मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड



प्रकाश पन्त, वीरेन्द्रनगर
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन्। इन्जिनियरिङ संकायका विद्यार्थीले विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन्।

विभिन्न माग राखी आन्दोलन गरिरहेको विद्यार्थीले मंगलबार दिउँसो सवा १२ बजेतिर कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ। विस्तारित कार्यालय र भिसी निवासमा प्रवेस गरी विद्यार्थीले कुर्सी, टेबल र उपकुलपति चढने गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरूले कार्यालय र निवासमा तोडफोड गर्न थालेपछि बाथरुममा नुहाइरहेका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालालाई कर्मचारीले बाहिरबाट ताला लगाएर बचाएको जानकारी दिएका छन्। एक कर्मचारीले भने– ‘विद्यार्थीहरू तोडफोड गदै भित्र पसेपछि उपकुलपतिलाई केही गर्छन् कि भन्ने डरले ताला लगायौं। ताला लगाएपछि उनीहरूले कार्यकक्षका कुर्सी, टेबल तोडफोड गरे।’

उपकुलपति कोइरालाले मागहरू पूरा हुने डरले केही विद्यार्थीले कार्यालयमा तोडफोड गरेको बताउनुभयो। यो आन्दोलन विश्वविद्यालय सुधारका लागि हैन, यो अवरोध गर्नका लागि मात्रै हो। तोडफोडमा इन्जिनेरिङ संकायका केही विद्यार्थीको मात्रै संलग्नता रहेको उपकुलपति कोइरालाले दाबी गर्नुभयो।

इन्जिनेरिङ संकायका विद्यार्थीको माग यस्तो छ परीक्षा समितिले गरेको निर्णयअनुसार सेमेस्टर परीक्षामा ५० प्रतिशत अनुत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, उत्तरपुस्तिका परीक्षण गर्दा समपरीक्षणको व्यवस्था हुनुपर्ने, इन्जिनेरिङ संकायमा अनुभवी र पूर्णकालीन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि भइरहेको शैक्षिक शुल्क खारेज गर्नुपर्नेलगायतका माग रहेका छन्।

प्रतिक्रिया दिनुहोस्