chunauti

चुनौतीले भरिएको लज्जा ल्याइँदै

कलिलो उमेरमै फिल्म निर्देशन गरी तस्वीर, श्रीमान् र महसुसजस्ता सार्थक र उत्कृष्ट फिल्म दिएका निर्देशक नवल नेपालद्वारा निर्देशित पछिल्लो फिल्म लज्जा अब अल नेपाल रिलिज हुने भएको छ। भोलि शुक्रबारदेखि यो फिल्म देशभरबाट रिलिजमा आउने भएको छ।
लज्जा आफैंमा संवेदनशील शब्द भएकाले संयमित भएर नेपाली संस्कार, संस्कृति र मर्यादाभित्र रहेर एउटा मनोरञ्जनात्मक र भावनात्मक फिल्म बनाएको छु, फिल्म रिलिजको पूर्वसन्ध्यामा नेपाल समाचारपत्रसँग कुरा गर्दै निर्देशक नेपालले भने– ‘यो फिल्म त्यस्तो नारीको विषयमा केन्द्रित छ, जो कैयन् अप्ठइरो र समस्याको सामना गरेर पनि संयमित भएर जीवनलाई अगाडि बढाउँछे। जब उसलाई मर्यादाबाहिर पुर्याइन्छ समाज कसरी तरंगित हुन्छ भन्ने यसमा देखाउने प्रयास गरेको छु।’ नवलले थपे– ‘फिल्म उत्कृष्ट बनेको छ भन्ने हामीलाई लागेको छ। यो अहिले हामी भनिरहेका छौं। फिल्म हेरिसकेपछि दर्शकले पनि भन्नेछन्।’
लज्जाको रिलिज यसका निर्देशक, निर्माता, नायक र नायिका सबैका लागि चुनौतीको विषय बनेको छ। कारण के भने निर्देशक नेपालका हालसम्मका फिल्म उत्कृष्ट ठहरिएका छन् र दर्शकले पनि मन पराएका छन्। त्यसैले यो फिल्म पनि सफल हुनु उनका लागि अनिवार्य भएको छ। अर्कातिर सधैं हिट फिल्म दिँदै आएका निर्माता छवि ओझाको अघिल्लो फिल्म लोफर सोचेजस्तो हुन सकेन। त्यसैले यसलाई सफल सावित गर्न उनलाई पनि चुनौतीकै विषय भएको छ। त्यस्तै धेरै फिल्मले असफलताको परिणाम देखाइरहेका बेला यसका नायक आर्यन सिग्देलको केहीअघि रिलिज भएको नोभेम्बर रेन र लज्जाकै निर्देशक नेपालद्वारा निर्देशित महसुस हिट फिल्ममा दरिएको छ। यसर्थ यो फिल्म पनि हिट हुनु आर्यनका लागि जरुरी पक्ष भएको छ।
सबैभन्दा बढी चुनौती छ यसकी डेब्यु नायिका शिल्पा पोखरेललाई। किनभने सयौं म्युजिक भिडियोमा उत्कृष्ट कला प्रदर्शन गर्दै म्युजिक भिडियो क्षेत्रकी ग्ल्यामर क्वीनको उपमा पाएकी उनी सिस्नोको झ्यांगमा छोए जसरी म्युजिक भिडियोबाट सेल्युलाइड फिल्ममा प्रवेश गरेकी छिन्। यो फिल्मको सफलता र असफलताबाटै शिल्पाको करियर निर्धारण हुने भएकाले लज्जाको रिलिज सबैभन्दा बढी चुनौतीको विषय उनलाई हुन गएको छ।
यति भइकन पनि निर्माता ओझा भने ढुक्क देखिन्छन्। ‘प्रोडक्ट राम्रो बनेको छ, त्यसैले ढुक्क छु –उनी भन्छन्। निर्माता ओझाको होम प्रोडक्सन छविराज प्रोडक्सनको ब्यानर र दिजेन्द्र शाक्यको निर्माणमा निर्माण भएको फिल्ममा लेखन निर्देशक नेपालकै छ भने संगीत चेतन सापकोटा, नृत्य कविराज गहतराज, द्वन्द्व चन्द्र पन्त, छायांकन मदनकश्यप घिमिरे र सम्पादन अनन्त थपलियाको रहेको छ।
सामाजिक, पारिवारिक पृष्ठभूमिको फिल्ममा आर्यन र शिल्पाका साथमा मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतम, कमलमणि नेपाललगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

घूस लिँदालिँदै अधिकृत समातिए

काठमाडौं, (नेस)
कृषि अनुसन्धान परिषद्को गाई अनुसन्धान कार्यक्रमअन्तर्गतका एक अधिकृतलाई बुधबार २ लाख ५ हजार रुपियाँ घूस लिँदालिँदै प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीसँग घूस लिँदालिँदैको अवस्थामा प्रहरीलगायतको एक टोलीले गाई पूजाको अघिल्लो दिन गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो।
चितवनमा गाई राख्नका लागि निर्माण गर्न लागिएको भवनवापत दिनुपर्ने रकम नदिएर ठेकेदारलाई लेखा अधिकृत श्रेष्ठले अड्काई राखेको आरोप लगाइएको छ। पछि आफूलाई केही रकम दिएबापत रकम तत्काल भुक्तानी दिने श्रेष्ठद्वारा बताइएको थाहा भएको छ।
सम्बद्ध स्रोतबाट थाहा भएअनुसार सरकारी कार्यालय परिषद्ले ठेकेदारलाई गाई राख्नका लागि बनाइएको घरबापत १६ लाख ९२ हजार दिनुपर्ने देखिएको थियो। आफूलाई केही रकम दिए मात्र चेक बनाइदिने भनिएको पाइएको छ।

पछि २ लाख ५० हजार रुपियाँ दिने गरी दुई पक्षबीच कुराकानी भएको बताइएको छ। ठेकेदारले सो बारेमा सम्बन्धित निकायमा उजुरी गरेपछि प्रहरीलगायतको टोलीले त्यसमा निगरानी गरेपछि बुधबार घुस लिएका भनिएका लेखा अधिकृत श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको हो।
श्रेष्ठलाई २ लाख ५ हजार रुपियाँसहित रंगेहात पक्राउ गरिएको हो। कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान परिषद्मा नै श्रेष्ठलाई २ लाख ५ हजार रुपियाँ लिँदालिँदै समातिएको हो।
चितवनमा गाई राख्ने भवन बनाउनका लागि रकम छुट्इइएको भए पनि लामो समयसम्म सो रकम नदिई रोकेर राखिएको र बाध्य भएर सम्बन्धित निकायमा उजुरी गर्नुपरेको सम्बन्धित पक्षको गुनासो रहेको छ। रकमसहित रंगेहात पक्राउ परेका लेखा अधिकृत श्रेष्ठलाई हाल टंगालस्थित थुनुवा राख्ने घरमा राखिएको छ। श्रेष्ठको वीर अस्पताल लगी स्वास्थ्यस्थिति पनि बुझिएको बताइएको छ।

पर्यटन बोर्डमा ५० करोड भन्दा बढी भ्रष्टाचार

टंक पन्त
काठमाडौं
सार्वजनिक लेखा समितिले पर्यटन क्षेत्रको विकास र संवद्र्धनका लागि गठित सरकारी संस्था पर्यटन बोर्डमा ५० करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको छ।
केही दिनदेखि छानविन गर्ने क्रममा सम्बद्ध निकाय र सरकारका जिम्मेवार पक्षसँग छलफल र प्रश्न गरेपछि बुधबार बसेको लेखा समितिको बैठकले सर्वसम्मत रूपमा पर्यटन बोर्डमा अनियमितता भएको निष्कर्ष निकाली पर्यटन बोर्डका कामुकार्यकारी निर्देशक सुवास निरौलालाई तत्काल पदीय जिम्मेवारीबाट मुक्त गर्न र पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्षसहित अन्य जिम्मेवार पदाधिकारी तथा सदस्यलाई पनि कारबाही प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पर्यटन बोर्डका बारेमा थप अनुसन्धान गरी विगतमा अनियमितता गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। लामो छलफलपछि निष्कर्ष तयार गरी बैठकमा पेस गर्न अघिल्लो बैठकले सभापति जनार्दन शर्माको नेतृत्वमा ५ सदस्यीय कमिटी बनाएको थियो। समितिको बैठक बस्नुअघि बसेको सो कमिटीको बैठकले प्रतिवेदन तयार गरेको थियो।
प्रमुख दलका सदस्यहरूसमेत रहेको कमिटीले पेस गरेको प्रतिवेदन समितिका सभापति शर्माले बैठकमा प्रस्तुत गर्नुभएपछि बैठकले सर्वसम्मत रूपमा पारित गर्दै सम्बद्ध निकायलाई निर्देशन दिएको छ। बोर्डको नियमित प्रचारप्रसार गतिविधिमा कार्यकारी प्रमुखले देशभित्र १ पटकमा १ करोड र देशबाहिर ४ लाख अमेरिकी डलर विनाप्रतिस्पर्धा खर्च गरेको पाइएको छ।
त्यसै गरी सार्वजनिक खरिद ऐनको ठाडो रूपमा उल्लंघन भएको, स्वदेश र विदेश भ्रमणमा जाँदा विनाप्रमाण र औचित्य लाखौं खर्च गर्ने गरेको, विदेशमा जाँदा फर्जी बिल बनाउने गरेको, बैंकमार्फत कारोबार नगर्ने गरेको, लेखापालनको सिद्धान्तलाई पूरै बेवास्ता गरिएकोजस्ता थुप्रै प्रश्नहरू समितिले उठाएको छ।
समितिले प्रमाणसहित कहाँ अनियमितता भएको हो, कहाँकहाँ सार्वजनिक खरिद ऐनविपरीत कार्य भएको छ र कहाँ कुन निर्णयमा मन्त्री र सचित्र पनि आबद्ध भएका छन् भन्ने कुरासमेत निर्णयमा राखेको समितिका सभापति जनार्दन शर्माले जानकारी गराउनुभएको छ। बोर्डको १९२औं बैठकले १ करोड २० लाख तिर्नुपर्ने दायित्वको सट्टा ७ करोड ४० लाख तिर्नुपर्ने दायित्व स्वीकृत गरी खर्च गर्ने अधिकार सिर्जना गरेको बैठकको निष्कर्ष रहेको छ। पर्यटनसँग सम्बन्धित नेपाल पर्यटन बोर्ड, टान र नेमाबीचको अन्तरसबन्ध, राजस्व बाँडफाँड खर्च प्रक्रिया लेखापालन तथा लेखा परीक्षण प्रक्रियालाई जवाफदेहिता र उचित नियमनको व्यवस्था प्रस्ट हुने गरी राजस्व संकलनसमेत आर्थिक ऐननियमबमोजिम विनियमावलीमा संशोधन गर्न समितिले निर्देशन दिएको छ।

