संस्कृत विश्वविद्यालय आयुर्वेद चिकित्साको पढाइ अस्तव्यस्त



नरेन्द्र केसी, घोराही, दाङ
नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानअन्तर्गत बिजौरीमा सञ्चालित आयुर्वेद चिकित्सा स्नातक (बीएएमएस) को पढाइ अस्तव्यस्त हुने स्थिति सिर्जना भएको छ। ६ वर्षअगाडि दाङमै आयुर्वेद डाक्टरको अध्ययन अध्यापन शुरु हुँदा उत्साह र जाँगर देखिएको थियो तर अहिले अन्योल र आशंका सिर्जना हुन थालेको छ।

साढे चौबीस करोडको लागतमा निर्माणाधीन आयुर्वेद शिक्षण भवनको निर्माणकार्य अन्तिम चरणमा पुगे पनि ठेकेदारलाई भुक्तानी दिन नसकिएको अवस्था छ। ठेकेदारबाट छिटो काम सम्पन्न गराएर भवन हस्तान्तरण नहँुदा पठनपाठनलगायत अन्य प्रशासनिक काममा समेत अप्ठेरो स्थिति सिर्जना भएको आयुर्वेद अध्ययन संस्थानका डीन डा. सञ्जय पोख्रेलले बताउनुभयो।

विश्वविद्यालय अुनदान आयोगले भवन निर्माणको सम्पूर्ण रकम नेपाल संस्कृत विश्वविद्यालयलाई पठाइसके पनि आयुर्वेद अध्ययन संस्थानमा रकम निकासा नभएको सम्बद्ध स्रोतले बताएको छ। अनुदान आयोगबाट प्राप्त भएको रकम नेसंविले अन्य शीर्षकमा खर्च गरिसकेको स्रोतले बतायो। यस विषयमा नेसंविका कुलसचिव कार्तिकेय झासँग सम्पर्क गर्दा यस सम्बन्धमा आफूलाई केही थाहा नभएको जवाफ दिनुभयो। सबै काम डीन कार्यालयबाट भएकाले उतै सोध्नुपर्ने उहाँको भनाइ थियो।

आयुर्वेद स्नातक (बीएएमएस) को कक्षा सञ्चालन गर्नका लागि शिक्षकहरूको समेत अभाव छ। हरेक वर्ष विद्यार्थीहरूको संख्या बढिरहे पनि त्यसअनुरूप शिक्षकहरू नियुक्त भएका छैनन्। अहिले एमडी गरेका ५÷६ जना र बीएएमएस गरेका ३ जना शिक्षकहरूबाटै पठनपाठन भइरहेको छ। गत भदौमा कान्तिपुर दैनिकमा विज्ञापन गरी शिक्षकहरूको आवश्यकता माग गरिए पनि छनोट हुन सकेको छैन। विश्वविद्यालयको कार्यकारी परिषद्ले काम गरिरहेका शिक्षकहरूको करार नवीकरण नगर्ने, गरे पनि कसैको गर्ने, कसैको नगर्ने गर्दा पठनपाठन असहज बन्न थालेको छ।

बीएएमएसको पठनपाठन अस्तव्यस्त भन्दै विद्यार्थीहरू आक्रोशित भएका छन्। अहिले पाँचौं ब्याचको पढाइ भइरहेको र छैटौं ब्याज भर्ना गर्ने तयारी भए पनि पठनपाठन अस्तव्यस्त रहेको विद्यार्थी पारत बस्नेतले गुनासो गर्नुभयो। ‘कक्षाको रुटिन बन्न ६ महिना लाग्छ, साढे पाँच वर्षको कोर्स पूरा गर्न हामीलाई ९ वर्ष लाग्ने देखिएको छ’, उहाँले भन्नुभयो– ‘विश्वविद्यालयका पदाधिकारीको खिचातानीले उहाँहरूको राजनीतिक त सप्रला तर हाम्रो भविष्य बिग्रने भयो।’

आयुर्वेद अध्ययन संस्थानका डीन डा. सञ्जय पोख्रेलले पनि विद्यार्थीहरूको गुनासो जायज भएको उल्लेख गर्दै पदाधिकारीहरूको खिचातानीले विद्यार्थीहरूको भविष्य अन्योलमा पर्ने खतरा रहेको बताउनुभयो। पूर्वाधार र जनशक्तिको तयारीबिना पढाइ शुरु गरिनु र त्यसपछि लगातार पदाधिकारीले संस्थानमाथि हस्तक्षेप गर्दा समस्या आएको उहाँले बताउनुभयो। अहिले बीएएमएसमा ९२ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्