका लागि योग्यता नपुगेको दाबी गरिएको छ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११९ (५) (ग) मा अख्तियारका आयुक्त हुनका लागि लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष काम गरी अनुभव वा ख्याति कमाएको हुनुपर्ने स्पष्ट गरिएको छ। रिट निवेदनमा ती चार जना आयुक्तहरूमध्ये कसैको पनि ती विषयमा अनुभव वा ख्याति नभएको उल्लेख गरिएको छ।

अख्तियारको वेबसाइटमा राखेको योग्यताअनुसार ती चार जना आयुक्तहरूमध्ये कसैको पनि लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा योग्यता भएको नदेखिएको रिट निवेदनमा उल्लेख गरिएको छ।

वबसाइटमा ती चारै जनाको २० वर्षभन्दा बढी सरकारी नोकरी गरेको भनी उल्लेख गरिएको छ। रिट निवेदनमा २० वर्ष सरकारी नोकरी गर्दैमा लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कार्य गरेको भन्न नमिल्ने दाबी गरिएको छ। ती चारै जना आयुक्तहरू नेपालको संविधान आउनुभन्दा अघि नेपालको अन्तरिम संविधान, २०६३ को प्रावधानबमोजिम अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको हो।

अख्तियारका अधिकारविहीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पनि सो पदमा नियुक्त हुनका लागि योग्यता नभएको उल्लेख गरी दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन गर्दै छ। अख्तियारका अर्का आयुक्त राजनारायण पाठकविरुद्ध भने रिट निवेदनमा कुनै पनि चर्चा गरिएको छैन। उहाँले लामो समयसम्म कानुनको क्षेत्रमा कार्य गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्