समितले खुला प्रतिपष्र्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन सरकारलाइ निर्देशन दिएको छ।
समितिले गरेको निर्णय अनुसार पुर्ब मन्त्री रामकुमार श्रेष्ठ सहित त्यसपछि निर्णय प्रक्रियामा सहभागी भएका मन्त्री र मन्त्रालयका पुर्ब सचिब समेत कारबाहीको सुचिमा परेको बताइएको छ। पर्यटनबोर्डमा भएको करोडौको बेथितिले सरकारी निकायमा कति अनियमितता हुदो रहेछ र त्यति ठुला ठुला बेथिति हुदा पनि कारबाही हुदो रहेनछ भन्ने कुरा थप प्रष्ट भएको छ –समितिका सभापति शर्माले भन्नुभएको छ –सरकारी सार्बजनिक सस्थाहरूमा हुने अनियमिता र भ्रष्टाचारका उजुरीहरूलाइ प्ररम्भिक रूपमा हेर्दा समेत लाग्छ त्यसै यो मुलकमा ठुला मोटाउने र मुलक गरीब भएको रहेनछ भन्ने स्पष्ट देखिन्छ।

मिठाईभन्दा सेलरोटी बेस

भगवती तिमल्सिना
काठमाडौं
बजारमा हेर्दै खाऊँ खाऊँ लाग्ने गरी सजाएर राखेको खाद्य वस्तुमा तपार्इंको ध्यान पुगेको छ भने एकपटक राम्ररी सोच्नोस्।
कतै तपाईं तिहारमा दाजुभाइलाई मिठाईका नाममा अखाद्य वस्तु खुवाएर रोग त उपहार दिँदै हुनुहुन्न ? त्यो भन्दा तपार्इंले घरमै बनाउने ताजा सेलरोटी, फलफूल खुवाउनुस् र तिहारको खुसी एकआपसमा साट्नोस्।
चाडपर्वका बखत खाद्य वस्तुमा हुने गरेको मिसावटलाई रोक्न सरकारले कुनै नीति बनाएकै छैन या बनाएर पनि अनुगमन गर्दैन। बजारमा खुलेआम रूपमा खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट भइरहँदा पनि सरकारले अनुगमन नगर्दा उपभोक्ता मारमा परेका छन्।
विशेष गरी तिहारमा मिठाई र सेलरोटी परम्परादेखि नै चल्दै आएको खाद्यान्न हो। तर पछिल्लो समय अखाद्य रंग हालेको मिठाई बजारमा छ््यापछ्याप्ती हुँदा पनि सरकारले खासै ध्यान दिएको पाइन्न। रंग खाद्य र अखाद्य दुई किसिमको हुन्छ तर नेपाल सरकारले अहिलेसम्म खाद्य र अखाद्य रंग छुट्याएकै छैन। मिठाइलाई अत्यन्तै आकर्षित बनाउनका लागि मानिसलाई क्यान्सर हुने रंग समेत मिठाईमा प्रयोग गरिने गरेको कुरा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. प्रेमप्रकाश पण्डित बताउनुहुन्छ।
उहाँ थप्नुहुन्छ– ‘यसरी अखाद्य रंग राखेको बजारको मिठाई खानुभन्दा परम्परागत रूपमा घरमै पकाउने गरेको सेलरोटी सुरक्षित तवरले राखी बासी नखानु राम्रो हुन्छ। सेल रोटी पनि धेरै बासी बनाएर ढुसी आएको भने खानु हुन्न। नेपालमा कहिलेकाहीं अनुगमन नभएको पनि होइन तर यसले निरन्तरता नपाउने र भए पनि छलछाम मात्रै हुनुले गलत काम गर्नेहरू प्रोत्साहित भएको अवस्था छ।’ विशेष गरी रंग देखेर मिठाईमा आकर्षित नहुन डा. पण्डितको सल्लाह छ।
‘हामी नेपालीहरू आफूले गर्न सक्ने र गरिरहेको काममा भन्दा अरूले गरेका काममा बढी आकर्षित हुने र विश्वास गर्ने गर्छौं। नेपालको सन्दर्भमा यस्तो गर्नुहुन्न खाद्य वस्तु आफ्नो आँखाले देखेर बनाएकोमा विश्वास गर्नुपर्ने अवस्था छ। यति मात्र नभई आम उपभोक्तालाई सचेत गराउनुपर्ने आजको आवश्यकता भइसकेको छ’ –डा. पण्डितको कथन छ।
खाद्यान्नका साथै फूलमा समेत रंग हालेर टल्किने बनाइएको छ। यस्तो फूलले छालामा छुँदा एलर्जी हुने र छालाको रोग लाग्नेसम्मको डर छ। त्यसैले तिहारमा प्रयोग गर्ने हरेक वस्तुका बारेमा सरकारले अनुगमन गर्ने र उपभोक्ताले सही चिनेर मात्र किन्नुको विकल्प नभएको उहाँको ठम्म्याइ छ।
कतै तपाईं बास्नादार सेन्ट, अत्तरजस्ता नामले चिनिने तरल पदार्थहरू जीउमा छर्कदै हुनुहुन्छ भने पनि पहिला नै सचेत हुनु जरुरी रहेको विज्ञहरू बताउँछन्। कतिपय यस्ता वस्तुले शरीरलाई बास्नादार हैन एलर्जी गराएर समुदायका बीचमा बस्दा समेत अप्ठ्यारो पार्ने अवस्था ल्याएकाले सामान खरिद गर्दा उपभोक्ता आफैं सचेत हुन समेत कस्मेटिक विशेषज्ञहरूको सुझाव छ।

bus

बस र ट्रक जुद्धा ६ को मृत्यु

गोकुल घोरसाइने
बारा
त्रिभुवन राजपथको पथलैया–हेटौंडा सडक खण्डको अमलेखगन्ज–८ मा यात्रुवाहक बस र ट्रक जुद्धा बसमा सवार ६ यात्रुको बुधबार बिहान मृत्यु भएको छ। २५ जना बस यात्रु घाइते भएका छन्। घाइते ५ जनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा ३ महिला, १ बालक र चालक तथा सहचालक छन्। ५ जनाको घटनास्थल र १ को उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र रेग्मीका अनुसार घटनास्थलमा बारा, मनहर्वा–७ की ५७ वर्षीया कुन्तीदेवी दाहाल, बसका चालक बुनियाद गाविस–७ का २२ वर्षीय सर्वजितप्रसाद यादव, धादिङ घर भई वीरगन्ज विद्युत् वितरण केन्द्रमा कार्यरत कर्मचारी ४५ वर्षीया लक्ष्मी तामाङ र उनका १२ वर्षे छोरा प्रवेश तामाङको मृत्यु भएको हो।
उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बारा, खुटवा प्रसौनी–८ का २२ वर्षीय अमृतकुमार साहको मृत्यु भएको हो। मृत्यु हुने एक ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरीले जनायो। प्रहरीका अनुसार घाइते २५ मध्ये ३ जनालाई हेटौंडा अस्पताल र १५ जनालाई भरतपुर पठाइएको छ।

सात जनाको नारायणी उपक्षेत्रीय अस्पताल र एक जनाको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना३ख नम्बरको ट्रकले वीरगन्जबाट यात्रु बोकेर हेटौंडातर्फ जाँदै गरेको ना४ख १५४४ नम्बरको बसमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताउनुभयो। उहाँका अनुसार ट्रकले ट्यांकरलाई ओभरटेक गर्न खोज्दा बसमा ठोक्किन पुगेको हो। ट्रकको ठक्करबाट बस पुर्णरूपमा क्षतविक्षत बनेको छ। ना२ख ८७११ नम्बरको ट्यांकरसँग क्रस भएलगत्तै सोही दिशाबाट पथलैयातर्फ आउँदै गरेको उक्त ट्रकले यात्रुबाहक बसमा ठक्कर दिएपछि दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताउनुभयो। प्रहरीले ट्रक चालक सर्लाही ढुंग्रेखोलाका सुदीप खड्कालाई नियन्त्रणमा लिएको छ।
यसैबीच बारा मनहर्वा–७ की ५५ वर्षीय कुन्ती दाहालको बिरामी भएर अस्पतालमा भर्ना भएका पति रोहितसँग भेट्ने रहर पूरा हुन पाएन। पति रोहितसँग भेट गर्न चितवनतर्फ जाँदै गर्दा दुर्घटनामा परेर मृत्यु भएपछि कुन्तीको रहर अधुरै रहेको हो। मधुमेह रोगले पीडित पतिसँग भेट गर्न ६ वर्षीय नाति प्रज्वललाई साथमा लिएर कुन्ती बिहान भरतपुरस्थित चितवन मेडिकल कलेज जाँदै हुनुहुन्थ्यो।
कुन्तीको परिवारमा पतिसहित २ छोरा, १ छोरी, १ बुहारी र ४ नातिनातिना छन्। ‘सम्धिले दशैंलगत्तै आउन आग्रह गर्नुभएको थियो’, कुन्तीका सम्धि चिन्तामणि पराजुलीले भन्नुभयो– ‘कामको चापले फुर्सद मिलेको थिएन।’ रोहितले कुन्तीलाई नाति प्रज्वललाई पनि सँगै लिएर आउन आग्रह गरेपछि बिहान ६ बजे घरबाट चितवनतर्फ लागेको पराजुलीले जानकारी दिनुभयो। कुन्तीसँगै चितवनतर्फ जाँदै गरेका नाति प्रज्वल खुट्टा भाँच्चिएर घाइते छन्। कुन्तीका कान्छा छोरा दिनेश बाबुसँगै भरतपुर अस्पतालमा कुरुवा बस्दै आएका छन् भने अर्का रमेश घटनापछि भरतपुर गएका छन्। घटनापछि कुन्तीको परिवारका सदस्य, आफन्त र छिमेकी शोकाकुल छन्। घटनाको खबर सुनेलगत्तै कुन्तीको परिवारमा ठूलो संख्यामा आफन्त र छिमेकी भेला भएका थिए।

