संविधान संशोधनको औचित्य पुष्टि गर्न चुनौती



नेपाल समाचारपत्र
अछाम
पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्रीलाई संविधान संशोधनको औचित्य पुष्टि गर्न चुनौती दिनुभएको छ। अहिले संविधान संशोधनको समय नभएर संविधान कार्यान्वयन गर्ने बेला भएको बताउँदै रावलले वर्तमान सरकारलाई संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि गर्न चुनौती दिनुभएको हो।

प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले शनिबार अछाम सदरमुकाम मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले वर्तमान प्रधानमन्त्री दाहाल विदेशीहरूका इच्छा आकांक्षा पूरा गर्नतर्फ मात्र लागेको आरोप लगाउनुभयो। वर्तमान सरकार तथा स्वयम् प्रधानमन्त्री दाहाल नै विदेशीहरूलाई नेपालमा अंगीकृत नागरिकता दिएर उनीहरूलाई राज्यका प्रमुख पदहरू दिनतर्फ लागिपरेको उहाँले बताउनुभयो। अंगीकृत नागरिकलाई राज्यका प्रमुख पदहरू दिइनुपर्छ भन्ने माग आफूहरूको नभएको मधेसवादी दलहरूले बताउँदा–बताउँदै पनि वर्तमान प्रधानमन्त्रीले कुनै विदेशीलाई खुसी पार्न आफूखुसी अंगीकृतलाई मुख्य पदहरू दिने गरी संविधान संशोधन गर्ने तयारी गरिरहेको उहाँको आरोप छ।

वर्तमान सरकार कूटनीतिक रूपमा पूर्णतः असफल भएको बताउँदै उहाँले भारतका राष्ट्रपति नेपाल आउँदा बिदा दिइनुले नेपालको शिर झुकेको बताउनुभयो। नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका पूर्वउपप्रधान तथा रक्षामन्त्री रावलले संविधान संशोधनको माग गरिरहेका दल तथा सरकारलाई संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि गर्न चुनौती दिनुभयो। कसैको इच्छा चाहना पूरा गर्न संविधान संशोधन हुनै नसक्ने बताउँदै उहाँले अहिले संविधान संशोधनको कुनै आवश्यकता नरहेको बताउनुभएको छ। वर्तमान सरकारले चुनाव नगर्ने खेलमा लागेको उहाँको आरोप छ। आफूहरू सरकारमा हुँदा निर्वाचन कार्यतालिकासहित सरकारका काम कारबाहीहरू समेटिएको कार्यतालिका ल्याएको बताउँदै रावलले अहिलेको सरकारले विगतको निरन्तरताबाहेक कुनै पनि नयाँ काम नगरेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्