दक्षिण अफ्रिकाले टेस्ट सिरिज जित्यो



लन्डन, (एजेन्सी)दक्षिण अफ्रिकाले दोस्रो टेस्ट एक इनिङ र ८० रनले जितेपछि अस्ट्रेलियाविरुद्धको तीन खेलको टेस्ट सिरिज हात पारेको छ।होबार्टमा मंगलबार चौथो दिनको खेलमा अस्ट्रेलिया १ सय ६१ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले सिरिज जितेको हो। यो भ्रमणकारी टोलीको अस्ट्रेलियाको भूमिमा लगातार तेस्रो टेस्ट सिरिज थियो। यसअघि २००८–०९ र २०१२–१३ मा दक्षिण अफ्रिकाले टेस्ट सिरिज हात पारेको थियो।

अस्ट्रेलियाले १२१–२ को स्थितिबाट खेल शुरु गरेको थियो। तर घरेलु टोलीले २० ओभरमा बाँकी आठ विकेट मात्र ३२ रनका लागि गुमाएको थियो। यो नतिजासँगै अस्ट्रेलियाले लगातार पाँचौं टेस्टमा हार आत्मसात गर्यो भने लगातार दोस्रो टेस्ट सिरिज पनि गुमायो। यसअघि कप्तान स्टिभ स्मिथको टोलीले श्रीलंकामा तीन टेस्टको सिरिज ३–० ले हारेको थियो।
हिजोको दिनमा पहिलो रन जोड्न ४० मिनेट समय लगाएका स्मिथले भने– ‘म लज्जित भएँ। हामीले लगातार पाँच टेस्ट हार्यौं।’

दक्षिण अफ्रिकाका काएल एबोटले अस्ट्रेलियन ब्याटिङ ध्वस्त बनाउन प्रमुख भूमिका खेलेका थिए। उनले अस्ट्रेलियाको दोस्रो इनिङमा ७७ रन दिएर ६ विकेट लिएका थिए। त्यस्तै कागिसो राबाडाले ३४ रन खर्चेर चार विकेट हात पारेका थिए। यसअघि पहिलो इनिङमा पनि दक्षिणी अफ्रिकी बलरले घातक बलिङ गरेर अस्ट्रेलियाको ब्याटिङ ८५ रनमा समेटेका थिए। अस्ट्रेलियाका तर्फबाट ख्वाजाले सर्वाधिक ६२ रन जोडेका थिए।

दक्षिण अफ्रिकाले पहिलो टेस्ट पर्थमा १ सय ७७ रनले जितेको थियो। आगामी तेस्रो तथा अन्तिम टेस्ट एडेलेड ओभरमा नोभेम्बर २४ देखि शुरु हुनेछ। दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसीसीले तेस्रो टेस्ट पनि जितेर ≈वाइटवास गर्न चाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्