geeta-adhikari

उज्यालोको पर्व तिहार र विकृति

(गीता अधिकारी) हाम्रो पात्रोमा शरद ऋतु पर्वैपर्वले भरिएको ऋतु हो। हिन्दूधर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा नेपालीहरूको महान् पर्व दशैँ र अल्पसङ्ख्यक समुदायमा पर्ने मुसलमानहरूको बकर इदपछि अर्को महान् पर्व तिहार नेपालीहरूको घर–आँगनमा आइसकेको छ। राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ। यो अत्यन्त महत्वपूर्ण र उल्लासमय पर्व भनेर नेपालीहरूबीच रहिआएको छ। तिहारलाई दीपावली पनि भनिन्छ। यो पर्व पाँच दिनसम्म मनाइने भएकोले तिहारलाई ‘पञ्चक’ भनेर पनि भन्ने गरेको पाइन्छ। डाँडापाखाभरि ढकमक्क फुलेका फूलहरू, खेतभरि झुलेका धानका बालाहरू, बारीमा झुलेका कोदो, लटरम्म फलेका अम्बा, सुन्तला, जुनार, मौसम, ज्यामिर, भोगटे, बयर, मेवाजस्ता फलहरूले यो मौसम फूल, माला, झिलिमिली बत्ती र द्यौसीभैलोको लागि बढी प्रसिद्ध छ। तिहार नेपालीहरूको लौकिक सामाजिक पर्व हो।
दशैँको १५ दिनपछि आउने सबैभन्दा ठूलो पर्वहरूमा तिहार एउटा हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो, यमपञ्चक अर्थात् तिहार। सामाजिक, धार्मिक, पारिवारिक हिसाबले मनाउने तिहार पर्वमा काग, कुकुर, गाई, गोरु र भाइको पूजा हुन्छ। तिहारको सांस्कृतिक पक्ष पनि छ। जब कृषकले अन्न भित्र्याउने समय हुन्छ तब उसको खुशी एवम् उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा ऊ भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैँ अनि त्यसको १५ दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ।
नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले कागलाई शुभ समाचारसूचकका रूपमा पूजा गरिन्छ। दोस्रो दिन घरको रक्षक र यमको दूतको रूपमा कुकरलाई पूजा गरिन्छ। तेस्रो दिन धनधान्यकी स्वरूपको रूपमा लक्ष्मीको पूजा र त्यही दिन गाई तिहारको लक्ष्मीको प्रतीकको रूपमा गाईको पूजा गरिन्छ। लक्ष्मीपूजादेखि तिहारभरि हरेक घरमा दीपावली गरिन्छ। चौथो दिन गोवद्र्धन पूजा अर्थात् कृषिउत्पादनका द्योतकको रूपमा गोरुको पूजा हुन्छ। तिहारका दिन नेवार जातिले म्हःपूजा पनि गर्ने हुनाले तिहारको अर्को विशेषता छ। लक्ष्मीपूजाको दिनदेखि भाइ तिहारको रातिसम्म देउसी–भैलो खेलिन्छ। पाँचौँ दिन दिदीबहिनीले आ–आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै पूजा गर्छन्। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर विभिन्न मिठाई, फलफूल र उपहार दिने चलन छ।
त्यसै गरी दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिने गर्छन्। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानीपोखरीस्थित महादेवको मन्दिरमा गएर पनि टीका लगाउने गर्छन्। यो मन्दिर भाइटिकाको दिन मात्र सर्वसाधारणका लागि खुला हुन्छ। तराईका मैथिल र भोजपुरी समाजमा भ्रातृ द्वितीया अर्थात् भरद्वितीया नामले धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ भाइटीका मनाइन्छ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो। यस दिन मैथिल र भोजपुरी समाजमा आँगनमा पिठार (चामलको पीठो) अर्पणा बनाई अबिरले सजाएको स्थानमा काठको पिर्कामाथि दाजुभाइलाई बसाउने अनि दिदीबहिनीले टीका लगाइ पूजा गर्दछन्। दाजुभाइले चाहिँ हात अञ्जुली बनाएर बस्छन्। त्यसमा दिदीबहिनीले पाँच वटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखिदिन्छन् अनि पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटि पूजा गर्छन्। पूजा सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने प्रचलन छ। यसरी विभिन्न समुदायमा विभिन्न रूपमा यो पर्व मनाउने गरेको पाइन्छ।
शास्त्रले तिहारका सम्बन्धमा विभिन्न प्रसङ्ग जोडेको छ। मुख्यतया यसलाई उज्यालो पर्वको रूपमा लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना, स्तुति गर्ने, धनसम्पत्तिको रक्षा गर्ने, मृत्यु–देवता यमराज र उनकी बहिनी यमुनाको प्रसङ्गबाट दाजुबहिनीको सुमधुर सम्बन्ध, प्रेम, स्नेहलाई बडो बलियोसँग जोडेको पाइन्छ तिहारले। यसका साथै काग, कुकुर, गाई आदिको पूजा गरी जनावर र प्रकृतिसँग मानवसम्बन्ध देखाउने पर्वको रूपमा तिहारले प्राकृतिक, सामाजिक र धार्मिक महत्व बोकेको छ।
घर–आँगन सफा गरेर चिटिक्क सजाई लक्ष्मी माताको पूजाअर्चना गरेमा धनसम्पत्ति आर्जन तथा रक्षा हुने विश्वास गरिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, दुबो, मखमली माला लगाई तेलको घेराले छेकी पूजा गर्छन्। साथै ओखर फुटाई शत्रु नाश र उत्तरोत्तर प्रगति एवम् दीर्घायुको कामना गर्दछन्। दिदीबहिनीले दाजुभाइको मृत्युलाई समेत टार्न सक्छन् भने दिदीबहिनीको पनि दाजुभाइले संरक्षण गर्न सक्छन् भन्ने सन्देश यो दिनले दिएको छ।
आफ्नो पहिचान भनेकै त्यो समाजले अपनाउने र मनाउने संस्कार, संस्कृति र परम्परा हो। त्यसैले आफ्नो भाषा, संस्कृति र संस्कारको धारण, प्रवद्र्धन एवम् विकास गरी आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। यसले गर्दा नै हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यताले पुस्तौंसम्म जीवन्तता पाउँछ। तिहार दाजुबहिनीको माया र स्नेहको उदाहरणका रूपमा मनाइँदै आएको छ। यस्ता पर्वहरूले एउटा धर्म र जाति विशेषको मात्र नभई कुनै न कुनै रूपमा सम्पूर्ण नेपालीको पर्वको मन्याता पाएको देखिन्छ। एउटा राष्ट्रिय पर्वको रूपमा संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपालीहरूले यो पर्वलाई मनाएको पाइन्छ।
नेपालीको तिहारको अर्को फरक पक्ष भनेको भैली अनि देउसी हो। तिहारमा देउसी खेल्दै हिँड्ने चलन छ हाम्रो। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछिपछि देउसिरे भन्ने हुन्छन्। उज्यालोको पर्वको रूपमा रहेको तिहार दाजुभाइ दिदीबहिनीको पर्व पनि हो। भाइटीका अर्को यसको महत्वपूर्ण पक्ष रहिआएको छ। भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ।
पछिल्लो समय हाम्रा चाड पर्वहरूमा केही विकृतिहरू देखा पर्न थालेका छन्। यसको परम्परागत महत्वभन्दा पनि जुवातास खेल्ने, झै–झगडा गर्ने जस्ता कार्यले तिहार पर्वको नाममा विकृति बढ्दो छ। तिहारको बेलामा सरकारले पटका बिक्री वितरण गर्न र पड्काउन रोक लगाए पनि लुकिछिपी यस्ता गतिविधि झन् बढी नै भएको पाइन्छ। पटकाले धेरैको आखाँको ज्योति गुमेको, कानको श्रवणशक्ति गुमेको समाचारहरू विगत वर्षका ताजै छन्। सरकारले पटकाजन्य पदार्थमा कडाइ गर्ने भनेता तापनि यसमा पूर्णरूपमा बन्देज लगाउने काम भने गर्न सकेको छैन। पटकासँग पर्व र धर्मको कुनै सम्बन्ध छैन, चाडपर्वको नाममा यो विकृति मात्र हो।
तिहारलाई मिठाईको पर्व पनि भन्निछ। तर हामीले खाने मिठाई कत्तिको स्वस्थकर छ ? अनुगमनका क्रममा अधिकांश खुवामा पीठो⁄स्टार्च मिसाइएको पाइएको बताइन्छ। सडेगलेको मिठाई बिक्री वितरण गर्न राखेको, भण्डारण गरेको, मिति समाप्त भएको, अखाद्य रंग प्रयोग गरेको, मिठाई बनाउने स्थान फोहोर भएको जस्ता कुराहरू देख्न र सुन्न पाइन्छ। त्यसैले चाडपर्वहरू खुशीसाथ मनाऔं तर यसका विकृतिहरूलाई बढवा नदिऔं। यसका लागि तपाईं–हामी आफैं सचेत हुनु जरुरी छ।
तिहारको समयमा जुवातास खेलेर मनोरञ्जन लिनेहरूको संख्या पनि बढ्दै गएको छ। त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटनाहरू पनि सुन्न पाइन्छ। समयको परिवर्तनसँगै तिहार मनाउने संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ। तिहारमा जुवातासजस्ता विकृतिरूपी कार्य बढी हुन थालेका छन्। यसले गर्दा संस्कृतिले विकृत रूप लिँदै छ। तिहारको जस्तै विकृत रूप दशैँमा पनि देखियो भने महिलाहरूको महान् पर्व तीजमा पनि देखिएको छ। महिना दिनसम्म दर खाने परम्पराले गरिबीको रेखामुनि रहेका जनताको झनै ढाड सेकेको छ। आफ्नो संस्कृतिलाई समयअनुसार परिवर्तन पनि गर्दै जानुपर्छ तर संस्कृति रूपान्तरणको नाममा विकृति निम्त्याउनुहुँदैन।

