नेपाली चलचित्रमा प्रवासी नायिकाहरू



(नरेन्द्रमान श्रेष्ठ) नेपाली चलचित्रहरूमा थुप्रै सीमापारिका कलाकारले अभिनय गरिसकेका छन् । त्यसो त नेपाली सिनेमामा सीमापारिका कलाकर्मीहरूको पनि योगदान रहेको पाइन्छ । नेपाली सिनेमाको निर्माणको जग पनि प्रवासबाट भएको हो । वि.सं. २००७ तिर प्रवासका केही नेपालीले नेपाली सिनेमा सत्य हरिश्चन्द्रको निर्माण गरेका थिए । यसका निर्माता निर्देशक डीबी परियार थिए । नेपाली सिनेमा निर्माणको श्रेय प्रवासी नेपाली डीबी परियारलाई जान्छ । पहिलो नेपाली भाषाको सिनेमा ‘सत्य हरिश्चन्द्र’को प्रदर्शन २००८ सालमा भारतको कलकत्तामा भएको थियो ।

यसको १४ वर्षपछि मात्र नेपालमा नेपाली सिनेमाको निर्माण शुरु भएको थियो । नेपालमा बनेको पहिलो नेपाली सिनेमा ‘आमा’ हो । जुन बेला नेपालमा नेपाली सिनेमा कम मात्र बन्थे, त्यो समयमा सीमापारि दार्जीलिङबाट पनि नेपाली सिनेमाहरू निर्माण हुने गरेका थिए । तीसको दशकमा दार्जीलिङमा केही नेपाली सिनेमा बनेका थिए । यस कारणले पनि नेपाली सिनेमाको विस्तारमा प्रवासी नेपालीको पनि योगदान रहेको देखिन्छ । प्रवासले नेपाली सिनेमालाई थुप्रै कलाकर्मीहरू दिएको छ । त्यस बेला नेपाली सिनेमामा केही प्रवासी नायिकाहरू देखा परे भने केही नायिकाहरू कलिउडमा प्रवेश गरे ।

नेपालमा निर्माण भएको पहिलो निजी स्तरको नेपाली सिनेमा ‘माइतीघर’ हो । २०२२ सालतिर बनेको नेपाली सिनेमा ‘माइतीघर’ व्यावसायिक रुपमा पनि सफ्mल सिनेमा हो । माइतीघरकी नायिका त्यस बेला बलिउडमा चर्चित बलिउड स्टार माला सिन्हा हुन् । तर उनले माइतीघरपछि नेपाली सिनेमामा अभिनय गरिनन् । दार्जीलिङमा बनेको प्रवासी कलाकर्मी तुलसी घिमिरेले निर्देशन गरेको नेपाली सिनेमा बाँसुरीमा बलिउड नायिका रजनी शर्माले नायिका भएर अभिनय गरिन् । नायिका रजनी शर्माले बाँसुरीपछि प्रवासी निर्देशक प्रताप सुब्बाले निर्देशन गरेको नेपाली सिनेमा मशालमा नायिका भएर अभिनय गरिन् ।

कलिउडमा प्रवासी नायिकाहरूलाई प्रवेश गराउनेमा निर्देशक तुलसी घिमिरे र निर्देशक शम्भु प्रधान अगाडि छन् । निर्देशक शम्भु प्रधानले प्रवासमा बनाइएको नेपाली सिनेमा सम्झनामा प्रवासी नायिका तृप्ती नाडकरलाई नायिका बनाए । त्यसपछि नायिका तृप्तीले नेपाली सनेमा कोसेली, कुसुमे रुमाल, साइनो, लाहुरे, आमाको मायामा अभिनय गरिन् । नेपालमा सिनेमा निर्माणमा चालीसको दशकदेखि तीव्रता आएको हो भन्दा पनि हुन्छ । प्रवासमा निर्देशक प्रताप सुब्बाले निर्देशन गरेको नेपाली सिनेमा कहीँ अँध्यारो कहीँ उज्यालोकी नायिका राजश्री क्षेत्रीलाई वरिष्ठ चलचित्रकर्मी निर्देशक चेतन कार्कीले नेपाली सिनेमा विश्वासमा नायिकामा प्रस्तुत गरे । नायिका राजश्रीले सिनेमा विश्वासपछि अरु नेपाली सिनेमामा काम गरिनन् ।