binnu-shrestha

देउसी–भैलोको सांस्कृतिक महत्व

(विन्नु प्रयास) नेपालमा विभिन्न प्रकारका चाडपर्वहरू मनाउने गरिन्छ। ती पर्वहरूको आ–आफ्m्नै विशेषता हुन्छ। हिन्दू परम्पराअनुसार तीज, जनैपूर्णिमा, शिवरात्रि, रामनवमी दशैँ, तिहारलगाायत दर्जनौं पर्वहरू मनाउने गरिन्छ। यसै क्रममा महान् पर्व बडादशैँ भर्खरै सकिएको छ भने तिहार मध्यक्रममा लागिरहेको छ। यो तिहार पर्व हिन्दूहरूले मनाउने दोस्रो ठूलो पर्व हो। तिहारलाई यसपञ्चक, बलिको राज्य र दीपावलीसमेत भन्ने गरिन्छ। यमराजले आफ्नी बहिनीको घरमा पाँच दिनसम्म बसेर आफ्नो घर फर्केको हुँदा यमपञ्चक, मत्र्यमण्डलमा पाँच दिनसम्म बलिले राज्य गर्ने हुँदा बलिको राज्य र घर–घरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजा गरिने हुँदा यस पर्वलाई दीपावली भनेर चिनिने गर्दछ।
यस पाँचदिने पर्वमा पाँच थरीको नै पूजा हुने गर्दछ। पहिलो दिन यमराजको दूत र चलाखी कागको पूजा हुन्छ भने दोस्रो दिन स्वामीभक्त कुकुरको पूजा हुन्छ। कुकुरलाई पूजा गर्नुको विशेषता अर्को पनि छ। त्यो हो, यस पृथ्वीमा कुनै विपत्ति आउने कुरा कुकुरले थाहा पाउने र यसलाई पनि यमराजको दूतको रूपमा पूजा गरिने भनाइ रहेको छ। तेस्रो दिन औंसीको रातमा धनदाता महालक्ष्मीको पूजा गरिन्छ भने लाग्दो प्रतिपदामा लक्ष्मीकै रूपमा गाईको पूजा गरिने परम्परा रहेको छ। औंसीको रातमा नारीहरूले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी भैलो खेल्ने परम्परा पनि निकै रमाइलो छ। भैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गर्दछन्। भन्छन्– जसले दिन्छ मानु उसको सुनको छानु हे औंसीको दिन गाईतिहार भैलो। अनि यस पर्वको चौथो दिन भगवान् शिवको वाहन गोरुको साथै गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ। त्यसै दिनदेखि घर–घरमा देउसी खेल्ने गरिन्छ। तर आजकाल विभिन्न समूहलाई फलानो काम गर्नको लागि चन्दा भन्दै काग तिहारदेखि नै देउसी खेल्ने गरेको पाइन्छ
त्यसै गरी पाँचौँ दिन भाइतिहार पर्दछ। यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाइ मेवामिष्ठान्न दिएर पूजा गर्ने गर्दछन्। दिदीबहिनीले दाजुभाइलाई तेल लगाइदिन्छन्, कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिन्छन् अनि सेल र मसलाहरू खान दिन्छन्। यसो गर्नुको रहस्य छ। सत्ययुगमा एक दिन यमराज बहिनी यमुनाकोमा आएका थिए। त्यस बेला बहिनीले यस्तै कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिएर चिल्ला मेवामिष्ठान्न दिई दाजु यमराजको स्वागत गरेकी थिइन्। उनको पूजाले प्रसन्न भएका यमराजले बहिनीलाई भनेका थिए रे– तिम्रो पतिको शरीरमा लगाएको तेल, चिल्लो खाएको पेट र लगाएको माला नसुकुन्जेल मैले उनलाई लानेछैन। यसरी दाजु यमराज बहिनीको घरमा पाँच दिन बसेर बहिनीलाई आशीर्वाद दिँदै आफ्नो राज्यमा गएका थिए। सोही बेलादेखि दिदीबहिनीले दाजुभाइलाई चिल्ला पदार्थ र नसुक्ने फूलको माला लगाई दीर्घायुको कामनासहित पूजा गर्ने परम्परा रहेको शास्त्रहरूमा उल्लेख पाइन्छ।
तिहारको पाँचौँ दिन विभिन्न मनोरञ्जनका साथ घर–घरामा देउसी खेली रमाइलो गरिन्छ। तिहारको पाँच दिन दैत्यराज बलिले राज्य गरेको शास्त्रहरूमा बताइएको छ। उनले ठूलो तपस्या गरी देवताहरूलाई जितेर तीन लोक चौध भूवनको राज्य गरेका थिए। उनी धर्मकर्ममा निपुण थिए। उता देवताहरू भगवान् विष्णुकोमा गई सल्लाह मागे तर राजा बलिका भक्तिका कारण भगवान् विष्णुले देवताहरूको भनाइलाई त्यति चासो दिएनन्। उनले भक्तको अधिनमा रहेकोले बलिको पुण्य सकिएपछि राज्य दिलाउने बताए। उता बलिले ठूलो यज्ञ गरी गरिब ब्राह्मणलाई दान दिन लागे। राजा बलिको दानरूपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो। भगवान् विष्णुले पनि राजा बलिको पुण्य सकिएको थाहा पाई वामनको रूपधारण गरी अवतरित भए। अनि भिक्षा माग्न बलिको यज्ञस्थलमा पुगे। दान दिनमा पोख्त राजा बलि पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– कुमार तिमीलाई के चाहिन्छ माग। कुमाररूपी वामनले केही खान मागे। तर बलिले त्यति जाबो के मागेको भने। वामनले उसो भए तीन पाउ भूमि देऊ मलाई त्यति भए पुग्छ भने।
अन्त्यमा राजा बलि तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरु शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन्। शुक्राचार्य संकल्प पढे अनि बलिले वामनलाई भूमि नाप्न आग्रह गरे। वामनले जब भूमि नाप्न थाले। उनको एक पाइलाले मत्र्यमण्डल ढाकियो। दोस्रो पाइलाले स्वर्ग ढाक्यो। अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला परेन। वामनले तेस्रो पाइलाका लागि तिम्रो शिर देऊ भनेर बलिलाई सम्झाए। त्यसपछि वामनले बलिको आदेश पाएपछि उनको शिरमा टेकेर पाताल पुर्याइदिए। बलिलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपुण भएकाले पाँच दिन यस मत्र्यमण्डलको राज्य गर्नू भनी वरदानसमेत दिएका थिए। त्यसै वरदानस्वरूप बलिले तिहारको पाँच दिन मत्र्यमण्डलको राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ छ। उनैको सम्झनास्वरूप अहिले पनि देउसी खेल्ने गरिएको हो।

binod-nepal

खाँचो इच्छाशक्ति र अठोटको

(विनोद नेपाल) भावी संविधानका महत्त्वपूर्ण र विवादित अन्तरवस्तुमा दलहरूबीच मतान्तर कायमै छ। संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले विवादहरू समाधान गर्न नसक्दा सोको लागि पटक–पटक म्याद थपिएको छ। यसै क्रममा पछिल्लो पटक असोज ३० गतेसम्म टुंगो लगाउन र सोको प्रतिवेदन ३१ गतेसम्म पेस गर्नुपर्ने गरी संविधानसभाले समय दिएपछि दलहरूबीच घनीभूत छलफल जारी छ। यसै बीच नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरिसकेको तथा कांग्रेस र एमालेबीचको दूरी साँघुरो हुँदै गएको जनाइए पनि एमाओवादी अझै पनि केही टाढै छ। पछिल्ला दिनमा भएका छलफलमा दलहरूबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायत विषयमा सहमति भए पनि शासकीय स्वरूप, संघहरूको संख्या, नामांकन र सीमांकनका विषयमा सहमति हुन बाँकी नै छन्।
चौध प्रदेशसम्मका कुरा आएको र खासगरी एमाओवादी त्यस्ता कुरामा अडिरहेकोमा अहिले प्रदेशको संख्या कम हुनुपर्नेमा सबै जसो दल सहमत भएका र एमाओवादीसमेत केही पछि हटिसकेको छ। त्यो राम्रो र सकारात्मक हो। दलहरू ६, ७ वा १० प्रदेशका कुरामा आएकाले यसलाई मुलुकको भूबनोट, सामाजिक संरचना, स्रोतको उपलब्धता एवम् आर्थिक अवस्था र सम्भावना आदिका दृष्टिले समेत हेर्न खोजिएको आभास हुन्छ। यसैले यो निकै राम्रो पक्ष हो। तर प्रदेशको नामकरण कुन आधारमा गर्ने भन्ने जस्तो विषयलाई ठूलो मुद्दा बनाएर अन्य कुरासमेत प्रभावित हुने अवस्था आउन नदिन साझा मिलनविन्दु पहिल्याउनु आवश्यक छ। जातीय पहिचानदेखि स्वायत्त प्रदेशसम्मका आश्वासन र चर्चा–परिचर्चा गरिएका कारण केही दललाई यसले अप्ठ्यारो पारेको भए पनि हाम्रो वर्तमान परिवेशमा त्यस्ता कुरामा अड्नु उचित नभएकाले त्यस्ता दलहरू यसबाट बाहिर निस्कनुपर्छ। सबैभन्दा राम्रो त प्रस्तावित क्षेत्रको भौगोलिक अवस्थिति वा त्यस क्षेत्रमा रहेको सम्पदा विशेषको आधारमा नाम राखिनु नै हुनसक्छ।
पछिल्ला दिनमा दलहरू केही गम्भीर र जिम्मेवारजस्ता देखिँदै गएकाले समय गुज्रँदै जाँदा उनीहरूबाट ठोस निर्णय हुने आशा गर्न सकिन्छ तर गत सातादेखि एमाओवादी र ऊ नेतृत्वका ‘२२ दल’को गठबन्धनले पहिचानसहितको संघीय संविधानका लागि आन्दोलन थालेका र त्यसमा शीर्ष नभए पनि मध्यम तहका नेताहरूले चर्का भाषण गरिरहेको अवस्था छ। आश्चर्य त के छ भने, एमाओवादीलगायत केही अन्य दलले झन्डै डेढ महिनासम्म उच्चस्तरीय राजनीतिक समिति गठनलगायत विभिन्न माग राखी संसद् अवरुद्ध गरेकामा सहमति भई संसद् खुलेको र प्रारम्भमा दुई महिनाका लागि एमाओवादीकै अध्यक्षता रहने गरी समितिसमेत गठन भएको अवस्थामा पनि अवरोधको समयमा गरिएको घोषणाअनुरूपको आन्दोलन चलाइएको छ, जुन उचित छैन।
यही परिप्रेक्षमा एमालेका नेताहरूले आफैंलै समितिको अध्यक्षता गर्ने, राजनीतिक जटिलता अन्त्य गर्ने जिम्मेवारी लिने अनि आफ्नै दलले सडक आन्दोलन गर्नेजस्तो गैरजिम्मेवार र अनुत्तरदायी शैली अपनाएको भन्दै एमाओवादीले जारी आन्दोलन स्थगित नगरे पुष्पकमल दाहाल नेतृत्वको राजनीतिक समितिमा सहभागी हुन नसकिने धारणा व्यक्त गर्न थालेका छन्। निश्चय नै दाहालको दोहोरो भूमिका शंकास्पद छ र एकप्रकारले यो अनुचित पनि हो। यसमा आफूलाई सबै परिवर्तनको बाहक ठान्ने र जनताले पत्याउन छाडिसके पनि आपूm नै जनताका सच्चा प्रतिनिधि ठान्ने एमाओवादीका सबै नेता र स्वयम् दाहालले पनि गम्भीररूपमा सोच्नुपर्ने विषय हो।
संयोग नै मान्नुपर्छ एमाओवादी नेतृत्वको गठबन्धनले आन्दोलन प्रारम्भ गरेकै दिन संविधानसभाले विवादित विषयमा सहमति गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई ३० असोजसम्म समय दिएको थियो। प्रक्रिया कि सहमति ? भन्ने विषयमा विवाद चलिरहँदा समय थप गर्ने विषयमा छलफल हुँदा सभासद्हरूबाट विभिन्न किसिमका धारणा व्यक्त गरिए। सत्तारुढ दलका सभासद्हरूले सहमतिका नाममा देश र जनतालाई अल्मल्याइराख्नु मनासिव नभएको भन्दै यसैका लागि समय थप गर्नु नहुने, सबैले जनतासामु गरेका बाचा र जनाएका प्रतिबद्धता तथा दोस्रो संविधानसभा निर्वाचनमा जारी गरिएका आफ्ना घोषणापत्रप्रति इमानदार हुनुपर्ने भन्दै त्यसो गर्न आग्रह गर्दै प्रक्रियामा गएर पनि विवादित मुद्दाको टुंगो लगाउनुपर्ने बताएका थिए भने प्रतिपक्षी दलका सभासद्हरूले सहमतिकै आधारमा संविधान बनाउनुपर्ने तथा प्रक्रियामा गएमा त्यसले गृहयुद्ध निम्त्याउनेसम्मका धम्की दिएका थिए।
संविधानका विवादका विषय राज्यको पुनःसंचरना, शासकीय स्वरूप, न्यायप्रणाली र निर्वाचन प्रणालीका विषय हुन्। जुन विषयमा पछिल्लो पटक समय थप भएपछि मात्र केही गम्भीर छलफल हुन थालेको हो कि भन्ने देखिएको छ । तर सबैले यसो हुनुपर्छ, उसो हुनुपर्छ भन्दै आ–आफ्ना धारणा मात्र राखेमा निष्कर्षमा पुग्न नसकिने भएकाले यसलाईृ त्यसरूपमा होइन बिस्तारै दूरी घटाई नजिकिनेतर्फ लैजानुपर्छ। जहाँसम्म प्रदेश निर्माणको कुरा हो, यस सन्दर्भमा विचार गर्नुपर्ने कुरा कसरी सबैका हकअधिकार सुरक्षित हुन्छन् र मुलुकको समानुपातिक र सन्तुलित विकास कसरी हुन्छ भन्ने हो। पहिचानको नाममा राज्यको नाम नै कुनै जाति विशेष वा जातिहरूको नाममा राखिनुपर्नेजस्ता मागको कुनै तुक देखिँदैन। कसैको आत्मसम्मानमा चोट नपुग्ने र सबैको हकअधिकार, मर्यादा कायम रहने तथा विभेदमुक्त समाजको निर्माण आजको आवश्यकता हो भने यसैमा दलहरूको ध्यान जानुपर्छ। नेपालको पहिचान कायम रहे नेपालीको पहिचान स्वतः कायम रहन सक्ने भएकाले पनि दलहरूले पहिचानको नाममा सस्ता वा कसैलाई वा कुनै समूह वा जातजाति, भाषाभाषीलाई काखी च्याप्ने खालका प्रस्ताव अघि सार्नु र त्यसैका लागि अडान लिनु उचित हुँदैन।
स्थानीय तहमा अधिकारको निक्षेपणले मात्र अवसर जुट्ने, हौसला बढ्ने तथा स्थानीयकै सहभागितामा विकासका सम्भावना पहिल्याउँदै समानुपातिक र सन्तुलित विकासको दिशामा अग्रसर हुन सहज हुन्छ। यस सन्दर्भमा कसैले बोलेको, आश्वासन दिएको वा कसैलाई उचालेकै भरमा कुनै समय बिर्ता बाँडे जसरी राज्य बाँड्ने होइन कि भौगोलिक बनोट, आर्थिक सम्भावना तथा जातीय, क्षेत्रीय तथा धार्मीक, सांस्कृतिक एवम् अन्य सबै खाले सम्बन्धमा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी र सबैको साझा प्रयासबाट समृद्धिको शिखर चुम्न सहयोग पुग्ने किसिमको संघीयता आजको आवश्यकता हो भन्ने कुरालाई सबैले इमानदारीका साथ मनन गर्नुपर्छ। सहमतिको नाममा मुलुकलाई अल्मल्याउने होइन, ठोस निर्णय हुनुपर्छ। कुरा राजनीतिक नेतृत्वको इच्छाशक्ति र अठोटको हो। सबै इमानदार, जिम्मेवार र गम्भीर भए सहमति हुन धेरै समय लाग्नुपर्ने कारण छैन। कसैले पनि विवादलाई राजनीतिक रणनीतिको विषय बनाउने होइन, मुलुक र जनताको हितलाई अघिल्तिर राखेर हेर्नुपर्छ। यसो हुन सकेमा मात्र माघ ८ भित्र संविधान सम्भव हुनेछ।

bharat

भारतीय बक्सर सरितादेवीलाई कारबाही

नयाँदिल्ली, (एजेन्सी)
विश्व एमेच्योर बक्सिङको सर्वोच्च संस्था एआईबीएले भारतीय महिला मुक्केबाज लेसराम सरिता देवीविरुद्ध कडा कारबाही गर्दै अस्थायी रूपमा खेल्नबाट निलम्वित गरेको छ।
दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलमा बक्सिङगमार्फत् जितेको कांस्य पदकलाई स्वीकार गर्न नमानेकी सरितालाई सो कारबाही गरेको हो। सेमिफाइनलमा कोरियाली खेलाडीविरुद्ध भएको भिडन्तमा विवादास्पद निर्णयका कारण आफूले हार्नुपरेको भन्दै सरितादेवीले पदक वितरण समारोहका दौरान आफूले जितेको पदक डाइसको अलि पल्तिर उपस्थित रजत विजेता कोरियाली मुक्केबाज जि ना पार्क कोलाई नै फिर्ता गर्दै पदक लिन अस्वीकार गरेकी थिइन्।
मंगलबार एआईबीएले एक विज्ञप्ति जारी गर्दै मुक्केबाज सरितादेवीसहित प्रशिक्षक गुरबख्श सिंह सन्धू, ब्लास इग्लेसियास फर्नान्डिस र सागर मल दयालका साथै इन्च्योन एसियाडमा भारतीय दलका प्रमुख रहेका आडीले जे सुमरिवालालाई पनि अस्थायी रूपमा निलम्वन गरेको छ। एआईबीएले अर्को सूचना जारी नगरुञ्जेल निलम्वित खेलाडी तथा पदाधिकारीहरूले कुनै पनि स्तरको बक्सिङग सम्बद्ध प्रतिस्पर्धा, बैठक तथा आयोजनाहरूमा भाग लिनसमेत नपाउने भएका छन्।
उक्त घटना एआईबीएको अनुशासन आयोगमा समीक्षाका लागि पठाइसकेको छ। एआईबीएको उक्त कारबाहीका कारण सरितादेवी तथा निलम्वित अन्य पदाधिकारीहरूले निकट भविष्यमा कोरियामा नै आयोजना हुन लागेको एआईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा समेत खेल्नबाट बञ्चित हुने निश्चित भएको छ।