प्रवासी नायिकाहरूमा कलिउडमा लोकप्रिय र सफ्mल नायिकामा निरुता सिंह हुन् । उनलाई तुलसी घिमिरेले कलिउडमा प्रवेश गराएका थिए । प्रवासमा बनाएको नेपाली सिनेमा दक्षिणाबाट नायिका निरुता सिंह नेपाली सिनेमामा देखा परेकी हुन् । नेपाली सिनेमा दक्षिणापछि नायिका निरुता कलिउडमा स्थापित भइन् । उनले रहर, चाँदनी, आफ्नो मान्छे, माइली, माइती, आफ्mन्त, दर्पण छाया आदि कलिउडका सिनेमामा अभिनय गरिन् । नायिका उनी कलिउडमा पचासको दशककी लोकप्रिय नायिका हुन् । तर पछिलो समयमा भने नायिका निरुता सिंह कलिउडमा देखा परेकी छैनन् ।

धेरैजसो प्रवासी नायिकाहरू कलिउडमा त्यति सफ्mल हुन सकेका छैनन् । धेरैजसो प्रवासी नायिकाहरू एक–दुईवटा सिनेमामा नायिका भएर काम गरी कलिउडबाट टाढिएका छन् । चालीसको दशकमा चलचित्र अन्यायमा नायिका भएर कलिउडमा प्रवेश गरेकी नायिका मीरा माधुरी, चलचित्र बाँसुरीकी रजनी शर्मा, कोसेलीकी भारती घिमिरे आदि प्रवासी नायिकाहरूले एक–दुई कलिउडका सिनेमामा मात्र काम गरे । त्यसै गरी प्रवासका चलचित्रकर्मी शम्भु प्रधानले प्रवासी नायिकाहरू तृप्तीलाई चलचित्र सम्झना नायिका ईश्वरी प्रधानलाई चलचित्र सोह्र वर्षे जोवन, नुतन प्रधानलाई चलचित्र सकली नकली, मोनाली सिंहलाई चलचित्र सम्पत्तिबाट कलिउडमा प्रवेश गराएका हुन् ।

कलिउडको सिनेमामा प्रवेश गर्नको लागि मेचीपारि दार्जीलिङबाट नायिका सुष्मिता बजमन नेपाल पसेकी हुन् । नेपाली सिनेमामा नायिका बन्नुभन्दा पहिले उनी नायक भुवन केसीसँग एउटा विज्ञापन फ्mिल्ममा काम गरेर ग्ल्यामर क्षेत्रमा प्रवेश गरिन् । उनले पछि नायक भुवन केसीसँग विवाह गरिन् । विवाहपछि आफ्नो प्रोडक्सनको सिनेमामा मात्र काम गरेकी नायिका सुष्मिताले सिनेमा करोडपति, नेपाली बाबु, सुपरस्टार, म तिमीबिना मरिहाल्छुमा नायिका भएर काम गरिन् । पछिलो समय भुवन केसीसँग अलग्गिएर बसेकी सुष्मिताले चलचित्र निर्माण पनि गरिसकेकी छन् । त्यसै गरी नेपाली सिनेमामा नायिका बन्न नेपाल पसेकी र विगतमा विभिन्न कारणले सधैँ विवादमा परिरहने नायिका, मोडेल एवम् गायिका पूजा लामाले चलचित्र पापी, एकता आदि चलचित्रमा नायिका भएर काम गरिन् ।

पछिल्लो समयमा नेपाली सिनेमामा देखा परेकी नायिका हुन् उमा बेबी र त्रिशाला तामाङ । नेपाली सिनेमा इशारा, शिशा आदि सिनेमामा नायिका उमा बेबी चलचित्र निर्माता पनि हुन् । चलचित्र सन्डेकी नायिका त्रिशाला सिक्किमी नायिका हुन् । विगतमा कलिउडमा देखा परेकी नायिका रज्जु लामिछानेले नेपाली सिनेमा बसाइ, डर, आँधी तुफानमा कार्य गरिन् ।

त्यसै गरी शोभित बस्नेतको चलचित्र मिशन लभ इनमा सिक्किमकी रुश्मा राई, चलचित्र कन्यादानमा सिनोरा मिश्री पनि प्रवासी नायिकाहरू हुन् । नेपाली सिनेमामा काम गरेका धेरैजसो प्रवासी नायिकाहरूले कलिउडमा स्थापित हुन त के, यहाँका चलचित्रमा निरन्तरतासमेत दिन सकेनन् । त्यसैले पछिल्लो समयमा नेपाली चलचित्रमा प्रवासी नायिकाहरू त्यति देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्