bayan

बायर्न र चेल्सीद्वारा गोलको वर्षा

लन्डन, (एजेन्सी)
युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार सम्पन्न खेलमा जर्मन च्याम्पियन बार्यन म्युनिख र इंग्लिस प्रिमियर क्लब चेल्सीले गोलको वर्षा गरेका छन्।
जर्मन बुन्देसलिगा च्याम्पियन बायर्नले इटालियन सिरी ‘ए’ टोली एएस रोमालाई ७–१ को भारी गोलअन्तरले पराजित गरेको हो। एकपक्षीय रूपमा गोलको वर्षा गरेको बायर्नले खेलको ३६ मिनेटभित्रै ५ गोलको अग्रता लिइसकेको थियो। बायर्नको जितमा डच स्ट्राइकर आर्येन रोबेनले खेलको नवौं मिनेटमै गोलको खाता खोलेका थिए। यस्तै २३औं मिनेटमा विश्वकपका नायक मारियो गोत्जेले दोस्रो गोल थपे भने त्यसको दुई मिनेटपछि नै रोवर्टो लेभान्डोस्कीले बायर्नको अग्रता तेब्बर पारे।
यसै गरी खेलको ३०औं मिनेटमा रोबेनले चौथौ गोल थपे भने ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत् गोल गरेपछि बायर्न पहिलो हाफको अन्तसम्म ५–० ले अघि रह्यो। तर खेलको ६६औं मिनेटमा एएस रोमाका गर्भिन्होले फर्काएको एक गोल सान्त्वना सावित भयो। बायर्नका फ्रेन्च स्ट्राइकर फ्राङक रिबेरीले ७८औं मिनेटमा छैठौं तथा साकिरीले ८०औं मिनेटमा सातौं गोल थपेपछि रोमा भारी गोलअन्तरको हार स्वीकार्न बाध्य बन्यो।
प्रतियोगिताअन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा चेल्सीले स्लोभेनियाको एनके मारिबोरलाई ६–० गोलअन्तरले पराजित गरेको छ। चोटग्रस्त डिएगो कोस्टाबिना मैदान उत्रिएको चेल्सीका लागि खेलको १३औं मिनेटमा रेमीले गोलको खाता खोलेका थिए। आइभोरीकोस्टका भेट्रान स्ट्राइकर डिडियर ड्रोग्बाले चेल्सी फर्किएपछि पहिलो गोल आफ्नो नाममा लेखाएका छन्। उनले खेलको २३औं मिनेटमा प्राप्त पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए।
यस्तै टेरीले ३१औं मिनेटमा तेस्रो गोल थपे भने मारिबोरका भिलेरले ५४औं मिनेटमा एक आत्मघाती गोलको उपहार दिएका थिए। यस्तै हजार्डले ७७औं मिनेटमा पेनाल्टीको सहयोगमा चेल्सीको गोल संख्या पाँच पुर्याए भने ९०औं मिनेटमा पुनः हजार्डले नै गोल गर्दै चेल्सीलाई आधा दर्जन गोलअन्तरले विजयी दिलाए।
यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले भने दुई गोलको अग्रता लिएर पनि अन्ततः खेलमा सम्हालिन नसक्दा रसियाको सीएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा खेल टुंग्याउनु पर्यो। खेलको २९औं मिनेटमा सर्जियो अग्युरो र ३८औं मिनेटमा मिल्नरको गोलमार्फत् इंग्लिस क्लबले खेलको पहिलो हाफसम्म २–० को अग्रता बनाएको थियो। तर ६४औं मिनेटमा मस्कोका डुम्बियाले पहिलो गोल फर्काएका थिए। यस्तै मस्कोका नाट्चोले ८६औं मिनेटमा पेनाल्टीमार्फत् दोस्रो गोल फर्काएपछि सिटीले बराबरीको नतिजालाई नै आत्मसाथ गर्नुपर्यो।
मंगलबार राति नै सम्पन्न अन्य खेलमा स्पेनको बार्सिलोनाले नेदरल्यान्ड्सको आयाक्स एम्सटर्डमलाई ३–१ ले हराएको छ। बार्सिलोनाको जितमा नेयमारले खेलको सातौं मिनेटमा पहिलो गरे भने मेसीले २४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। यस्तै ८८औं मिनेटमा आयाक्सका एल घाजिले एक गोल फर्काए पनि रेमिरेजले बार्सिलोनाको तर्फबाट तेस्रो गोल थपे।
यस्तै फ्रान्सको पेरिस सेन्ट जर्मेनले साइप्रसको अपोइल निकोसियालाई १–० ले हराउँदा पोर्चुगलको एफसी पोर्टोले स्पेनको एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गर्यो। यसै गरी युक्रेनको साख्तर डोनेट्स्कले बेलारुसको बाते बोरीसोभलाई ७–० को फराकिलो गोलअन्तरले पाखा लगाए भने जर्मनीको साल्केले पनि पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई ४–३ ले हराएको थियो।

अमिटी कप निङलाशैनीलाई

महेन्द्रनगर, (नेस)
निङ्लाशैनी युवा क्लब गोवरैयाले कञ्चनपुरमा सम्पन्न प्रथम धरणीधर स्मृति अमिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
महेन्द्रनगरस्थित खुल्ला मञ्चमा बुधबार सम्पन्न फाइनल खेलमा वनदेवी फुटबल क्लब गुलरियालाई १–० गोलअन्तरले पराजित गर्दै निङलाशैनीले उपाधि हात पारेको हो। टोलीका लागि निर्णायक गोल गजेन्द्र शाहीले खेलको ७३औं मिनेटमा गरेका थिए। उपाधिसँगै निङलाशैनीले ३० हजार रुपियाँ र मेडल पायो। उपविजेता वनदेवी फुटबल क्लबले १५ हजार रुपियाँ र ट्रफी पायो।
प्रतियोगितामा निङलाशैनीका गजेन्द्र शाही वेस्ट स्कोरर, वनदेवीका पंकज मडै उत्कष्ट गोलकिपर, निङलाशैनीका राकेश हमाल उत्कृष्ट डिफेन्डर तथा गोबरैया फुटबल क्लब फेयर टिम घोषित भए।
विजेता तथा पुरस्कृतलाई प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, अमिटी कलेजका संस्थापक स्वर्गीय धरणीधर जोशीकी श्रीमती हरिकला जोशीलगायतले पुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
अमिटी कलेका संस्थापक धरणीधर जोशीको स्मृतिमा गत असोज २६ गतेदेखि प्रतियोगिता शुरु भएको थियो। प्रतियोगिताका संयोजक रवीन्द्र अवस्थीका अनुसार १६ टिमले सहभगिता जनाएका थिए। ‘प्रतियोगितालाई वर्षेनी निरन्तरता दिने सोच बनाएका छौं’ –संयोजक अवस्थीले भने।

नटासालाई उपाधि

काठमाडौं, (नेस)
नयाँबजार टाउन प्लानिङ सामाजिक संघ (नटासा)ले आठौं सुजन स्मृति सिक्स ए साइट फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ।
परिवर्तन अभियान नेपाल (प्यान) विरुद्धको प्रतिस्पधात्मक फाइनल खेलमा नटासाले टाइब्रेकरमा १–० ले हरायो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि थप गरिएको ७ मिनेटको समय पनि गोल हुन नसके पछि टाइब्रेकरमा लम्किएको थियो।
टाइब्रेकरको सदुपयोग गर्दै नटासाका नरेश पोखरेलले मात्र गोल गरे। प्यानका तीनै खेलाडी सुशान लामा, सन्तोष तामाङ र सुदेश शिल्पकार गोल गर्नबाट चुके। नटासाका नाइजेरियन खेलाडी तनउको प्रहार पनि खेर गएको थियो। खेलको पहिलो हाफमा गोलरक्षकबाट फल खेलेपछि पाएको पेनाल्टीको अवसरलाई प्यानका राज पौडेलले गुमाएपछि उपाधिबाट टाढा भएको थियो।
टाइब्रकरमा पनि प्यानलाई भाग्यले साथ दिएन। प्रतियोगितामा उत्कृष्ट खेलाडी नटासाबाट खेलेका नाइजेरियन सलिफु भए भने उच्चतम गोलकर्ता प्यानका राज पौडेल भए। विजेताले ५० हजार, उपविजेताले २५ हजार नगद प्राप्त गरे। सामाज कल्याण खेलकुद केन्द्र (क्लब)को आयोजनामा नयाँबजार टाउन प्लानिङमा भएको खेलमा ३६ टिमको सहभागिता रहेको थियो।

सेरेनाको ठूलो पराजय

सिंगापुर, (एजेन्सी)
विश्व नम्बर एक सेरेना विलियम्सले सिंगापुरमा जारी वर्षको अन्तिम प्रतियोगिता डब्ल्यूटीए फाइनल्समा सबैभन्दा ठूलो पराजय व्यहोरेकी छन्।
सिमोना हालेपसँग ६–०, ६–२ ले हार व्यहोरेकी सेरेनाले १९९८ पछि सबैभन्दा ठूलो पराजय आत्मसात गरेकी हुन्। उनले त्यतिबेला ओक्लाहोमा सिटीमा जोनेट क्रुगरसँग ६–१, ६–१ हार व्यहोरेकी थिइन्। १८ ग्रान्डस्लाम जितेकी ३३ वर्षीयाको पहिलो ठूलो पराजयमा मात्र १६
वर्षकी थिइन्।
यो जित रोमानियाकी २३ वर्षीया खेलाडीका लागि करिअरमै ठूलो सफलतासमेत हो। हालेपले सेरेनाको लगातार १६ खेलको जितको निरन्तरतामा पनि ब्रेक लगाएकी छिन्। वरियतामा शीर्ष आठ जना महिला खेलाडीबीच हुने प्रतियोगितामा सेरेना गत दुई संस्करणमा विजेता हुन्।
विश्वकी चौथो वरियता प्राप्त हालेपले उनकी अमेरिकी प्रतिद्वन्द्वीलाई केवल ६ अंक लिन छुट दिएकी थिइन्। हालेपले पहिलो सेटमा सेरेनाको तीन पटक सर्भिस ब्रेक गरेकी थिइन्। सेरेनाले दोस्रो सेटमा केही प्रगति गरिन्। उनले दोस्रो सेटम ६ वटा ब्रेक प्वाइन्ट पाए पनि तोड्न सकिनन्।

साँस्कृतिक कार्यक्रमले जुरायो खेलमैदान

नेपाल समाचारपत्र
हेटौंडा
नेपाल भ्रमणका क्रममा एक स्पेनिस वृद्धले मकवानपुरको भीमफेदीमा एक रात बिताए। ऐतिहासिक र पर्यटकीय गन्तव्यमा रात बिताएका उनले सोचे कि त्यहाँ एउटा खेलमैदान बनाउन पाए कत्ति राम्रो हुन्थ्यो होला।
त्यहाँ पुग्ने पर्यटक र स्थानीयले खेलबाट भरपुर मनोरञ्जन लिने सोच उनको थियो। र, उनले त्यहाँ बहुआयामिक खेलमैदान बनाउन सहयोगको वचन दिए।
उनले स्पेनबाट पठाइदिएको करिब २५ लाख रुपियाँ खर्चेर हाल भीमफेदी गाविस–८, चिसापानीस्थित ऐलानी जग्गामा मल्टिपर्पोज कोर्ट (बहुआयामिक खेल मैदान) निर्माण जारी राखिएका छ। भीमफेदीस्थित भीम आधार सामुदायिक स्कुलका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा प्रफुल्ल भएका जोन ख्वाङ्खो स्पेन फर्केर भीमफेदीको परिचय झल्कने लोगो छापिएका मास्क बिक्री गरी रकम जुटाएका हुन्।
जोनले स्पेनमा आफ्ना साथीहरूमाझ प्रतिमास्क २ सय युरोमा बिक्री गरी काठमाडौंस्थित कान्तिपुर रोटरी क्लबमार्फत् विद्यालयको नाममा रकम पठाएको विद्यालयका प्रशासन प्रमुख सुरेन्द्र थीकेले बताए। जोनले पठाइदिएको २५ लाख रुपियाँले हालसम्म चिसापानीमा पूरै सिमेन्ट ढलान गरी खेलमैदान बनाइएको छ। उक्त कोर्टको प्रवद्र्धनमा सघाउन स्पेनिस खेलाडी टोली मैत्रीपूर्ण खेलका लागि भीमफेदी आउने तयारी गरिरहेको जानकारी थीकेले दिए। तर, रकम अभाव टार्न र कोर्ट निर्माण सक्न करिब १५ लाख थप रकम प्रस्ताव गरी पत्र पठाइएको उनले बताए।
बास्केटबल, फुटसल, बक्सिङ, भलिबल, लन टेनिस र ब्याडमिन्टन खेल्न सकिने गरी ७० मिटर लम्बाई र ४० मिटर चौडाइ आकारमा फोल्डिङ सिस्टमसहितको कोर्ट बनाइएको थीकेले बताए। खेलका लागि उपयुक्त हावापानी भएका कारण भीमफेदीमै इन्डोर शैलीले कोर्ट बनाइएको हो। ‘करिब २ वर्षमा निर्माण सक्ने लक्ष्य छ’ –उनले त्यहाँ २ सय जना दर्शक क्षमताको प्याराफिट बनाइने र चेन्जिङ रुमको व्यवस्था गरी थप आकर्षण दिन कृत्रिम घाँस रोपिने योजना सुनाए।
पर्यटकीय केन्द्रमा पर्यटकलाई थप आकर्षित गर्न कोर्ट सहयोगी हुने उनको विश्वास छ। यसरी निर्माण गरिएको कोर्ट देशकै नमुना खेलमैदान हो।

मूल्यवृद्धि दर ७.६ प्रतिशत रहेको दाबी

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको भदौ महिनाको उपभोक्ता मूल्यवृद्धि दर ७.६ प्रतिशत रहेको दाबी गरेको छ। बैंकले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७१⁄७२ को भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.६ प्रतिशत रहेको जनाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार यस अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांक वृद्धिदर १०.८ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक वृद्धिदर ४.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांक क्रमशः ९.४ प्रतिशत र ६.८ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये फलफूल उपसमूहको मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात २६.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांकमा ०.९ प्रतिशतले घटेको थियो।
अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ९.९ प्रतिशत र ९.६ प्रतिशतले वृद्धि भएको सूर्तीजन्य पदार्थ उपसमूह र मदिराजन्य पदार्थ उपसमूहको मूल्य सूचकांक समीक्षा अवधिमा क्रमशः २३.५ प्रतिशत र १९.४ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी समीक्षा अवधिमा तरकारी उपसमूह र खाद्य तथा खाद्यजन्य पदार्थ उपसमूहको विन्दुगत मूल्य सूचकांक क्रमशः १४.० प्रतिशत र ११.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यी उप–समूहको मूल्य सूचकांकमा क्रमशः १८.६ प्रतिशत र १०.४ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो वर्षको सोही अवधिमा ६.९ प्रतिशतले घटेको चिनी तथा मिठाई उपसमूहको मूल्य सूचकांक समीक्षा अवधिमा ०.७ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहका वस्तुमध्ये लत्ताकपडा तथा जुत्ताचप्पल उपसमूहको मूल्य सूचकांक सबैभन्दा बढी अर्थात ८.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांकमा ९.८ प्रतिशतले वृद्धि भएको थियो।
त्यस्तै समीक्षा अवधिमा फर्निसिङ तथा घरायसी उपकरण उपसमूह र शिक्षा उपसमूहको मूल्य सूचकांकमा क्रमशः ६.१ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएकोमा अघिल्लो वर्षको सोही अवधिमा उक्त उपसमूहको मूल्य सूचकांकमा क्रमशः १०.४ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा अन्य वस्तु तथा सेवा उपसमूह र मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्य सूचकांकमा क्रमशः ५.४ प्रतिशत र ५.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित दुबै उपसमूहको मूल्य सूचकांकमा क्रमशः ८.९ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको थियो।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ७.९ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ भने तराईमा ७.६ प्रतिशत र पहाडमा ७.२ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकांकको वृद्धिदर काठमाडौं उपत्यकामा ७.८ प्रतिशत, तराईमा ८.७ प्रतिशत र पहाडमा ७.० प्रतिशत रहेको थियो।

शुक्रबार एआईआईबीका लागि हस्ताक्षर हुँदै

काठमाडौं, (नेस)
एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन्। चीनका राष्ट्रपति सिजिनपिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरूले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न लागेका हुन्।
एसियाली मुलुकहरूमा विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकमा नेपालले पनि संस्थापक बन्ने निर्णय गरिसकेको छ। नेपालका तर्फबाट उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री डा रामशरण महत बुधबार बेइजिङतर्फ प्रस्थान गर्नुभयो। अर्थसचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका उच्च पदाधिकारीहरूले अर्थमन्त्री डा. महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो। अर्थमन्त्रीका साथमा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी पनि संलग्न हुनुहुन्छ।
सो बैंक स्थापनाका लागि थुप्रैपटक तयारी बैठक सम्पन्न भइसकेका छन् र सन् २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना रहेको छ। चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भइसकेको छ। अर्थमन्त्री डा. महत शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

विज्ञापनकर्मी पौडेल सम्मानित

काठमाडौं, (नेस)
विज्ञापन संघका निवर्तमान अध्यक्ष एवम् वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक निर्मलराज पौडेल सातौं नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डका अवसरमा ‘विज्ञापन गुरु’ उपाधिद्वारा सम्मानित गरिएको छ। नेपाली विज्ञापन क्षेत्रमा विगत २५ वर्षदेखि निरन्तर रूपमा सक्रिय भई नेपाली सञ्चार क्षेत्रको विभिन्न तहमा रहेर नीति निर्माण एवम् समग्र उद्योगको हितमा कार्य गरेवापत उहाँलाई सो उपाधिबाट सम्मान गरिएको हो।
आफूलाई सो उपाधिद्वारा सम्मान गरिएकोमा आफू निकै गौरवान्वित भएको उल्लेख गर्दै पौडेलले यस्ता अवार्डले सम्पूर्ण मिडिया एवम् चलचित्र जगतको अभिवृद्धिका लागि हरदम प्रोत्साहन गर्ने बताउनुभयो। पौडेलले ठूलासाना गरी पाँच सयभन्दा बढी टीभी विज्ञापन एवम् २५ सयभन्दा बढी रेडियो जिंगलको निर्माण गर्नुभएको छ।

ललितपुर उद्योग वाणिज्य संघ र चीनको उहान नगरपालिकाबीच सहकार्य हुने

नेपाल समाचारपत्र
ललितपुर
ललितपुर उद्योग वाणिज्य संघ र चीनको उहान नगरपालिकाको आर्थिक विभागबीच द्विपक्षीय हितका विषयमा सहकार्य गर्ने सहमति भएको छ। पाटन दरबार संग्रहालय परिसरमा एक समारोहका बीच सो बुधबार सहमति भएको हो। समझदारीपत्रमा संघका तर्फबाट अध्यक्ष अजरमान जोशी र चीनको तर्फबाट विभागका निर्देशक लीउ टानपिङले हस्ताक्षर गर्नुभयो।
सहमतिपत्रमा दुई पक्षको हितको लागि समन्वयात्मक तवरले अघि बढ्ने आपसी हितका क्षेत्रहरू पहिल्याउने, नेपाली हस्तकलाका सामग्रीको बजार विस्तार गर्ने विषय उल्लेख गरिएको छ।
सो अवसरमा संघका अध्यक्ष अजरमान जोशीले ललितपुर हस्तकलाको जिल्ला रहेको उल्लेख गर्दै यहाँका काष्ठकला, मूर्तिकला, तामाका भाडाँको बजार विस्तारमा सहमतिले थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष जोशीले सन् २०१५ मा चीनको उहानमा हुने भनिएको व्यापारिक मेला नेपालका उद्यमीले निकै कौतुहलतापूर्वक हेरेको बताउँदै त्यस मेला हस्तकलाका सामग्रीको बजारको लागि राम्रो सम्भावना हुन सक्ने धारणा राख्नुभयो। विभागका निर्देशक लीउ टानपिङ सहमतिले नेपालको विकासमा योगदान गर्ने चीन सरकारको चाहना पूरा गर्ने अवसर मिल्ने बताउनुभयो। निर्देशक लिउटानपिङले दुई देशबीचका सरकारीस्तरका सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि सुधार्ने अवसर पनि समझदारीले तयार गरेको बताउनुभयो।
सो अवसर चीनको उहान नगरपालिकाका उपमेयर साओवईमिनले आर्थिक विकासमा द्रुत गतिले अघि बढिरहेको चीनबाट छिमेकी मुलुक नेपाल उचित लाभ लिनुपर्नेमा जोड दिनुभयो नेपाल चिनियाँहरूको महत्त्वपूर्ण गन्तव्यको रूपमा विकास गरेर त्यसबाट नेपाल पनि समृद्धिको बाटोमा लाग्नुपर्ने उहाँको कथन थियो।
सो अवसरमा ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख ताराबहादुर कार्कीले समझदारीले दुवै नगरपालिकाको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शोधनान्तर बचत घट्यो

नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो महिनामा समग्र शोधनान्तर स्थिति रु. २ अर्ब ७७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. १६ अर्ब ९ करोडले शोधनान्तर बचतमा रहेको थियो। समीक्षा अवधिमा चालू खाता रु. १ अर्ब १ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खाता ७ अर्ब ४६ करोड बचतमा रहेको थियो।
खासगरी वस्तु आयातमा भएको उल्लेख्य वृद्धि तथा विप्रेषणको वृद्धिका कारण चालू खाता बचत अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा न्यून रहन गएको हो। अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत २ करोड ८६ लाख डलर र चालू खाता बचत १ करोड ४ लाख डलर रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १६ करोड ७० लाख डलर र चालू खाता बचत ७ करोड ७५ लाख डलर रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार एफओबी मूल्यमा आधारित वस्तु व्यापारघाटा अघिल्लो वर्षको पहिलो महिनामा १२.७ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १५.८ प्रतिशतले बढी रु. ४९ अर्ब ५३ करोड पुगेको छ। समीक्षा अवधिमा खुद सेवा आय ६४.१ प्रतिशतले बढी रु. १ अर्ब ९६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय ८९.७ प्रतिशतले बढी १ अर्ब १९ करोड बचतमा रहेको थियो।
त्यस्तै खुद ट्रान्सफर आय अघिल्लो वर्षको २७.६ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा २.० प्रतिशतले ह्रास आई रु. ४७ अर्ब ४ करोड पुगेको छ। ट्रान्सफरअन्तर्गत विप्रेषण आप्रवाह अघिल्लो वर्षको २३.८ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ०.८ प्रतिशतको सीमान्त दरले वृद्धि भई रु. ४२ अर्ब १९ करोड पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको १४.१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ०.१ प्रतिशतको सीमान्त दरले वृद्धि भई ४३ करोड ४९ लाख डलर पुगेको छ।
मुलुकको व्यापारघाटा पछिल्लो समयमा बढ्दै गएपछि शोधनान्तर बचतमा असर परेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७१⁄७२ को पहिलो महिना अर्थात साउनमा मात्र कूल वस्तु व्यापारघाटा १६.६ प्रतिशतले वृद्धि भई रु. ५१ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कूल वस्तु व्यापारघाटा ११.३ प्रतिशतले बढेको थियो।
उक्त तथ्यांकअनुसार समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामध्ये भारत र चीनसँगको व्यापारघाटा क्रमशः २२.२ र २७.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा १७.१ प्रतिशतले बढेको भए पनि चीनसँगको यस्तो घाटा २६.२ प्रतिशतले घटेको थियो। त्यस्तै अघिल्लो वर्षको पहिलो महिनामा २२.५ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापारघाटा समीक्षा अवधिमा ३.२ प्रतिशतले घटेको छ।
आयातको वृद्धिदर उच्च रहेको कारण समीक्षा वर्षको पहिलो महिनामा निर्यातआयात अनुपात ११.५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.६ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७१⁄७२ को पहिलो महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले ह्रास आई ६ अर्ब ७२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कूल वस्तु निर्यात ५.४ प्रतिशतले बढी ७ अर्ब ५९ करोड रहेको थियो। कूल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको पहिलो महिनाको १५.१ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा १५.४ प्रतिशतले ह्रास आएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार जिंक सि ट, अलैंची, लत्ताकपडा र कपर वायर रडलगायतका वस्तुको निर्यात घटेको कारण भारततर्फको निर्यातको वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक रहन गएको हो।
समीक्षा अवधिमा कूल वस्तु आयात १२.५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.४ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड रहेको थियो। भारत र चीनबाट भएको आयात उच्चदरले बढेको कारण कूल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बढ्न गएको हो।
कूल आयातमध्ये भारतबाट भएको आयात समीक्षा अवधिमा १६.८ प्रतिशत बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि भारतबाट भएको आयात सोही दरमा बढेको थियो। त्यसैगरी चीनबाट भएको आयात अघिल्लो वर्षको पहिलो महिनाको २५.६ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा २३.९ प्रतिशतले बढेको छ। अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको पहिलो महिनाको १५.१ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा २.७ प्रतिशतले ह्रास भएको छ।

अरूण तेस्रोको पीडीए अन्तिम चरणमा

इन्द्र गिरी
संखुवासभा
बहुचर्चित अरूण तेस्रो जलविद्युत् आयोजना सम्झौताले ऊर्जा विकासमा नेपालले ठूलो फड्को मार्ने लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तले बताउनु भएको छ।
अरूण तेस्रो नेपालको हितमा रहेको चर्चा गर्दै सम्झौता अन्तिम चरणमा पुगेको बताउनु पन्तले जानकारी दिनुभयो।
संखुवासभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक पन्तले भन्नुभयो–‘अरूण तेस्रो सम्झौतापछि ऊर्जाको ढोका खुल्ने र नेपालमा ऊर्जाको विकास अगाडि बढ्ने ठोकुवा गर्नुभयो। उहाँले नेपाल र भारतीय कम्पनी सतलज विद्युत् निगमबीच आयोजना विकास सम्झौता (पीडिए) मा स्थानीयबासीले शेयर किन्न पाउने व्यवस्था उल्लेख गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो–‘बहुचर्चित अरूण्ँ तेस्रो जलविद्युत् आयोजना पीडिए भएको २ वर्षभित्रमा निर्माणको काम शुरू भइसक्ने र २ वर्षको अवधिमा सतलजले सडक, शिक्षा र भौतिक पूर्वाधारलगायत स्थानीयबासीको क्षमता विकासका काम गर्ने छ।’
लगानी बोर्डले सन् २०१३ को जुनदेखि सतलजसँग पीडीए वार्ता शुरू गरेको बताउदै उहाँले अरूण तेस्रो आयोजना २०२० सम्ममा विद्युत् उत्पादन शुरू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले अरूण तेस्रोबाट ९ सय मेगावाट विद्युत् उत्पादनमध्ये २१ दशमलव ९ प्रतिशत विद्युत् नेपाललाई निःशुल्क दिने सम्झौता भएको छ। परियोजना निर्माण्ँको बारेमा छ वर्ष अघिनै प्रारम्भिक सम्झौता भएको कार्यकारी निर्देशक पन्तको भनाइ थियो।
पत्रकार सम्मेलनमा उहाँले आयोजना निर्माण्ँमा सय अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको बताउदै अब कसैको विरोधले अरूण तेस्रो नरोकिने दाबी गर्नुभयो। उहाँले अरूण तेस्रो २५ वर्षका लागि सम्झौता हुने र यसबाट नेपाललाई ३ सय ६२ अर्ब रुपियाँ कूल लाभ हुने बताउनु भयो। जसमध्ये एक सय १६ अर्ब रोयल्टी, ८० अर्ब आयकर र १ सय ६६ अर्ब निःशुल्क विद्युत्बाट लाभ हुने उहाँको दाबी थियो।
कार्यक्रममा बोर्डका उपसचिव खगेन्द्र रिजालले स्थानीयबासीको राय, सुझाव, सल्लाह र माग संकलन भएको छ, अब राजधानी फर्किर सरकार समक्ष पेस गरिने बताउनु भयो। उहाँले जिल्लाको नुमस्थित ड्याम साइट, दिदिङको डाँडागाउँस्थित पावरहाउस साइट र सदरमुकाम खाँदबारीमा भएको राय र सुझाव कार्यक्रममा स्थानीयबासिन्दाले अरूण तेस्रो छिटो निर्माण गर्न माग गरेको समेत बताउनुभयो।
पत्रकार सम्मलेलनमा सभासद् तारामान गुरुङले अरूण तेस्रो निर्माणले संखुवासभाबासी मात्र होइन नेपालकै ठूलो आयस्रोत बन्ने धारणा राख्दै यो आयोजना निर्माण हुने कुरा पक्कापक्की भएको बताउनुभयो। उहाँले स्थानीयबासीलाई रोजगारी र कम्तिमा १० प्रतिशत शेयर पाउनुपर्ने समेत माग गर्नुभयो।